मलेसिया पुगेकै दिन त्यहाँका कुरा सुनेर रोएँ

 पुस ११, २०७५ बुधबार १७:५६:४ | मेरो कथा मेरो भोगाई

नविन कुमार सुनुवार, प्रिति/रामेछाप ।

म २०६० सालमा मलेसिया गएको थिएँ । मलेसिया जानुभन्दा अगाडि म काठमाडौंमा बस्थें । त्यतिबेला जोसँग भेट्दा पनि विदेश नै जाने कुरा गर्थे । त्यही वातावरणले विदेश जाँदा राम्रो हुने रहेछ भन्ने लाग्यो ।

आफैं म्यानपावरमा गएर बुझ्दा मेडिकलका सामान बनाउने कम्पनीबाट माग आएको जानकारी पाएँ । काम राम्रो छ भनेपछि ठिकै होला भनेर मलेसिया पुगें । तर पुगेकै दिन राएको थिएँ । त्यो कुरा अहिले पनि याद आउँछ । मैले त विदेश गएपछि राम्रो हुन्छ भन्ने सोचेको थिएँ ।

तर पुगेकै दिन मभन्दा अगाडि गएका साथीहरुले मलेसियाको यथार्थ सुनाउन थाले । मैले काम गर्ने कम्पनीले दिएको सुविधा यहाँ भनेको जस्तो रहेनछ । त्यो कुरा मैले भोग्न त बाँकी नै थियो । तर साथीहरुले सुनाएपछि नभोग्दै पनि मन थामिएन ।

तर त्योसँगै विदेश पुगेपछि जाँदा लागेको पैसा नकमाइ फर्किन नसक्ने अर्को यथार्थ पनि मसँगै थियो । त्यही बाध्यता र यथार्थले म दुई वर्ष बसेर फर्किएँ । काम गर्ने क्रममा कम्पनीले सुरक्षामा ध्यान दिँदो रहेनछ । उसलाई त उत्पादनको मात्रै मतलब हुने रहेछ ।

यदी लक्ष्य राखेको जति उत्पादन भएन भने हप्ता दिनसम्म काम नदिई राखिदिँदो रहेछ । त्यसैले मरिहत्ते गरेर भएपनि लक्ष्य अनुसारको सामान उत्पादन गर्न लाग्नुपर्ने रहेछ । 

त्यही क्रममा केही साथीका औंला मेसिनले छिनायो । एक जना साथीको हात नै मेसिनमा पस्दा उहाँको त्यो हात काम नलाग्ने भयो । यस्ता घटना आँखै अगाडि देखेपनि छोडेर फर्किन नपाइने । त्यतिबेला म त दुई वर्ष पुगेपछि जसरी भएपनि फर्किन्छु भन्ने सोच्थें । त्यो अडानबाट पछि हटिन । 

कम्पनीले त बिदा दिएको थिएन । तर म जबरजस्ती नै फर्किएँ । अहिले गाउँमै खेतीपाती गरिरहेको छु । 
 

अन्तिम अपडेट: फागुन २२, २०७५

1 Comments

  • बाबू दिनेश

    Jan. 3, 2019, 11:36 a.m.

    काँडालाइ पनि फुल हो भनी ठानेर, टेक्नु पर्‍या छ यो बिदेसमा ! पीडा त पहाड झै छदै छ तै पनि, रेट्नु पर्‍या छ घाउ यो बिदेसमा !!

  •  0 Reply

तपाईको प्रतिक्रिया