विश्वव्यापीकरणका फाइदा र बेफाइदा दुइटै छन्: परराष्ट्रमन्त्री ज्ञवाली

 पुस २६, २०७५ बिहिबार १९:२३:१ | उज्यालो सहकर्मी

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले भारतकाे नयाँ दिल्लीमा आयोजित चौथो राइसिना सम्वाद कार्यक्रमलाई बिहीबार सम्बाेधन गर्नुभएकाे छ । 

कार्यक्रममा बोल्दै उहाँले आविष्कारमूलक उपायहरुलाई मलजल गर्नको लागि राइसिना सम्वादले साझा मञ्चको काम गर्ने बताउनुभयो ।

कार्यक्रमको सुरुमा बोल्दै उहाँले आइडियाहरुको हस्तान्तरण र प्रचारप्रसार हाम्रो क्षेत्रमा अद्वितीय परम्परा बनिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो क्षेत्र मानव सभ्यता, अनुसन्धान र आविष्कारको एउटा घर हो र यसले ‘वादे वादे जायते तत्वबोध’ लाई प्रतिविम्बित गरेको छ ।’

उहाँले विश्वमा विज्ञान र वैज्ञानिक आविष्कारको सोच पलाउनुभन्दा पहिलेदेखि नै यस क्षेत्रमा वेद र वेदान्तको सृजना भइसकेको र विश्वले आधुनिक राज्यको परिकल्पना गरिरहँदा यहाँ अर्थशास्त्रको रचना भइसकेको भन्दै यहाँको पौराणिक र धार्मिक महत्वलाई कार्यक्रममाझ प्रकाश पार्नुभयो । बाैद्ध धर्मको बारेमा बोल्दै ज्ञवालीले शान्ति, खुशी र भलाई यो धर्मको मूल भएको र यसको वैज्ञानिक महत्व भएको तर्क दिनुभयो ।

उहाँले नेपाल र भारतबीचको वर्तमान सम्बन्धलाई केलाउँदै यसको प्रभावले विश्वव्यापीकरणमा सहयोग पुर्याएको पनि बताउनुभयो । व्यापारिक विश्वव्यापीकरणले अहिलेको समाजलाई पारेको प्रभावका बारेमा पनि उहाँले आफ्नो अभिव्यक्ति राख्नुभयो ।

विश्वव्यापीकरणलाई हामीले मन पराए पनि वा नपराए पनि यसका फाइदा र बेफाइदा दुईटै भएको उहाँले बताउनुभयो । ‘विश्वव्यापीकरणले देशको गरिबीलाई माथि उकास्न सकिने कुरा भने साँचो हो,’ उहाँले भन्नुभयो, ‘उद्योग सञ्चालन र रोजगारीमा वृद्धिले देशले विकासको कोल्टो फेर्छ र यसलाई विश्वव्यापीकरणले माथि उठाएको हुन्छ ।’

उहाँले कार्यक्रमा प्रविधिको कारणले दुई देशको सम्बन्ध सुमधुर बनेको भन्न छुटाउनुभएन । उहाँले भन्नुभयो, ‘प्रविधिले गर्दा एकअर्कालाई नजिकबाट चिन्न सकेका छौं ।’

जे भए पनि भू–राजनीतिक विषयवस्तु अहिलेको यथार्थता भएको र आर्थिक पक्ष केन्द्रमा रहेको पनि बताउनुभयो ।

ठूलो भू–राजनीतिक प्रतिस्पर्धीसँग संलग्न हुनको लागि स–साना देशहरुसँग पर्याप्त मात्रामा स्रोतसाधन र योग्यता हुँदैन भन्दै नेपालजस्ता देशले अन्तर्राट्रिय निर्देशनमा चल्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो ।

उहाँले आफ्नो आवाज सुन्ने र समस्याहरुलाई बुझिदिने वहुपक्षीय दाताहरुलाई विश्वास गर्ने बताउँदै भन्नुभयो, ‘हामी सधैंभरि संयुक्त राष्ट्रसंघजस्ता सहयोगी संस्थाका पक्षधर हौं ।’

मन्त्री ज्ञवालीले भारत नेपालको नजिकको छिमेकी भएको र परापूर्वकालदेखि नै विभिन्न आर्थिक तथा सामाजिक सहकार्य हुँदै आएको भन्दै यसलाई अझै बढाउनुपर्ने अभिव्यक्ति राख्नुभयो ।

दुई देशबीचको विकासको लागि क्रसबोर्डर सञ्जालको पनि त्यत्तिकै महत्व भएको भन्दै उहाँले नेपाल भ्रमणको क्रममा मोदीले भनेको एचआईटी अर्थात हिट शब्दलाई पनि सम्झिनुभयो ।

उहाँले विद्युतीय सञ्जाल विस्तारको लागि भारतले चालेको कदम प्रशंसनीय भएको भन्दै नेपाललाई जलविद्युतमा काम गर्न हौसला प्रदान गरेको पनि बताउनुभयो ।

विश्वले अहिले आत्मसात गरिरहेका चुनौतीहरु धेरै भएको र यसबाट निकास पाउनको लागि सबैको सहकार्य आवश्यक भएको भन्दै उहाँले विगतमा जस्तै वर्तमानमा पनि दुई देशबीचको सहयोग र सहकार्य आवश्यक भएको प्रष्ट पार्नुभयो ।

मन्तव्यको अन्त्यमा उहाँले विभिन्न राष्ट्रहरुबीच अड्चन खडा गर्नुको सट्टा समझदारी बढाउनुपर्ने, छुट्टिएर बस्नुभन्दा दोहोरो सहकार्य हुनुपर्ने र साम्प्रदायिक भावना राख्नुभन्दा भाइचारा अपनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया