काठमाण्डाै महानगरपालिकाद्वारा ९ नगरपालिकालाई १/१ करोड रुपैयाँ हस्तान्तरण

 माघ २७, २०७५ आइतबार १६:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले  नौ वटा नगरपालिकालाई १/१ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गरी काठमाण्डाै महानगरपालिका (कामपा‍)का मेयर विद्यासुन्दर शाक्यले नौ वटा नगरपालिकालाई ‘नगर–नगर साझेदारी’ कार्यक्रम अन्तरगत १/१ करोड रुपैयाँ हस्तान्तरण गर्ने भएको हो ।

हरेक नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने परियोजनामा खर्च गर्ने गरी महानगरपालिकाले सो रकम हस्तान्तरण गरेको कामपाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिन’ भयो . उहाँले सो बजेट तोकिएको परियोजनामा खर्च नगरे सम्बन्धित नगरपालिकाले ब्याजसहित फिर्ता गर्नुपर्ने सर्त पनि राखिएको जानकारी दिनुभयो ।

सम्झौताअनुसार कीर्तिपुर नगरपालिकाले ‘युद्ध स्मारक पार्क’ निर्माण गर्नुपर्नेछ । त्यसैगरी शंखरापुर नगरपालिकाले बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान, कागेश्वरी मनोहरा नगरपालिकाले कागेश्वरी मन्दिर र त्यस वरपरको क्षेत्रलाई समेटी पवित्र कागेश्वरी धाम निर्माण गर्नुपर्नेछ ।

यस्तै, गाेकर्णेश्वर नगरपालिकाले राष्ट्रिय शहीद तथा शान्ति पार्क क्षेत्र भित्र गोकर्णेश्वर पार्क निर्माण गर्ने, बुढानिलकण्ठ नगरपालिकाले हात्तिगौंडामा बुढानिलकण्ठ पार्क, तारकेश्वर नगरपालिकाले तारकेश्वर धाम, नागार्जुन नगरपालिकाले डाँडा पौवामा गणेशमान स्मृति पार्क, चन्द्रागिरी नगरपालिकाले उद्यान निर्माण र दक्षिणकाली नगरपालिकाले दक्षिणकाली मन्दिर वरपर बहुउद्देश्यीय उद्यान, झरना, बाल उद्यान, मन्दिरको सिँढी तथा पर्खाल निर्माण गर्ने समझदारी भएकाे छ ।

कार्यक्रममा बाेल्दै सूचना अधिकारी आचार्यले चालू आर्थिक वर्षको बजेटबाट सबै नगरपालिकालाई सो रकम हस्तान्तरण गरिएको पनि जानकारी दिनुभयो ।

सम्झौताअनुसार महानगरपालिकाले हरेक वर्ष त्यस परियोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्नेछ । दिइएको बजेट तोकिएको परियोजनामा खर्च नगर्ने नगरपालिकाले महानगरपालिकालाई व्याजसहितको रकम बुझाउनुपर्ने सर्त छ ।

काठमाण्डाै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौं महानगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन हरेक नगरपालिकासँग साझेदारी कार्यक्रम संचालन गरेको पनि स्पष्ट पार्नुभयो ।

काठमाण्डाै महानगरपालिकाले यसअघि नै टोखा नगरपालिकालाई १ करोड रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया