कतार गएका श्रीमानले फोन नगर्दा भताभुङ्ग भयो लेखकुमारीको सपना

 असार ६, २०७५ बुधवार १३:२६:२२ | सन्जिता देवकोटा

खोटाङ – १२ वर्षअघि श्रीमानले विदेश जाने कुरा गर्दा लेखकुमारी बस्नेतले नजानु भन्न सक्नुभएन । गाउँमा त्यसै बस्नुभन्दा त विदेशमा धेरथोर कमाइ हुन्छ भनेर उहाँ सहमत हुनुभयो ।

श्रीमान विदेश लाग्दा लेखकुमारीसँग केही थान सपना थिए ।

पहिलो – छोराछोरीलाई राम्रो स्कुलमा पढाउने ।

दोस्रो – घरव्यवहार सुधार्ने ।

सपना पूरा हुनेमा श्रीमान–श्रीमती दुवै ढुक्क थिए । यही सपना पूरा गर्न २०६२ सालको पुसमा देवबहादुर कतार लाग्नुभयो । 

२०६६ सालको देवालीमा उहाँले घर आउँछु भन्नुभएको थियो । तर घर आउँछु भनेको मानिस एक्कासी सम्पर्कबिहीन हुनुभयो । त्यसपछि लेखकुमारीका सपना पनि भताभुङ्ग भयो ।

लगाएको रातो कुर्ता सुरुवालले उहाँको ज्यानमा कतै छोएको थिएन । पीरले हो वा घामले डढेर कालो भएका छाला हड्डीमै टाँसिएका थिए ।  वर्षौंदेखि श्रीमान हराउनुको पीडाले होला, कपाल कोर्ने होसै थिएन लेखकुमारीलाई । 

देवबहादुर कतार पुगेको चार वर्षसम्म लेखकुमारीको अवस्था यस्तो थिएन । कतारबाट फोन र चिठी आइरहन्थ्यो । पैसा पनि बेलाबेलामा पठाइरहनुहुन्थ्यो । यी चार वर्षमा उहाँले ऋण तिरेर घडेरी पनि किन्नुभएको थियो । 

ऋण तिरेर सकिएकाले देवबहादुरले कमाएको बच्न थालेको थियो । पैसा जोगिन थालेपछि छोराछोरीलाई राम्रो स्कुलमा पढाउने र घर बनाउने योजना बन्दै थियो । तर परिवारको मियोको खबरसम्म नआएपछि लेखकुमारीको सपना पनि बालुवाको घर झैं गर्ल्यामगुर्लुम ढल्यो ।

२०६६ सालमा मंगलटारका बस्नेतहरुको देवाली (कुल पूजा) थियो । देवाली आउनुभन्दा एक हप्ताअघि गाउँका शिव सरको घरमा भएको फोनमा देवबहादुरले सम्पर्क गर्नुभएको थियो । लेखकुमारी र एकराज (लेखकुमारीका ससुरा)  पनि देवबहादुरसँग फोनमा कुरा गर्न जानुभएको थियो । ‘शुक्रबार काठमाडौं आएर फोन गर्छु है भन्नुभयो, देवालीमा के गर्ने भन्नेजस्ता सल्लाह गर्नुभयो,’ लेखकुमारीले श्रीमानसँग भएको अन्तिम कुराकानी सुनाउनुभयो । 

‘मलाई त सन्चो बिसन्चो पनि साधेको थियोे, छोराले आउँछु भनेपछि के भन्नु र उही  आउने दिन कहिले गनेर बसियो,’ एकराजले छोरासँग भएको कुरा थप्नुभयो । देवाली आउन चार दिन बाँकी थियो । देवाली उत्सव सँगै बसेर मनाउने तयारी गरेर बसेकी लेखकुमारीले शुक्रबार साँझसम्म फोन नआएपछि शिव सरको घरमा गएर फोन गर्नुभयो । तर फोन लागेन ।

‘काठमाडौं आएर फोन गर्छु भनेका मान्छेको फोन पनि आएन, कतारको नम्बरमा पनि फोन लागेन,’ लेखकुमारीले मलिन स्वरमा भन्नुभयो, ‘आत्तिएँ, कसलाई के भन्नु, पसिनाले निथ्रुक्क भिजें ।’ देवबहादुरको फोन नलागेपछि बिदा पो मिलेन कि भनेर परिवारले तत्काललाई चित्त बुझायो । खिन्न मनले सबैले देवाली मनाए । 

श्रीमानको ‘फर्किन पाइन’ भन्ने खबरको प्रतिक्षामा हुनुहुन्थ्यो लेखकुमारी । तर फर्किन पाइन भन्ने खबर त परको कुरा उहाँले ९ वर्ष बित्दा पनि श्रीमान कहाँ गए भनेर खबर पाउनुभएको छैन । ‘सबैतिर सोधियो, कसैले पनि आएको छ, देखेका छौं भनेनन्, त्यो बेलामा न अहिलेका जस्तो फोनको सुविधा पनि थिएन’ लेखकुमारीले सुनाउनुभयो । 

श्रीमान हराएपछिका दिन कसरी कटे भनेर लेखकुमारी शब्दमा भन्न सक्नुहुन्न । तीन छोराछोरी र घर व्यवहारको जिम्मेवारी एक्लै सम्हाल्न गाह्रो भयो उहाँलाई  । पैसा आउने बाटो केही थिएन । खेतीपाती बाहेक लेखकुमारीले जानेको पनि केही हैन । ‘कुखुरा परेवा पालेर छोराछोरीको फि तिरें, दुःख गरेर दुई छाक खुवाएँ, जे गर्न पनि गाह्रो छ एक्लै त,’ लेखकुमारीले भन्नुभयो । 

छोराछोरीको उमेरको वर्ष बढ्दा उनीहरुको इच्छा र चाहना पनि बढ्नु स्वभाविक हो । तर उनीहरुसँगै घरको आम्दानी बढेको थिएन । घरमा कमाउने मान्छे थिएनन् भन्ने उनीहरु बुझ्दैन पनि थिए । कुखुरा र बाख्रा बेचेर लेखकुमारीले के के मा मात्र खर्च गर्नु ? ‘हाम्रो पनि बुवा भएको भए यस्तो लाउन पाइन्थ्यो, खान पाइन्थ्यो, यस्तो पढ्थे भन्छन् नि, मैले त कहाँबाट दिनु, नबुझ्दासम्म कराउँथे, चित्त बुझाउँथे, अहिले अलि बुझ्छन्’ लेखुकुमारीका आँखा भरिए । 

श्रीमान हराएपछिका हरेक दिनरात पीडादायी भयो । ‘घरव्यवहार र एक्लै जीवन कसरी अघि बढाउने रु’ सम्झँदा लेखकुमारीको मन आत्तिन्छ, ‘एक्लै रोएँ, छोराछोरीको इच्छा पूरा गर्न नसक्दा झनै मन पोल्छ ।’ 

श्रीमानको कुनै खबर नआउँदा लेखकुमारीको मनमा धेरै कुरा खेल्छन् । ‘खै दोस्रो ल्याएर पो हो कि हामीलाई बिर्सिएको, कसैले हानेर पो मारिदियो कि, के थाहा, माया नै पो मारेको हो कि रु’ उहाँको मनमा धेरैथरी आशंका  उब्जिएको छ । 

‘तर एउटा मनले छोराछोरीको मायाले पनि जिउँदो छन् भने त आउँछन् जस्तो लाग्छ,’ लेखकुमारी चित्त बुझाउनुहुन्छ । मनमा धेरै कुरा खेलेपछि उहाँले धामी र ज्योतिषीलाई देखाउनुभयो । ‘धामीहरुले त देखाएपछि एकथोक न एकथोक त भन्छन् नै, तर अर्की ल्याएर भारतको छेउमा बसेको छ भन्दा चाहिँ मन खान्छ, बाँच्ने रहर नै हराउँछ,’ धामीले भनेका कुरा सम्झँदै उहाँले भन्नुभयो ।

मनै त हो । लेखकुमारीलाई पनि कहिलेकाहीँ त धामीका कुरा हो जस्तो पनि लाग्छ । कतार जानुअघि देवबहादुर भारतमा पनि रोजगारीका लागि जानुभएको थियो । त्यसैले फेरि पनि अर्को श्रीमती लिएर बसेका छन् कि भन्ने उहाँलाई शंका लाग्छ । 

‘त्यही पहिलाको ठाउँतिर पो अर्की लगेर बसेका छन् कि, नत्र त केही न केही सम्झना त हुन्छ नि, म यहाँ उहाँकै छोराछोरी हुर्काएर बसेको छु,’ लेखकुमारीका गला अवरुद्ध भए । 

अहिले देवबहादुर हराएको ९ वर्ष भयो । श्रीमानको अत्तोपत्तो नहुँदा लेखकुमारीको जीवन निकै कष्टपूर्ण रुपमा बितिरहेको छ । घरव्यवहार चलाउँदा, एक्लै जिन्दगीको रथ कुदाउँदा आत्तिनुभएको छ । भोलि के होला ? एक्लै जीवन कसरी कट्ला रु भन्ने सम्झेर उहाँको मन पोलिरहन्छ ।  भन्नुहुन्छ, ‘मलाई उसको खबर चाहिएको छ, पहिलाको जस्तै जीवन चाहिएको छ । तर कसरी ?’

मरेको भएपनि, बाँचेर माया मारेको भएपनि वा अर्को घरबार गरेको भएपनि लेखकुमारी एउटा टुङ्गोको खबरको पर्खाईमा हुनुहुन्छ । गाउँलेले त्यस्तो कुरा नकाटुन जसले मुटु छियाछिया होस् । तर गाउँलेका मुख कसले थुन्नेर ? हराएका श्रीमानको खबर कहाँबाट पाउने ? ‘खान पठाएकी खाइ भन्छन्, एक त लोग्ने विदेश हुनेलाई के के भन्छन् त्योमाथि आफ्नाको त खबर समेत छैन,’ लेखकुमारी भन्नुहुन्छ । 


देवबहादुर हराउँदा छोराछोरीका बुवा मात्रै हराएका छैनन् । बुवा नहुँदा उनीहरुले आफ्नो आवश्यकताका धेरै कुरा गुमाएका छन् । देवबहादुर विदेश जाँदा २ कक्षामा पढ्थे छोरा पुष्ष । अहिले १२ कक्षामा पढ्ने भइसकेका छन् । दुई छोरी मध्ये एकको बिहे भइसक्यो । कान्छी छोरी आठ कक्षामा पढ्छिन् ।

छोराछोरीले पनि साथीभाइ र छिमेकीको कुरा सुन्नु परेको छ । बुवा विदेशमा हराएका भनेर गाउँलेले कुरा काट्दा पुष्पको मन दुख्छ । ‘बाउ छैन भन्छन्, के के भन्छन् नि, आइदिए त केही नभएपनि त्यस्तो कुरा त सुन्नु पर्थेन नि,’ पुष्पले आफ्नो इच्छा सुनाए । 

गाउँलेले खुच्चिङ मार्दा लेखकुमारी छोराछोरीको अनुहार हेरेर आफूलाई सम्हाल्नुहुन्छ । तर छोराछोरीले नै बुवाको बारेमा बारम्बार सोध्दा सम्हाल्न गाह्रो पर्छ । 
‘छोरो त के के भन्छ के के, बुवाकै कुरा गर्छ, बुवाकै नम्बरमा मात्र फोन लगाइरन्छ, बाउकै चिन्ताले एकोहोरो भइसक्यो,’ लेखकुमारीले भन्नुभयो, ‘बुवा खोजौं भनिरहन्छन्, नजानेका ठाउँमा काहाँ खोज्ने,’ लेखकुमारीले छोराको अनुहारमा हेरिरहनुभयो । 

पुष्पले बाकसबाट पुरानो डायरी निकालेर ल्याए । बुवाको नम्बर देखाए । ‘हिजोआज त यो पहिलेको नम्बरमा कतारको कोड थप्दा फोन लाग्छ नि, तर उठाउने मान्छेले बुवा हुँ भन्दैन, बुवा हो भनेर सोध्दा हिन्दीमा गाली पो गर्छ,’ पुष्पले नम्बर देखाउँदै भने ।

‘मसँग फोन भएदेखि लगाएको बल्ल मात्रै लाग्न थालेको हो,’ पुष्पको गला अबरुद्ध भयो । लेखकुमारीले श्रीमानको नागरिकता हेर्दै आँसु झार्नुभयो ।‘नागरिकताको पूरानो फोटो, पहिले पहिले पठाएका चिठी र कतारको पुरानो नम्बर’ यति नै छ, उनीहरुसँग ।

न काम गर्ने कम्पनीको नाम थाहा छ, न अरु कुनै जानकारी । त्यसैपनि देवबहादुरको खोजी गर्न समस्या भएको छ । परिवारले देवबहादुर फर्किउन भनेर जोर बोका भाकल गरेका छन् । ‘यो वर्षको देवालीमा दिने गरी भाकल गरेका छौं, ऊ नआएपनि बोका भोग दिनै पर्छ,’ लेखकुमारीले सुनाउनुभयो ।

छोरो फर्कियोस् भनेर आमा हर्कमायाले पनि देवीदेवतासँग भाकल गर्नुभएको छ । ‘पारीका देवतालाई घण्टी चमार दिउँला भनेको छु, खै फर्किन्छ जस्तो छैन,’ हर्कमायाका आँखा आँसुले भरिए । आमालाई पनि वर्षौंसम्म खबर नआउँदा छोरो फर्किँदैन जस्तो लाग्न थालेको छ । ‘कोही ज्योतिषले २२ वर्षपछि फर्किन्छ भन्छन्, त्यसकै शोकले त्यतिबेलासम्म त म मरिसक्छु होला कि’ हर्कमायाको अनुहार मलिन भयो । 

कुलदेवता र खोला पारिका देवतासँग गरेको भाकलले उनीहरुको मनमा केही शान्ति त मिलेको छ । तर देवबहादुर फर्किएलान् भन्नेमा ढुक्क भने छैनन् । वर्षौंदेखि हराएका अरु मानिस भेटिएको खबर सुन्दा थोरै नै सही उहाँको उदास अनुहारमा केही आशाका किरण भरिन्छ । 

घरमुली हराउँदाको पीडाले खनेको घाउ पुर्न देवबहादुरलाई खोज्ने उनीहरुको चाहाना छ । तर ‘विदेश जाँदाका कुनै कागज पत्र र जानकारी बिनै कहाँ खोज्ने’ उनीहरु अन्यौलमा छन् । 

अन्तिम अपडेट: भदौ १४, २०७५

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया