बेहुलाको घरबाट मलामी जानु पर्दा सबैका आँखा रसाए

 मंसिर २७, २०७५ बिहिबार १६:५१:४ | गोविन्द शर्मा

बाँके – बेहुलाका आमाबुवा र भतिजासहित ६ जनाको ज्यान गएपछि बाँकेको राप्ती–सोनारी गाउँपालिका –८, शम्शेरगञ्ज गाउँ शोकमा डुबेको छ । 

चितवनको गीतानगरबाट बुहारी लिएर फर्किंदै गरेको जीप दाङको रिहार नजिकै दुर्घटना हुँदा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर –८, शम्शेरगञ्जका दुलाहाका बुवा ५३ वर्षीय मानबहादुर केसी, दुलाहाकी आमा ४५ वर्षीया बिमला खत्री र दुलाहाका भतिजा ३ वर्षीय प्रविण केसीसहित ६ जनाको निधन भएको छ ।   दुर्घटनामा ४९ वर्षीय विश्वनाथ अधिकारी, ३१ वर्षीय दिपककुमार खड्का र कोहलपुर नगरपालिका –१२, का ७८ वर्षीय दत्तबहादुर खत्रीको निधन भएको छ ।  

बिहेको रमाइलोमा रहेको शम्शेरगञ्ज गाउँ दुर्घटनाको खबरलगत्तै शोकमा डुबेको छ । शम्शेरगञ्ज बजार बन्द गरी स्थानीयहरु केसी परिवारको  घरमा पुगेका छन् ।
 
मृतक मानबहादुर  शम्शेरगञ्जमा रहेको माध्यमिक विद्यालयको शिक्षकसमेत हुनुहुन्थ्यो । शोकमा बिहीबार विद्यालय पनि बन्द भएको छ । विद्यालयका प्रधानाध्यापक ऋषि शर्माले गाउँलेहरुले सोच्दै नसोचेको घटना भएको भन्दै गाउँ नै शोकमग्न भएको बताउनुभयो ।

चितवनबाट बेहुली लिएर  फर्कँदै गर्दा जन्तीलाई भोक लागेको भन्दै बेहुलाका बुवा–आमाले दाङको भालुबाङ मौरीघाटमा खसी काटेर खाने व्यवस्था मिलाएर आफूहरु घरमा व्यवस्थापन गर्ने भन्दै अगाडि निस्किएका थिए ।

मौरिघाटबाट सबैभन्दा छिटो घर पुग्ने भन्दै निस्किएका बेहुलाका बुवाआमा चढेको जीप दुर्घटनामा पर्‍यो ।  बेहुला–बेहुली र जन्तीले घर पुगेपछि मात्रै दुर्घटनाबारे जानकारी पाएका थिए । गाडीका चालकले गाडीको माला निकाल्न लागेपछि मात्रै दुर्घटनाको बारेमा दुलाहा यमबहादुर खत्री र बेहलुी लक्ष्मीलगायत अन्यले जानकारी पाएका हुन् ।

दुर्घटनामा घाइते भएकी ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षका यमबहादुर मगरको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भैरहेको छ । 

जिल्ला अस्पताल दाङमा मृतकहरुको शव पोष्टमार्टम गरी बिहीबार राति नै अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । 

दाङमा जीप दुर्घटना : बुहारी लिएर आउँदै गरेका बुबाआमासहित ६ जनाको ज्यान गयो

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया