रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि
पुस २९, २०८१ सोमबार
विसं २०६१ माघ १९ को शाही घोषणाबाट सम्पूर्ण कार्यकारी अधिकार राजा ज्ञानेन्द्रले आफ्नो हातमा लिएपछि राजनीतिक दलमाथि अघोषित प्रतिबन्ध लाग्यो ।
ती दलसँग आन्दोलनको विकल्प थिएन । आन्दोलनलाई चर्काउने योजनाअनुसार काम अघि बढ्न थाल्यो । माघ २६ गते घोषित नगर निर्वाचन बहिष्कार गर्ने क्रममा घोराहीमा शान्तिपूर्ण प्रदर्शन भैरहेको थियो ।
खासगरी माओवादी आन्दोलनबाट अलि धेरै नै प्रभावित जिल्ला हो दाङ । त्यसकारण पनि आन्दोलनमा अन्य दलको समेत सहभागिता थियो । आन्दोलनमा सर्वसाधारणको यति धेरै सहभागिता थियो कि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले त्यसलाई थाम्नसक्नु त धेरै परको कुरा त्यसलाई राम्रोसँग हेर्न पनि नसक्ने अवस्थामा थिए ।
त्यो दिन घोराहीमा जनसागर उर्लिएको थियो । जब आन्दोलनको नेतृत्व गर्दै नेकपा एमालेका जिल्ला परिषद् सदस्य उमेशचन्द्र थापा अहिलेको शहीद मार्ग हुँदै अगाडि बढिरहनु भएको थियो, त्यही जुलुशमाथि तत्कालीन शाही सेनाले गोली बर्सायो र एमालेका जिल्ला परिषद् सदस्य थापाको ज्यान गयो । जनआन्दोलन २०६२-६३ को प्रथम शहीद उहाँ हुनुभयो ।
त्यस घटनामा घाइते कृष्ण गिरी सम्झिनुहुन्छ - ‘शाही सेनाले गोली चलाउनुपर्ने अवस्था थिएन । आन्दोलन निक्कै शान्तिपूर्ण थियो । अहिलेको रेडियो मध्यपश्चिम अगाडि त्यो समय झाङहरु थिए ।’ उहाँ भन्नुहुन्छ – ‘माथि ब्यारेकबाट आएको सेनाले एक्कासी गोली चलायो । मेरो एउटा पैतालामा, एउटा कोखामा र एउटा अर्को खुट्टामा गोली लागेपछि म ढलेँ । उता उमेश पनि ढल्नुभयो । उमेश घटनास्थलमै शहीद हुनुभएको हो । त्यसको केहीबेरपछि नै सेना आफैंले मलाई तत्कालीन महेन्द्र अस्पतालमा लगेर उपचार गरेको याद छ ।’
थापालाई एउटा गोली लागेको थियो । नाइटोदेखि तलको भागमा गोली लागेर ढल्नुभएका थापा फेरि कहिल्यै उठ्नु भएन ।
उमेशचन्द्र थापा प्युठानमा जन्मिनुभएको थियो । विसं २०१२ असोज १० गते उहाँको जन्मदिन हो । आमा फनिदेवी थापा र बुबा भोज बहादुर थापाको कोखबाट प्युठानको बरौलामा जन्मनुभएका थापा समाजप्रति कर्तव्यनिष्ठ, न्यायप्रेमी, साहसी र निडर नेताको रुपमा परिचित हुँदै आउनुभएको थियो ।
सानैदेखि आत्मविश्वासी र लगनशील व्यक्तिको रुपमा चिनिएका उमेशको शिक्षा स्नातकसम्मको हो । प्युठानकै बिजुली गाविसमा रहेको तत्कालीन जनता मावि र मुक्ति विद्यालयमा अध्ययनपछि दाङको घोराहीमा बसाइ सरेर आउनुभएको थियो । उच्च शिक्षा घोराही भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुरु गर्नुभएका उमेशले विद्यार्थी कालदेखि नै राजनीति सुरु गर्नुभएको हो ।
प्युठानकै वामपन्थी आन्दोलनबाट प्रभावित भएर उमेशले प्युठानबाटै राजनीतिक जीवन सुरु गर्नुभएको थियो । कम्युनिष्ट घटकको रुपमा उहाँले राजनीति सुरु गर्दा विद्यार्थी राजनीतिको अवस्थासमेत कमजोर थियो । तत्कालीन नेकपा मालेको सम्पर्कमा रहेर महेन्द्र बहुमुखी क्याम्पसमा उहाँले काम गर्नुभएको नेकपा दाङका नेता टीकाराम खड्काले बताउनुभयो । उहाँ भन्नुहुन्छ - ‘उहाँले विद्यार्थी राजनीतिमा पुर्याएको योगदान अहिले पनि स्मरणीय छ ।’
विसं २०३५-३६ तिरको वामपन्थी विद्यार्थी आन्दोलनका कारण उमेशको छवि वजनदार बनेको उहाँका समकक्षीहरु बताउँछन् । थापा विद्यार्थी राजनीति गर्नुभएकै कारण तुलसीपुरमा चार महीना जेल जीवनसमेत भोग्न बाध्य हुनुभएको थियो । थापाले नगर कमिटी सदस्यसमेत भएर काम गर्नुभएको थियो । उहाँको आफ्नै प्रेस थियो । प्रेस चलाएर बस्ने भएकाले पनि सम्पूर्ण समय पार्टीलाई दिन नसकेका थापाले पार्टीले भनेका कामहरु कर्तव्यनिष्ठ भएर गर्नुहुन्थ्यो ।
थापाले विवाह प्युठानबाटै गर्नुभयो । विद्यार्थी र राजनीति गर्दै दाङमा बस्न थालेपछि प्युठानकै एञ्जला थापासँग विवाह गर्नुभएको हो । विसं २०४१ फागुन २२ गते उहाँको मागी विवाह भएकोे हो ।
उमेशको मृत्युपछि उहाँको कामको प्रशंसा गर्नेहरु पनि कम छैनन् । उहाँले पार्टी र समाजमा पुर्याएको योगदानका बारेमा सबैले खुलेर प्रशंसा गर्छन् । ‘उहाँको आफ्नै व्यवसाय थियो, सबै समय पार्टीलाई दिन नसकेको भए पनि उहाँलाई पार्टीले अर्हाएको काम कर्तव्यनिष्ठ, इमान्दार भएर गर्नुहुन्थ्यो,’ एमाले अध्यक्ष खड्काले बताउनुभयो - ‘विद्यार्थी आन्दोलनमा धेरै समय खर्च गर्नुभएका उहाँलाई त्यही विद्यार्थी आन्दोलनले नै माथि उठाएको थियो ।’
सोही आन्दोलनका घाइते कृष्ण गिरी त्यो बेलाको घटनालाई सम्झिँदै भन्नुहुन्छ - ‘गोली लागेर घटनास्थलमै मृत्यु भएका उमेशलाई सेनाले गाडीमा काठको मुढा फाले झैं फालेर लगेको थियो । त्यो मलाई अहिले पनि याद आउँछ ।’ उहाँले भन्नुभयो - ‘तर, उमेशको साहसलाई मान्नुपर्छ । त्यो दिन जनसागर थियो घोराहीमा । त्यसको अघि अघि हुनुहुन्थ्यो उमेश । उहाँले देखाउनुभएको वीरताका कारण उहाँको महिमा अझै चुलिनु पर्छ ।’
जीवनका २१ वर्ष सँगै बिताएकी एञ्जला आफ्नो भन्दा पनि बढी समाजका बारेमा सोच्ने व्यक्तिको रुपमा उमेशलाई पाएको अनुभव सुनाउनुहुन्छ । उहाँले अरुको चाकडी गर्न भने कहिल्यै नजानेको एञ्जलाको मूल्याङ्कन छ ।
थापाले शहादत प्राप्त गरेको १३ वर्ष पुगेको छ । शहीद थापाको सम्मानमा घोराहीमा द्वार निर्माण गरिएको छ र त्यो सडकको नामकरण उमेश मार्ग भनी राखिएको छ ।
राससका लागि नवीन नेपालीले तयार पार्नुभएकाे
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।