पुनः श्रम स्वीकृति लिन काठमाडौं आउन नपर्ने, जनकपुर र बुटवलबाट सेवा सुरु हुँदै

 पुस १५, २०७५ आइतबार ८:३५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वैदेशिक रोजगारीमा जानेहरुले पुन: श्रम स्वीकृतिका अब काठमाडौं आउनु नपर्ने भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आइतबारदेखि प्रदेशबाटै पुनः श्रम स्वीकृति जारी गर्न थालेपछि काठमाडौं आउनु नपर्ने भएको हो । 

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी प्रदेशबाट नै पुनः श्रम स्वीकृति दिन सुरु गरिएको हो । आइतबारदेखि पहिलो चरणमा प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

यस्तै, विराटनगर, धनगढी र सुर्खेतबाट सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिनुभयो । यसका लागि अनलाइन प्रणाली तयार रहेको भन्दै सचिव दाहालले यो सफ्टवेयर जडान गरेपछि काम सुरु हुने बताउनुभयो । प्रदेशबाट सुरु गरिएको कामलाई सहज बनाउन कम्प्युटर अपरेटर, अधिकृत, सुब्बा र कार्यालय सहयोगीको व्यवस्था गरिएको छ ।

ती कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गरिनेछ । 

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने मन्त्रालयका सचिव दाहालले जानकारी दिनुभयो । 

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौंको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्ने छैन । 

वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो । 

यसअघि दैनिक एक हजार जना युवा श्रम स्वीकृतिका लागि श्रम कार्यालय पुग्ने गरेका थिए । सेवाग्राहीको भीड अत्यधिक भएको अवस्थामा प्रहरीले हस्तक्षेप गर्नुपर्ने अवस्थासमेत देखिएको थियो ।


 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया