व्यवस्थित बाख्राको खोर: बाख्रामा लाग्ने रोगमा कमी, उत्पादनमा वृद्धि

 माघ १, २०७५ मंगलबार १५:१४:१० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – काठैकाठले बनेको, छानो जस्ताले छाइएको, आँगनी छेउमै व्यवस्थित बाख्राको खोर, खोरभरी बाख्रा । 

यो चिटिक्क परेको व्यवस्थित बाख्राको खोर हो, चितवनको कालिका नगरपालिका–८, देवीटारका खिरबहादुर र जगकुमारी राना मगरको ।
उहाँहरुले विगतका वर्षमा बाख्रापालन व्यवसाय त सुरु गर्नुभयो तर व्यवस्थित खोर भने थिएन । मलका लागि भन्दै बाख्रा बस्ने ठाउँमा प्रशस्तै स्याउला बिच्छ्याइन्थ्यो । 

‘खोर सफा गरिदैँनथ्यो । मलका लागि भन्दै बाख्रा बस्ने ठाउँमा स्याउला धेरै राखिन्थ्यो । बाख्राको मलमूत्रले स्याउला कुहिन्थ्यो,’ जगकुमारीले भन्नुभयो, ‘जसका कारण खोरमा रहेका बाख्राका रौँ झर्न थाले । बाख्राको खोर सफा नहुँदा खोरमा बाख्रालाई जुम्रा, किर्नाले समेत सताउँथ्यो । वरिपरि झनै दुर्गन्ध नै फैलन्थ्यो ।’

तर अहिले उहाँहरुले व्यवस्थित रुपमै आधुनिक बाख्राको खोर बनाएर व्यवस्थित खोरमै व्यवासायिक ढंगले बाख्रा पाल्दै आउनुभएको छ ।
आधुनिक खोर निर्माणमा मात्रै ३ लाख रुपैयाँ खर्च भएको खिरबहादुर बताउनुहुन्छ । 

बाख्रापालनका लागि ‘हेफर’को सहयोग

मगर दम्पतीले २०६५ सालबाट बाख्रा पाल्न सुरु गर्नुभएको हो । ‘हेफर इण्टरनेशनल नेपालले लगनशील सामाजिक उद्यम महिला समूहमार्फत प्रदान गरेको ५ वटा बाख्राबाट व्यवसाय सुरु गरेका हौँ । अहिले हामीसंगआफ्नै ४१ वटा बाख्रा छ,’ जगकुमारीले भन्नुभयो । 
विभिन्न समयमा हेफरबाटै बाख्रापालनसम्बन्धी आवश्यक तालिम लिएसँगै उहाँहरुले व्यवस्थित खोर बनाई व्यवसायिक रुपमा बाख्रापालन व्यवसाय अघि बढाउनुभएको हो । 

‘तालिम लिएपछि व्यवस्थित खोर बनाइयो । बिहान–बेलुकी खोर सफा गर्न थालियो । त्यसपछि, बाख्रामा लाग्ने रोगमा कमी आयो,’ व्यवस्थित खोर बनाएर बाख्रा पाल्दाको फाइदाबारे जगकुमारीले जानकारी गराउनुभयो, ‘बाख्रालाई रोग लाग्दा उपचार गर्नुपर्ने खर्च पनि कम हुन गयो । अहिले बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ ।’ 

मगर दम्पती बाख्राको स्याहारसुसारमै व्यस्त रहनुहुन्छ । सबेरै उठ्नु, खोर सफा गर्नु, बाख्रालाई घाँस–कुँडो गर्नु अनि दिउँसो बाख्रालाई जंगलमा चराउन लैजानु उहाँहरुको दैनिकी हो । 

‘माउ बाख्रा मात्रै जंगलमा चराउन लैजान्छौँ । खसीबोका घरमै राखेर पाल्छौँ,’ जगकुमारीले सुनाउनुभयो । माउ बाख्रा, खसी र बोकालाई उहाँहरुले छुट्टाछुट्टै राखेर पाल्नुभएको छ । 

वर्षमै ३ लाख बचत

बाख्रापालन व्यवसाय उहाँहरुको जीवन जिउने दरिलो आधार बनेको छ । बाख्रापालन गर्नुअघि मगर दम्पतीको आर्थिक अवस्था दयनीय थियो । 

‘भएको थोरै जग्गामा मकै, कोदो लगाइन्थ्यो । उत्पादनले ३ महिना खान पनि पुग्दैनथ्यो । दुईचार पैसा चाहिँदा कसैले पत्याउँदैनथेँ । सारै गाह्रो थियो,’ मगर दम्पतीले भने, ‘बाख्रा पाल्न थालेपछि जीवनस्तर उकासिएको महसुस भएको छ । अहिले दुईचार पैसाका लागि कसैको भर पर्नुपर्ने अवस्था छैन ।’
यसै व्यवसायबाट वार्षिक झण्डै ३ लाख बचत हुने उनीहरु बताउँछन् ।

‘वर्षमा ५ लाखजति आम्दानी हुन्छ । सबै खर्च कटाउँदा झण्डै ३ लाख रुपैयाँ त वर्षमै वचत हुन्छ,’ स्थलगत भ्रमणका क्रममा घरमै आएका १३ जिल्लाका पत्रकारहरुलाई उहाँले जानकारी गराउनुभयो । 

हेफर इण्टरनेशनल नेपाल र मिडिया एक्सन नेपालको आयोजनामा भरतपुर, चिवतनमा आयोजित कृषि तथा आर्थिक विकास सञ्चारकर्मी र पत्रकारका लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठीमा सहभागी भएका १३ जिल्लाका पत्रकार स्थलगत भ्रमणका लागि देवीटार पुगेका थिए । 

बजारको छैन समस्या

बाख्रापालनबाटै आएको कमाइले उहाँहरुले ५ कठ्ठा जमिन जोड्नुभएको छ भने  दुई कोठे चिटिक्क परेको घर पनि बनाउनुभएको छ । बाख्रालाई चाहिने घाँसको लागि उहाँहरुले १० कठ्ठा जमिन भाडामा लिई टाँकी, खनायो लगायतका घाँस खेतीसमेत गर्नुभएको छ । 

उहाँहरुलाई बजारको कुनै समस्या छैन । महिलाहरुले सञ्चालन गरेको लगनशील सामाजिक उद्यम महिला समूहमा उत्पादन संकलन गरेर बिक्री हुँदै आएको छ ।
समूहमा आबद्ध भएर मगर दम्पतीबाहेक अन्य महिला दिदीबहिनीहरुले पनि कुनै न कुनै व्यवसायिक कृषि कर्म गर्दैै आउनुभएकोे छ । 

हेफर इण्टरनेशनल नेपालले महिलाहरुले सुरु गरेको समूहको सवलीकरण र कृषकको उत्पादनको बजारीकरणमा काम गर्दै आएको हेफर इण्टरनेशनल नेपाल, भरतपुर क्लष्टरका कार्यक्रम अधिकृत विष्णु पाण्डेले बताउनुभयो । 

लगनशील सामाजिक उद्यम महिला समूहमा ४१२ जना महिला सदस्य रहेका छन् । समूहमा आबद्ध सदस्यहरुलाई समूहले व्यवसायिक तरकारी खेती, कुखुरापालन र बाख्रापालनमा लगानी गर्दै आएको छ ।
 

अन्तिम अपडेट: जेठ २५, २०७६

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया