मन्त्री घिमिरेको घोषणा : सरकारी काम बाहेक एक महिनासम्म कुनै पनि कार्यक्रममा जान्न

 पुस १०, २०७५ मंगलबार १८:४३:० | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले पछिल्लो पाँच महिनामा २७ दशमलव ३५ प्रतिशत बजेट खर्च गरेको छ  ।

मंगलबार विराटनगरमा सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी  पछिल्लो पाँच महिनामा भएको प्रगतिको विषयमा जानकारी दिँदै ३ अर्ब ६८ करोड बजेट रहेको सामाजिक विकास मन्त्रालयमा ५ महिनाको अवधिमा ९८ करोड २२ लाख एक हजार रकम निकासा गरिसकेको जनाएको हो ।

त्यसमा सामाजिक विकास मन्त्रालयले २ करोड ६५ लाख ४४ हजार मन्त्रालयको तलब भत्ता तथा कार्यालय सञ्चालनमा खर्च गरिसकेको छ । सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत अनुज प्याकुरेलले मन्त्रालयबाट निकासा भएको रकममा अधिकांश कार्यालयले बजेट खर्चलाई तीव्रता दिएको बताउनुभयो । उहाँले चार महिनाको अवधिमा कानुनी जटिलताका कारण बजेट खर्च गर्नको लागि समस्या देखिएको भए पनि पछिल्लो समय खर्च अनुपात बढेको जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्रालयबाट पछिल्लो समय निकासा भएको बजेट आनुसार प्रदेश संग्राहलयको लागि ४२ लाख, स्वास्थ्य निर्देशनालयमा एक करोड ६७ लाख ३५ हजार, कोशी अञ्चल अस्पतालको लागि १२ करोड १२ लाख ८८ हजार, मेची अञ्चल अस्पतालको लागि ४ करोड २८ लाख ८८ हजार रुपैयाँ निकासा भइसकेको छ ।

त्यस्तै शिक्षा तालिम केन्द्रको लागि ४ करोड ८५ लाख, शिक्षा विकास निर्देशनालयमा ३१ करोड ७५ लाख ४२ हजार, कार्यक्रम खर्चबाट अस्पतालहरुलाई ४० करोड १८ लाख २५ हजार, रोजगार सूचना केन्द्रमा १९ लाख ८३ हजार र सीप विकास तालिम केन्द्रमा २ करोड ७१ लाख ९८ हजार   रुपैयाँ  पठाइसकिएको मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

मन्त्री सरकारी बाहेकका कार्यक्रममा नजाने

सामाजिक विकास मन्त्रालयमा बजेट कार्यान्वयनमा समस्या भएपछि सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफू एक महिना कुनै पनि कार्यक्रममा नजाने घोषणा गरेका छन् । 

बजेट कार्यान्वयनमा समस्या भएको भन्दै उहाँले एक महिनाको अवधि पुस १० देखि माघ १० गतेसम्म मन्त्रालय बाहिरका सरकारी बाहेक कुनै पनि कार्यक्रममा नजाने घोषणा गरेका हुन्  ।

‘सरकारी कार्यक्रमहरुमा मन्त्रीको हैसियतले जानै पर्ने हुन्छ’, मन्त्री घिमिरेले भन्नुभयो, ‘तर अहिले मन्त्रालयको बजेट कार्यान्वयनको लागि पनि मन्त्रालय छाड्नै नहुने अवस्था रहेकाले बाहिरका कुनै पनि कार्यक्रममा मैले एक महिना नजाने घोषणा गरेको छु ।’

सामाजिक विकास मन्त्रालयले बजेट कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना भइरहँदा  मन्त्रीको यस्तो घोषणा आएको हो । नीतिगत रुपमा बजेट कार्यान्वयनको लागि कुनै समस्या नभएकोले अबको केही महिनाभित्रै बजेट कार्यान्वयनले गति दिने मन्त्री घिमिरेको दाबी छ ।

पत्रकार सम्मेलनकै क्रममा सामाजिक विकास मन्त्री घिमिरेले अबको ५ वर्षभित्रमा प्रदेशका सामुदायिक विद्यालयमा ई–एजुकेशनको सोचमा मन्त्रालय रहेकोले पाँच वर्षमा शिक्षा क्षेत्रले ठूलो फड्को मार्ने स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया