आरक्षण होइन, योग्यता विकास गर्नुहोस् : अध्यक्ष प्रचण्ड

 माघ १७, २०७५ बिहीबार १३:१७:५६ | रासस
unn.prixa.net

चितवन – पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको सशक्तीकरणका निम्ति हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रुपमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधानमा गरिएको बताउनुभएको छ । 

नेपाल पत्रकार महासंघका महिला विभागले आज जिल्लाको पटिहानीमा आयोजना गरेको पत्रकार महिलाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले आरक्षण प्राप्त गर्नेतर्फ ध्यान केन्द्रित नगरी महिलाले आफूलाई योग्य सावित गर्नेतर्फ केन्द्रित गर्नुपर्ने बताउनुभयो । 
दाहालले आरक्षणले क्षमतामा अवरोध सिर्जना गर्ने भन्दै योग्यता विकास गर्न सुझाव दिनुभयो । उहाँले पत्रकार महिलालाई इंगित गर्दै भन्नुभयो, ‘तपाईँहरु नेतृत्व तहमा नै आउँदै हुनुहुन्छ, अध्यक्ष बन्नुपर्छ, त्यो अब महिला मुक्ति आन्दोलनका रुपमा लिनुपर्छ ।’ 

इतिहासको महत्वपूर्ण क्षणमा हामी रहेको भन्दै उहाँले भन्नुभयो, ‘हाम्रो अगाडि अवसर छ, धेरै वर्षको मेहनत र बलिदानबाट प्राप्त यो अवसरलाई सदुपयोग गर्नुपर्छ ।’ सबै वर्ग, क्षेत्र, समुदायको एकता नभएको भए अहिलेको राजनीतिक परिवर्तन सम्भव नहुने भन्दै उहाँले यसलाई कार्यान्वयन गर्ने अहिलेको चुनौती रहेको बताउनुभयो । 

राष्ट्रको एकतालाई अझ मजबुत बनाउनुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘एकतालाई अझ मजबुत कसरी गर्ने, प्रगतिशील परिवर्तनलाई कसरी संस्थागतरुपले कार्यान्वयन गर्ने र समृद्धिको यात्रालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सोच्ने बेला आएको छ ।’ 

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले पुरुष पुग्ने ठाउँमा महिला पुग्न नसकेको भन्दै प्रतिस्पर्धी ढङ्गले काम गर्न पत्रकार महिलालाई आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महिलालाई नेतृत्वमा ल्याउन सहयोगी बन्ने बताउनुभयो । 

कार्यक्रमका अवसरमा तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढ्दो रहेको भन्दै महिलालाई अघि बढाउन सबैले साथ र सहयोग गर्नुपर्ने बताउनुभयो । 

नेपाल पत्रकार महासंघ महिला विभागका प्रमुख लक्ष्मी पुनको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेत, भरतपुर महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष विष्णुराज महतो, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायतले बोल्नुभएको थियो । 

भेलामा पत्रकार महिलाका वर्तमान अवस्था, समस्या र समाधान विषयमा व्यापक छलफल गरी निष्कर्ष निकालिनेछ । भेलामा अगुवा पत्रकार महिलालाई सम्मान गरिएको थियो ।

देशभरका पत्रकार महासङ्घका शाखा, केन्द्रीय समिति, प्रतिष्ठान, प्रदेश समितिका महिला नेतृत्व र केन्द्रीय समितिका पूर्वनेतृत्वको सहभागिता रहेको छ । भेलामा २०० भन्दाबढी पत्रकार महिलाको सहभागिता रहेको छ । भेला आज साँझ पटिहानी घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया