वाइडबडी विमान प्रकरणमा सरकार अत्तालियो : गगन थापा

 पुस २२, २०७५ आइतबार १७:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले वाइडबडी विमान खरिद प्रकरणमा सरकार अत्तालिएको टिप्पणी गर्नु भएको छ  ।

कांग्रेस नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद प्रकरणबाट अत्तालिएको दाबी गर्दै शाही आयोगको जसरी वाइडबडी सम्बन्धमा जाँचबुझ समिति गठन गरेको उल्लेख गर्दै आपत्ति पनि जनाउनुभयो ।

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिलाई गालीगलौजको भाषा प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसदको मर्यादालाई कायम राख्न नसकेको आरोप पनि लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले उपसमितिले समितिमा छलफल नै नगरी त्यस सम्बन्धी प्रतिवेदन बाहिर सार्वजनिक गरेको भन्दै असन्तुष्टि जनाउनु भएको थियो । प्रधानमन्त्रीको असन्तुष्टिले संसदीय समितिको मर्यादालाई उलङ्घन गरेको कांग्रेस नेता थापाको आरोप छ ।

कांग्रेस नेता थापाले वाइडबडी विमान खरिद प्रकरणका सम्बन्धमा सबै कुरा बुझेर आवश्यक निर्णय लिन संघीय संसदको सार्वजनिक लेखा समितिलाई पनि आग्रह गर्नुभयो ।

सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले वाइडबडी विमान खरिद प्रकरणमा झण्डै ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको र त्यसमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी पनि दोषी देखिएको निष्कर्षसहितको प्रतिवेदन तयार पारी समितिलाई बुझाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया