दर्ता बिना बोर्डिङ स्कुल चलाउने नेता र प्रध्यानाध्यापक विरुद्ध मुद्दा दर्ता

 असार ३, २०७५ आइतबार २०:२३:१० | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – ओखलढुंगामा दर्ता बिनै बोर्डिङ स्कुल चलाउने  दुईजना विरुद्ध मुद्दा दर्ता भएको छ ।

सिद्धिचरण नगरपालिका वडा नम्बर २ निसंखे बजार नजिकै दर्ता बिनै गुरुकुल एकेडेमी नामको बोर्डिङ सञ्चालन गर्ने सञ्चालक बलराम कट्वाल र स्कुलका प्रध्यानाध्यापक विरुद्ध परेको उजुरीपछि पक्राउ गरेर मुद्दा दर्ता भएको छ ।

दर्ता नै नगरी स्कुल सञ्चालन गरेर ठगी गरेको आरोपमा उजुरी परेपछि प्रहरीले सञ्चालहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरु विरुद्ध अनुसन्धानका लागि म्याद थप परेर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताउनुभयो ।

चिसंखुगढी गाउँपालिका ६ मा स्थायी ठेगाना भएका बलराम कटुवालले कम्युटर इन्ष्टिच्युट सञ्चालन गरेको स्थानमै सवारी साधान समेत राखेर दर्ता बिनै गुरुकुल एकेडेमी सञ्चालन गर्दै आएका थिए ।

त्यस स्कुलमा चालु शैक्षिक शत्रबाट कक्षा ४ सम्म पठनपाठन भएको स्थानीयको भनाई छ । स्थानीयले सरकारले दर्ताको अनुमति दिनु पर्ने भए पनि कुनै प्रकृया नै नपुर्याइ अभिभावक र विद्यार्थी ठगी गरेको उजुरी दर्ता गरेका थिए ।

विद्यालय सञ्चालन गर्न वडा स्तरबाट सिफारिस लिएर नगरपालिकाले दर्ता गर्ने व्यवस्था भए पनि दर्ता नभएको वडा अध्यक्ष कृष्ण कार्कीले बताउनुभयो । ‘दर्ताको सिफारिसका लागि पनि कुनै निवेदन वडामा आएको छैन’, कार्कीले भन्नुभयो । ठगीको उजुरी परे पनि प्रहरीले आरोपीलाई पक्राउ गरेर शिक्षा ऐन ०७४ अनुसार दर्ता बिना स्कुल संचालन गर्नेमाथि कारबाही गर्ने प्रहरीले जनाएको छ । 

बचाउमा अभिभावक 

दर्ता बिना विद्यालय सञ्चलान गर्ने संचालक पक्राउ परेपछि उनीहरुको बचाउमा अभिभावक र केही नेताहरु लागेका छन् । केही अभिभावकले जिल्ला प्रहरी कार्यालय अगाडि उपस्थित भएर विरोध समेत जनाएका छन् ।

विद्यालय सञ्चालन गरेर सेवा गरेको भन्दै पक्राउ परेका संचालकलाई छोड्न उनीहरुले माग गरेका छन् । नेपाली कांग्रेसका स्थानीय नेता पदम तामाङ सञ्चालक नछोडे कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । संचालक कटुवाल कांग्रेसका नेता समेत हुन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया