चार शहरमा ‘चौका दाउ’ अन्तरक्रिया

 पुस २२, २०७५ आइतबार ११:१७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मोफसलका चार शहरमा चलचित्र ‘चौका दाउ’का बारेमा अन्तरक्रिया गरिएको छ ।

पुस २७ बाट देशव्यापी सिनेमा हलमा रिलिज हुने यो चलचित्रको मोफसल यात्रा अन्तर्गत मंगलबार हेटौंडामा बुधबार चितवन र बुटबलमा बिहीबार पोखरामा अन्तरक्रिया गरिएको हो । यसरी चार शहरमा सञ्चारकर्मीसँग फिल्मी बहस सकेर चलचित्र युनिट बिहीबार राती काठमाडौं फर्किएको छ । 

अन्तरक्रिया कार्यक्रममा हास्यव्यङ्ग्य कलाकार सन्तोष पन्तले विगतका सिनेमामा १०÷१५ सिनेमा सीमित हुनु परे पनि ‘चौका दाउ’मा सुरुदेखि अन्त्यसम्म आफ्नो रोल रहेको बताए । फिल्ममा वर्षाको प्रेमी भएर काम गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘मेरो छोरीको उमेरकी वर्षा राउतको प्रेमी हुनुले पनि यो फिल्मको कथा कस्तो छ भन्ने दर्शकले बुझ्नु हुन्छ । फिल्मले दर्शकलाई दुई घन्टासम्म मज्जाले हँसाउँछ, किनकी यो पूर्ण मनोरञ्जन प्रधान सिनेमा हो ।’ आफू लामो समयको अन्तरालपछि फिल्ममा फर्किएको जानकारी गराउँदै उनले ‘किस्मत–२’ पछि फेरि दुई वर्ष बिश्राम गरेर चौका दाउमा काम गरेको बताए ।

सञ्चारकर्मीसँग भेटघाटको क्रममा अभिनेत्री वर्षा राउतले ‘चौका दाउ’ आफूले अभिनय गरेका विगतका सिनेमाभन्दा फरक रहेको बताइन्, ‘मैले मुख्य नायिकाको भूमिका निर्वाह गरेको यो दोस्रो महत्वपूर्ण चलचित्र हो र यसमा कथा नै मेरै वरिपरि घुमेको ट्रेलरबाट यहाँहरुले अनुमान गरिसक्नु भएको छ ।’ तर ट्रेलरमा नआएका धेरैकुरा फिल्ममा रहेको र ती दृष्यले दर्शकलाई सक्दो रमाइलो दिने पनि उनले जानकारी गराइन् । सिनेमामा आफू केटाहरुलाई फसाउने उर्वसीको भूमिकामा रहेको र अन्त्यमा आफू पूर्ण सकारात्मक देखिएको पनि उनले खुलाइन् । 

निर्देशक पुर्णेन्दु झाले ‘चौका दाउ’मा चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह र पाँचौ चौकाको रुपमा अजश्र ढुंगाना रहेको बताए । यो पूर्णतया सामाजिक कथामा आधारित सिनेमा भएको पनि उनले जानकारी गराए । चलचित्रको कथाले दर्शकलाई प्रभाव पार्ने र सिनेमाले पूरा हँसाउने पनि उनले जिकिर गरे । 

सौर्यजित बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रको परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजित बास्कोटा हुन् । चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ ।

फिल्ममा वसन्त श्रेष्ठको नृत्य, दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण ब्यबस्थापन रहेको छ । फिल्मका ‘राधा पियारी...’ र ‘मेरो माया कतारमा...’ गीत यसअघि नै चर्चित छन् । 

फिल्म अष्ट्रेलियामा समेत प्रदर्शन गरिने बताइएको छ । गीतमा बसन्त श्रेष्ठ र भिमफेदी गाइजको नृृत्य निर्देशन छ ।  

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया