संविधान संशोधन गर्न पूर्वराष्ट्रपति यादवको आग्रह

 पुस ५, २०७५ बिहिबार १७:४४:२२ | किरण लोहनी
unn.prixa.net

गोरखा – पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले संविधान संशोधन गरेर मधेशी जनताको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

नयाँ संविधानका केही विषयमा मधेशी दलहरुको असन्तुष्टि रहेको भन्दै उहाँले संविधान संशोधन गरेर अघि बढ्न सरकार र संघीय संसदलाई आग्रह गर्नुभएको हो । 

गोरखा सदरमुकाममा बिहीबारदेखि सुरु भएको दशौँ गोरखा महोत्सवको उद्घाटन गर्दै यादवले हिमाल पहाड र तराईका नागरिक एक ठाउँमा उभिने अवस्था बन्नु पर्नेमा जोड दिनुभयो । संविधान जारी गर्ने बेलादेखि नै आफूले राष्ट्रिय एकतामा जोड दिँदै आएको भन्दै उहाँले संविधान कार्यान्वयनको ४ वर्षमा पनि मधेश सन्तुष्ट हुन नसकेको बताउनुभयो । पहाड र मधेशलाई जोडेर देशलाई अघि बढाउनका लागि सरकार र संघीय संसदको धेरै जिम्मेवारी रहेको उहाँको भनाई छ । 

मधेशी दलहरुले पनि सबै तहको चुनावमा भाग लिएर संविधान कार्यान्वयनलाई सघाऊ पु¥याएको भन्दै उहाँले अब सरकारले संविधान संशोधनको माग पूरा गर्नुपर्ने बताउनुभयो । पूर्व राष्ट्रपति यादवले धर्म परिवर्तन र कुनै खास धर्मको प्रचारप्रसार भैरहेको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सबै धर्मलाई बराबरी रुपमा हेर्नुपर्ने र धर्म परिवर्तन गर्न नदिनका लागि कानून बनाउनुपर्नेमा उहाँको जोड छ ।  सबै धर्मलाई समभावले नहेरे द्वन्द्व बीउ रोपिन सक्ने भएकाले सरकार गम्भीर बन्नुपर्ने यादवले बताउनुभयो । 

कार्यक्रममा बोल्दै उहाँले पृथ्वीनारायण शाहको आदर गर्नुपर्नेमा जोड दिँदै उनकै वंशजले जनताको भावना नबुझ्दा राजतन्त्र उखेलेर फाल्नु परेको बताउनुभयो । ठूलो जिल्ला भएर पनि गोरखाको जनसंख्या बर्सेनि घटेर गैरहेको भन्दै पूर्वराष्ट्रपति यादवले यहाँका बासिन्दालाई यही ठाउँमा बस्ने अवस्था ल्याउनका लागि रोजगारी सिर्जनाका कामहरु गर्नुपर्ने बताउनुभयो ।

उद्योगी व्यवसायीको सुरक्षा र संरक्षणमा जोड दिन सरकारलाई आग्रह गर्दै उहाँले  बूढीगण्डकी आयोजनाको निर्माण समयमै  सक्नका लागि पनि आग्रह गर्नुभयो । दशौँ गोरखा महोत्सवले जिल्लालाई आर्थिक रुपमा समृद्ध बनाउने बाटो देखाउनु पर्नेमा पूर्व राष्ट्रपति यादवको जोड छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया