फेब्रुअरी १४

 माघ २६, २०७५ शनिबार ९:५२:२५ | निमेष पाैडेल
unn.prixa.net

बिहान छ बजे निद्रा खुल्यो । सुरुमा मैले मोबाइल नै हेरेँ । मोबाइलमा तीन म्यासेज र सात मिसकल आएको रहेछ । पछिल्लो मिसकल भने एक मिनेट अगाडि मात्र आएको थियो ।

पहिलो म्यासेजमा ‘सरी’ लेखिएको थियो । दोस्रो म्यासेज हेर्दै थिएँ, पुनः निष्ठाको कल आयो । रिसिभ गर्नासाथ निष्ठाले आत्तिँदै भनी— “हेलो विप्लव !”

मैले सोधेँ— “हेलो, अँ के भयो भन न, किन आत्तेकी ?”

“रिसाएको त छैनौ नि ? राति रिप्लाई गरिनँ, फेरि पनि सरी ल !”

“छैन रिसाको तर के भयो हिजो ? न दिउँसै फोन गर्‍यौ न त बेलुका नै, बेपत्तै भयौ त !”

“त्यही भएर त सरी भनेकी नि । हेर न हिजो अफिसको म्यानेजरले पार्टी दिएको थियो । हल्का वाइन खाएकी थिएँ । त्यसैले ड्याडीले फोन गर्नुहुन्छ भनेर फ्लाइट मोडमा राखेकी थिएँ । तिमीलाई म्यासेज गर्छु भन्दै थिएँ तर बिर्सिएछु ।”

मेरो मुखबाट मात्र एक अक्षरको एक शब्द निस्कियो— “के !” 

“के भयो फेरि ? नरिसाऊ न के !”

“छैन त रिसाको, किन रिसाउनु ? बिजी मान्छे तिमी ।”

“हेर न फेरि बोलेको ! त्यो बोलीले नै प्रस्ट्याउँछ, बुझ्यौ ?”

“मलाई बच्चाले जस्तो झगडा गर्नु छैन, होस् ।”

“ल, उसो भए राख फोन, मलाई नि छैन ।”

मैले फोन काटेँ । मोबाइल बज्यो । उसैको कल आइरहेको थियो । मोबाइलमा रिङ बजेको केही सेकेन्डसम्म मैले कल रिसिभ गरिनँ । लगभग रिङ बजेको दस सेकेन्डपछि कल रिसिभ गरेँ— “कस्तो के तिमी, फोन काटिहाल्नु पर्छ ? त्यति धेरै रिसाको छौ ?”

“रिसाको छैन ।”

“त्यसो भए रिसाऊ न त ! म फकाउँछु ।”

मैले रिसिँदै भनेँ— “केटाकेटी जस्तो कुरा नगर न, मजाक गरेकी ?” 

उसले मायालु पारामा भनी— “हैन के, छ्या ! मेरो पागल रिसाउँदा झन् क्युट देखिन्छ नि !”

मैले उसको त्यो कुराको केही रिप्लाई दिइनँ । उसले फेरि नम्र स्वरमा भनी— “थाहा छ विप्लव, मलाई कराउने हक मात्र तीन जनालाई छ, मेरो ममीबाबा अनि तिमी । तिमीले कराएनौ भने मलाई कसले कराउँछ र ! तर नि प्लिज हिजो गल्ती गरेँ, माफी देऊ । अबदेखि त्यस्तो गल्ती हुँदैन ।”

उसले त्यसरी माफी मागेपछि हामी सामान्य अवस्थामा आयौँ अनि अरु बेलाजस्तै गफ गर्न थाल्याै । उसलाई मैले अघिल्लो दिनको सबै घटना सुनाएँ । उसले पनि अफिसको सबै कुरा सुनाई । साँच्चै नै प्रेम अजिवको चिज रहेछ । केही बेरको गन्थनपछि फोन राख्ने बेलामा उसले भनी— “हामी महिना दिन पूरा भएपछि भेट्छौँ नि ! नबिर्सिनू ।”

मैले भनेँ— “हाम्रो सम्बन्ध घडीको सुई जस्तै भएको छ । सधैँ भेट नहोला ! तर सही समय आएपछि जरुर हुन्छ । टाढा भए पनि साथ कहिल्यै छुट्दैन ।” ममीले चिया ल्यादिनु भयो । खाना खाएर म फेरि पसलको खोजीमा निस्किएँ । १५ रुपैयाँको चाउचाउ खाएर बजार चहार्दै मेरो दिन बित्यो । 

दिउँसो करिब एक बजेतिर मैले एउटा क्याफेमा निष्ठाको बा भनौँ न, मेरा हुनेवाला ससुरालाई भेटेँ । मैले उनलाई नमस्ते टक्र्याएँ । उनी बियर र चुरोट तानिरहेका थिए । म उनकै अगाडिपट्टिको टेबलमा बसेँ । एकछिन मलाई हेरेर उनले आफू् बसेकै ठाउँमा आउन आग्रह गरे । म लुरुक्क उठेर बूढाकै छेउमा गएँ । उनले भने— “के खान्छौ ? चिसोतातो, हार्डसफ्ट ?” 

मैले तुरुन्तै भनेँ— “पर्दैन अङ्कल, म ठीक छु ।” 

बुढा जिद्दी रहेछन्— “हैन–हैन, तिमीले त केही लिनैपर्छ । चुरोट लिन्छौ ?” मैले आत्तिँदै भनेँ— “नाइँ अङ्कल, म चुरोट, रक्सी केही पिउँदिनँ । 
“भन्ने कुरा न हो, मसँग किन अड मान्छौ यार !” 

बुढालाई हल्का लागेको रहेछ । मलाई त यार पो भन्न थाले । मैले भनेँ— “अडभन्दा पनि मलाई यस्तो कुरामा इन्ट्रेस्ट नै लाग्दैन अङ्कल, अनि बानी पनि छैन ।”
“ओ आई सी अनि के गर्दै छौ आजभोलि ? इएर ब्रेक छ क्यारे ! एनी लाइफ प्लान ?”

मैले टुच्च मुस्कुराउँदै नरम शैलीमा भनेँ— “अहिले खासै केही गरेको छुइनँ अनि भविष्यको चिन्ता पनि यति चाँडै लिनुपर्ला जस्तो लागेको छैन ।” 

“ममी बिरामी हुनुहुन्छ भन्थी निष्ठाले । बिहे त चाँडै गर्छौ होला ! यस्तो पाराले त कसैले तिमीलाई छोरी दिँदैन ।”

“अहिले सोचेको छुइनँको मतलब कहिल्यै सोच्दिनँ भन्न खोजेको होइन नि, अङ्कल । अहिले पसलको खोजीमा छु, हिजोअस्तिसम्म अरुकै मोबाइल पसलमा मोबाइल बनाउने काम गर्थेँ अब आफ्नै मोबाइल पसल खोल्ने विचारमा छु । यसबाट नाफा भयो भने अरु पछि सोचुलाँ भनेर अहिलेलाई यही काम मात्र गर्दैछु ।”

“भनेपछि प्राइभेट अथवा सरकारी जागिर खाने मेन्टालिटीमा छैनौ ?”

“त्यस्तो सोचेको छुइनँ । हेरौँ के हुन्छ ।”

“पसल पायौ त ?” 

“छैन, खोज्दै छु । पाउनै मुस्किल परिरहेको छ ।”

ससुराबाले वेटरलाई बोलाएर पैसा दिँदै भने— “ल त चाँडो खोज्नु पसल । बेकारी भयौ भने त संसारको कुनै पनि बाबुले तिमीलाई आफ्नी छोरीको हात दिँदैन नि ।”

म चुप लागिरहेँ । उनले दुई कदम अगाडि चालेर मतिर फर्केर फेरि भने— “मैँ पनि दिँदिनँ ।”  बूढा मलाई तर्साएर क्याफेबाट निस्किए । 

निष्ठाको ड्याडी क्याफेबाट निस्किएपछि मेरो मगजमा अनेक कुराहरू मडारिन लागे— “उनले मलाई त्यस्तो प्रश्न गर्नु कति सान्दर्भिक थियो त ? किन त्यस्तो कुरा गर्‍या होला ! कतै मलाई चेक गर्न खोजेको त हैन ? छोरीको नजिकको केटा साथी भएकाले पक्कै शङ्का गरेको हुनुपर्छ ! तर जमाना कहाँदेखि कहाँ पुगिसक्यो अमेरिका पुगेर आको मान्छेको त्यस्तो सोचाइ त नहुनुपर्ने !” 

मेरो मस्तिष्कमा यस्तै प्रश्नहरू घुमिरहेका थिए । आमाबाबुको छोरीप्रतिको शङ्का र छोराप्रतिको विश्वास सम्झिँदै म क्याफेबाट निस्किएर अस्पतालतिर लागेँ । 

अस्पताल पुगेर म तिनै डाक्टरलाई खोज्दै गएँ, जसले मलाई केही दिनअघि “केही समस्या परे मलाई सम्झिनू” भनेका थिए । म सरासर उनको कोठामा बाहिर पुगेँ । उनी भित्रै रहेको सूचना बाहिर लेखिएको ‘इन’ले दियो । मैले ढोका ढकढक्याएँ । उनले मलाई देख्नेबित्तिकै त चिनेनन् तर मेरो मुख हेरेको केही समयपछि चाहिँ, “ए, तिमी पो हौ भाइ, लु भित्र आऊ” भनेर बोलाए । म उनको टेबल अगाडिको कुर्सीमा बसेँ ।

उनले नै सोधे— “अनि, के समस्या परेर आयौ त बाबू ? ममी त सन्चै हुनुहुन्छ नि ?”

म कहाँबाट कुरा सुरु गरुँ, के भनूँ भनेर अलमल्ल परेँ । उनी फेरि बोले— “बोल न बोल, म यहाँ समस्याको समाधन गर्नै बसेको हूँ ।”

उनले त्यति भनिसकेपछि ममीले मलाई बताएको सम्पूर्ण कुरा डाक्टरलाई बताएँ । डाक्टरले मेरो कुरा ध्यानपूर्वक सुने । उनले ममीको मुखबाट खसेको रगतको अवस्थाबारे निक्कै चासो लिँदै सोधे । डाक्टरले ममीको रिपोर्टको फाइल पनि कम्प्युटरबाट चेक गरे अनि भने— “भाइ, अब तिमीले मैले भनेको कुरा ध्यानपूर्वक सुन, मैले अगाडि पनि तिमीलाई ममीको अवस्था निक्कै नाजुक रहेको कुरा भनेकै थिएँ ।

ममीलाई हामीले डिस्चार्ज गरेको बेलामा पनि ममीको शरीरमा त्यति शक्ति थिएन तर क्यान्सरका प्यासेन्ट त्यतिसम्म फ्रेस देखिनु भनेको धेरै ठीक हो भनेर गरेका थियौँ । अरुलाई पनि त्यसरी नै गर्ने गर्छौं तर अब ममीको अवस्था दिन प्रतिदिन गल्दै गएको छ । हामीले ढिलो गरेर हुँदैन । अब यहाँ पार लाग्दैन । मैले इन्डियाको एकजना डाक्टरलाई चिनेको छु, जसले क्यान्सर ट्रिटमेन्ट गरेको तीस वर्ष भइसक्यो । उनी एकदमै बिजी डाक्टर हुन्, तर मैले ममीका लागि समय निकान्ल भनेपछि नाइँ भन्न सक्दैनन् । म उनलाई विराटनगर आउनका लागि अनुरोध पनि गरौँला ! तर खर्च बढी लाग्न सक्छ । उनी आउन नभ्याउने भए भने ममीलाई उतै लानुपर्छ । म भरे फोन गरेर बुझ्छु अनि के गर्ने सल्लाह गरौँला ।”

“म त के जान्छु र सर ? ममीलाई ठीक हुन्छ भने हजुर जसो भन्नुहुन्छ, म त्यसै गर्छु । अनि इन्डियाको डक्टरको नाम चाहिँ के हो सर ?”

“उनको नाम हेमन्त गोयल हो ।”

मैले आश्चर्यजनक भावमा भनेँ— “उहाँलाई पो बोलाउने कुरा हो सर !”

“हो, उनी मेरो चिनजानका हुन् । किन र ! नाम सुनेका थियौ ?”

“धेरै सुनेको छु सर, इन्डियाकै नं. १ मा पर्छन् क्यार !”

“हो, हो एकदम सही अनुमान लगायौ ।” 

“हुन्छ सर, कुरा अगाडि बढाउनुहोस् । म घर पुगेर ममीसँग सल्लाह गर्छु ।”

“उसो भए मलाई तिमी आफ्नो नम्बर दिएर जाऊ । म तिमीलाई बेलुका फोन गरेर जानकारी गराउनेछु ।”

हामीबीच त्यति कुरा भइसकेपछि म डाक्टरलाई आफ्नो फोन नं. दिएर घर फिरेँ । 

घर पुगेर ममीलाई डाक्टरसँग भएको सबै कुरा सुनाएँ । ममी मेरो कुरासँग पूर्ण सहमत हुनुभयो । 

बेलुका चिया लिएर आफ्नो कोठामा पस्दै थिएँ, निष्ठाले फोन गरी । मैले फोन उठाउनेबित्तिकै भनेँ— “के हो, आज त अफिस छुट्टी हुनेबित्तिकै फोन आयो त ?”
उसले हाँस्दै भनी— “कसरी थाहा भयो नि ?” 

“नेपालभरिका अफिस प्रायः ५-६ बजेसम्म त खुल्छन् नि ।”

“है ! कस्तो बाठो के मेरो उल्लू ।”

“उल्लू रे !” 

“अनि के त ! भर्खर ४ः४० हुँदैछ उल्लू ।”

“हो र ! हेर त तिमी गएदेखि समयको पनि ख्याल गर्दिनँ । जिन्दगीलाई बेवास्ता गर्ने भएको छु ।”

“त्यही त है ! आज अफिसको म्यानेजर दाइले हामी दुवैलाई छोडिदिनु भयो क्या । आज त्यस्तो कामको लोड पनि थिएन ।”

“ए, त्यसो पो !” मैले जिस्क्याउँदै भनेँ— “अनि कस्ता छन् नि ती म्यानेजर ? मभन्दा पनि ह्यान्डसम ?”

“अनि त, लास्टै ! फेरि हामीभन्दा ४÷५ वर्षले मात्र जेठा परे ।” 

उसले मलाई जलाउन त्यसो भन्दै थिई । ऊ आफ्नो हरेक वाक्य पछि टुच्च हाँस्थी ।

मैले पनि जिस्काउँदै भनेँ— “म्यानेजरसँगै लभ पर्ला नि !” 

“परे दिवाली आउँथ्यो मलाई, जेठ महिनामै ।”

“त्यस्तो है !”

“अनि के त ! ममीको कुरा गर्‍यौ आज ?”

“गरेँ, यहाँका डाक्टरले इन्डियाबाट डाक्टर झिकाउने कुरा गरेका छन् ।”

“हो र ! अनि अरु ?”

“अब हेरौँ के हुन्छ !” 

“विप्लव, हिम्मतचाहिँ नहार है ! तिमी एक्लै छैनौ म पनि साथमा छु ।”

“थ्याङ्क यू निष्ठा ।”

“पछि फोन गर्छु ल ! अहिले खाना पकाउनु छ ।” 

उसले फोन काटेपछि म पनि किचेन छिरेर ममीलाई बेलुकाको खाना पकाउन मद्दत गर्न थालेँ । बेला–बेला म त्यसै एकोहोरो भएर ममीलाई हेर्थें । त्यसरी हेर्दा मलाई ममीले मेरा लागि गरेको सङ्घर्ष झलझली याद आउँथ्यो । ममी आफ्नो कमजोर शरीर लिएर पनि मेरा लागि बाँचिरहनु भएको छ भन्ने लाग्थ्यो ।

ड्याडी बितेपछि मलाई यो स्थानसम्म पुर्‍याउन ममीले गरेको सङ्घर्षको बयान हजार जिब्रो भएको शेष नागले नि गर्न सक्दैन म के सकूँला र ! ममीले मेरो खाँतिर गरेको सङ्घर्ष, कथा र कवितामा समेटिन सक्दैन त्यसका लागि त बृहत् महाकाव्य नै लेख्नुपर्छ । संसारको जुनै बुबाआमा आफ्नो अन्तिम श्वास रहेसम्म आफ्ना सन्तानका लागि नै बाँच्छन् । सन्तानकै खुसी चाहन्छन् । सन्तानको एक मुस्कानका लागि आफू अनेक दुःख सहन्छन् ।

आफूले नचिनेको अक्षर पढाएर ज्ञानी बनाउनका लागि आफ्नो जीवन अर्पिदिन्छन् । बुबाआमा आफ्नो सपनाको बलि चढाएर सन्तानको सपना पूरा गर्न अहोरात्र लागि पर्छन् । यस्ता बुबाआमालाई मेरो सलाम !

-बुलबुल पब्लिकेशनद्वारा प्रकाशित निमेष पाैडेलकाे उपन्यास ‘फेब्रुअरी १४’ शनिबार काठमाण्डाैमा विमाेचन हुँदैछ ।
 

अन्तिम अपडेट: जेठ १०, २०७६

निमेष पाैडेल

युवा उपन्यासकार पाैडेलकाे यसअघि फाइभ मन्थ्स नामक उपन्यास प्रकाशित छ ।

तपाईको प्रतिक्रिया