मैलुङ–स्याफ्रु सडकको पहिरो हटाउन सुरु

 पुस २६, २०७५ बिहिबार १८:५४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रु सडकमा झरेको पहिरो पन्छाउने कार्य सुरु भएको छ । 

तीन साताभित्रमा सवारी साधन सञ्चालन गर्न सकिने गरी बुधबारदेखि पहिरो पन्छाउन सुरु गरिएको हो । मैलुङ–स्याफ्रुबेँसी सडक खण्डको एक दर्जन स्थानमा पहिरो गएको छ । गएको जेठ ६ गते सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । 

त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन् । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।

वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्न परेको कारण निर्माण कार्यपछि धकेलिएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख सुवोधकुमार देवकोटाले बताउनुभयो । 

सडकको पहिरो हटाउने कार्य सुरु भएसँगै सडक चाँडै सञ्चालनमा आउने आसा बढेको पूर्वप्रतिनिधि सभाका सदस्य जनार्दन ढकालले बताउनुभयो । ‘सडकको ट्रयाक खोलेर लामो समयसम्म पूरा गर्न नसक्नु दुःखको कुरा हो’, उहाँले भन्नुभयो, ‘यो सडक सञ्चालनमा आएपछि व्यापारिक क्रियाकलाप बढ्छ ।’ 

‘हामीले बुधबारदेखि पहिरो हटाउने कार्य सुरु गरेका छौँ’, उहाँले भन्नुभयो, ‘माघको दोस्रो हप्तासम्ममा सडकमा सवारी सञ्चालन गर्न सकिन्छ । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ ’। 

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया