१५ प्रतिशत मात्र उखु क्रसिङ

 माघ १८, २०७५ शुक्रबार १८:२:३९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – चिनी कारखाना  एक महिना ढिलो गरी सञ्चालन भएकाले अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र उखु क्रसिङ भएको छ । 

सर्लाहीको हरिवनमा  रहेको ईन्दुशंकर चिनी कारखानाले अहिलेसम्म पाँच लाख १७ हजार क्विन्टल  उखु क्रसिङ गरेको छ । कारखानाले यस वर्ष  झण्डै  ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । ईन्दुशंकर चिनी कारखानाले अहिले दैनिक ३० हजार क्विन्टल उखु क्रसिङ गरिरहेको छ । त्यसैगरी महोत्तरीमा रहेको एभरेष्ट  सुगर मिलले अहिलेसम्म पाँच लाख ५५ हजार  क्विन्टल उखु क्रसिङ  गरेको छ । ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्य राखेको कारखानाले दैनिक ४०–४५ हजार क्विन्टल उखु क्रसिङ गरेको कारखानाका महाप्रबन्धक युगलकिशोर चौरसियाले जानकारी  दिनुभयो ।

त्यसैगरी सर्लाहीको पश्चिमी धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले  बिहीबारदेखि दैनिक २० हजारभन्दा माथि उखु क्रसिङ गरिरहेको छ । किसानको उखु क्रसिङ गर्न थाले पनि अन्नपूर्ण सुगर मिल र रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिलले किसानको करोड रुपैयाँ भुक्तान गर्न बाँकी राखेको छ ।

अन्नपूर्ण सुगर मिलले ३२ करोड र रौतहटको  श्रीराम सुगर मिलले  ३० करोड  रुपैयाँ किसानको भुक्तानी गर्न बाँकी रहेको  छ । त्यसैगरी सरकारले किसानलाई अनुदानबापत  पठाएको प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अझै पाउन  सकेका छैन ।  सरकारले किसानलाई दिन  पठाएको २६ करोड रुपैयाँभन्दा बढी रकम चार महिनादेखि कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीमा थन्किएको छ ।

चिनी उद्योगहरुले किसानको लालपूर्जाको प्रतिलिपि,  बैंक खाता र उखुको परिमाण खुल्ने गरी  विवरण पठाउन नसक्दा अनुदान रकम  बैंक खातामा जम्मा गर्न नसकिएको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख जगत थपलियाले  जानकारी दिनुभयो ।

यश क्रसिङ सिजनका लागि उखुको मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ २८ पसै कायम गरिएको छ । सर्लाहीमा यश वर्ष झण्डै ३४ हजार हेक्टर क्षेत्रफलमा  किसानले उखु खेती गरेका छ ।सरकारले उखुलाई नगदे बाली घोषणा गरे पनि किसानले पाँच वर्ष देखिको  भुक्तानी अहिलेसम्म  पाउन सकेका छैनन् ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया