राजपाले भन्यो : प्रतिपक्षलाई प्रश्न गर्न नदिएर सभामुखले गल्ती गरे

 पुस २२, २०७५ आइतबार १७:३०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

आज भएकाे संसद बैठककाे तस्बिर

काठमाडौं – सरकार समर्थित राष्ट्रिय जनता पार्टी, नेपालले प्रधानमन्त्रीको सम्बोधनमाथि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रश्न गर्न नदिएर सभामुख कृष्णबहादुर महराले गल्ती गरेको टिप्पणी गरेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिलकुमार झाले संसदीय व्यवस्थामा प्रधानमन्त्रीको संसदको सम्बोधनमाथि प्रतिपक्ष दलले टिप्पणी गर्ने व्यवस्था रहे पनि त्यसो गर्न नदिएर सभामुख महराले गल्ती गरेको प्रतिक्रिया दिनु भएको हो ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीमाझ उहाँले संसद बस्नुको अर्थ सरकारबारे अरु दलले टिप्पणी गर्न पाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्री बोलेपछि संसदमा प्रश्न गर्न पाउने व्यवस्था संघीय संसदको नियमावलीमा रहेको दाबी पनि गर्नुभयो ।

नेता झाले संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा बोल्दै नबोलेकोमा असन्तुष्टि जनाउँदै तत्सम्बन्धमा पार्टीमा गम्भीर छलफल गर्ने पनि बताउनुभयो ।

राष्ट्रिय जनता पार्टी, नेपालले आफ्नो पार्टीको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया