सरकारी चिकित्सकहरुले घेरे स्वास्थ्य मन्त्रालय

 पुस २२, २०७५ आइतबार १४:९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – ‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याउन दवाव दिँदै आन्दोलन सुरु गरेका सरकारी चिकित्सकहरुले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन ।

आफूहरुको सेवा, सुविधा र बढुवासम्बन्धी प्रावधान कटौती हुनेगरी कर्मचारी समायोजन  अध्यादेश आएको भन्दै आन्दोलरत सरकारी चिकित्सक संघ, नेपाल (गोदान)मा आवद्ध देशभरका चिकित्सकहरुले तत्काल सच्याउन माग गर्दै आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय २ घण्टा घेराउ गरेका हुन ।

अध्यादेशले आफूहरुको सेवा, सुविधासमेत कटौती गरेपछि त्यसलाई सच्याउन माग गर्दै मन्त्रालयमा घेराउलगायतका विरोधका कार्यक्रम गर्नु परेको गोदानका केन्द्रीय सदस्य डा. राजेशकुमार मण्डलले जानकारी दिनुभयो ।

सरकारी चिकित्सकहरुले समायोजन प्रक्रिया स्वेच्छिक बनाउन पनि सरकारसँग माग गरेका छन । आफूहरुको माग सम्बोधन नभए अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन गर्न बाध्य हुने पनि चिकित्सक मण्डलले बताउनुभयो ।

सरकारले राज्यको कुनै पनि नीतिगत निर्णय प्रक्रियामा चिकित्सकहरुलाई सहभागी नगराउने गरी कर्मचारी समायोजन अध्यादेश आएको भन्दै मान्य नहुने सरकारी चिकित्सकहरुको अडान छ ।

उनीहरुले अध्यादेश आफूहरुको माग बमोजिम नसच्चिए समायोजन प्रक्रियामा सामेल नहुने घोषणा पनि गरिसकेका छन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया