काष्ठमण्डप पुनर्निर्माण :  थाम गाडेर सुरु भयो मुख्य काम

 माघ २७, २०७५ आइतबार १६:१८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – गोरखा भूकम्पले ध्वस्त भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको मुख्य काम आइतबारबाट सुरु भएको छ ।

२०७२ वैशाख १२ को महाभूकम्पले पूर्णरुपमा ढलेको हनुमान ढोका दरबार क्षेत्रको काष्ठमण्डपका चारवटा मूल थाम ठड्याइएपछि मुख्य काम थालिएको हो । जेठ ३१ गतेबाट औपचारिक रुपमा पुनर्निर्माणको काम थालिएको करिब आठ महिनापछि मात्र पुनर्निर्माण समितिले काष्ठमण्डपको चारवटा थाम राखेपछि पुनर्निर्माणले मूर्त रुप लिएको हो । 

काष्ठमण्डप पुनर्निर्माणको क्रममा जगको काम सकिएसँगै आइतबार काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य तथा वसन्तपुरबासीले थाम र निनाको विशेष पूजा–आजा गरी ठड्याइएको छ । 

काठमाण्डौ महानगरपालिकाको साढे पाँच करोड आर्थिक सहयोगमा पुनर्निर्माणको काम भइरहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत तथा मौलिक र ऐतिहासिक सम्पदासमेत भएकोले यसको पुनर्निर्माण पुरानै ढाँचामा तीन तला हुने पुनर्निर्माण समितिले बताएको छ ।

भूकम्प गएको लामो समयसम्म काष्ठमण्डप कस्तो बनाउने कस्ले बनाउने विवाद थियो तर अहिले काठमाण्डौ महानगरपालिका तथा जनस्तरबाटै गर्न लागिएको छ । 
पुनर्निर्माणका लागि समितिको महानगरपालिकासँग सम्झौता भएसँगै गत कार्तिक २२ गते काष्ठमण्डपको शिलान्यास गरिएको थियो ।

तस्बिर-काष्ठमण्डप पुनर्निर्माण समिति

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया