प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था मिलाउन सभामुखलाई कांग्रेसकाे आग्रह

 पुस २४, २०७५ मंगलबार १६:४६:५१ | उज्यालो सहकर्मी

काठमाडाैं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बुधबार (भोलि) बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गर्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेको छ । 

कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको वक्तव्यप्रति सांसदहरुले प्रश्न गर्न पाउने अधिकारबाट सभामुख महराले वञ्चित गराएको निष्कर्ष निकाल्दै बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था गरिदिन सभामुख महरालाई आग्रह गरेको हो ।

संसद नियमावली र संसदीय विधि अनुरुप पनि संसद सदस्यहरुलाई प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गरिदिन सभामुख महरालाई आग्रह गरिएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

संसद सदस्यहरुको अधिकारलाई सुनिश्चित गर्न पनि सभामुख महराले प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था गर्नुपर्ने कांग्रेसको भनाइ छ । कांग्रेस संसदीय दलले सभामुख महरालाई सदनको गरिमा बचाउन र साझा व्यक्तिको रुपमा भूमिका निर्वाह गर्न पनि ध्यानाकर्षण गराएको छ ।

बैठकले सरकारले ल्याउने विधेयकमा कडा निगरानी राख्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ । सम्बन्धित पक्षसँग छलफल समेत नगरी सरकारले विधेयक ल्याउने गरेको निष्कर्ष निकाल्दै त्यस सम्बन्धमा गहन अध्ययन गरेर प्रस्तुत हुन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिइएको प्रमुख सचेतक खाँडले बताउनु भयो ।

सरकारले संविधानसँग बाझिएका कानुन निर्माणको कामलाई अघि बढाइरहेका बेला प्रमुख प्रतिपक्ष दल कांग्रेसले त्यस सम्बन्धमा गहन अध्ययन गरी अघि बढ्न पार्टीका सांसदहरुलाई सचेत गराएको हो ।

कांग्रेस संसदीय दलको बैठकमा पार्टीको तर्फबाट सरकारको काम कारबाहीलाई निगरानी राख्न विज्ञहरुसहितको विभिन्न समिति बनाउने निर्णय पनि गरेको छ । 

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया