फेरियो प्रधानमन्त्री ओलीको बोली : कुनै पनि सार्वभौम देशमाथि विदेशी हस्तक्षेप अमान्य

 फागुन १, २०७५ बुधबार १५:२९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न खुबै प्रयास भइरहे पनि त्यस्तो प्रयास सफल नहुने स्पष्ट पार्नुभयो ।  

बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सार्वभौम र स्वतन्त्र देश नेपालको अन्तर्राष्टिय सम्बन्ध बिगार्न खोज्ने कसैको प्रयास पनि सफल नहुने दाबी गर्नुभयो । 

नेपालको परराष्ट्र नीति स्पष्ट र पारदर्शी रहेको भन्दै उहाँले पारदर्शी ढंगले नै अन्तर्राष्ट्रिय मञ्च र छिमेकी देशसँगको सम्बन्ध कायम रहेको पनि बताउनुभयो । 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कहीँ कतै कुनै देशमा आन्तरिक समस्या रहेको छ भने त्यो देशको समस्या त्यहीँका नागरिकले समाधान गर्ने भन्दै त्यसमा बाह्य हस्तक्षेप हुनु उचित नहुने बताउनुभयो । 

भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विषयतर्फ इंगित गर्दै उहाँले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तअनुरुप अघि बढेको पनि प्रष्ट पार्नुभयो । 

यसअघि नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै त्यसको कडा शब्दमा विरोध जनाउनुभएको थियो । 

केही दिनअघि एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने भेनेजुएला सम्बन्धमा प्रचण्डको जिब्रो चिप्लिएको हुन सक्ने भन्दै अमेरिकी हस्तक्षेपको समर्थनमा बोल्नुभएको थियो । प्रचण्डको भनाइ सार्वजनिक भएसँगै अमेरिकाले सरकारको धारणा माग गरेको थियो । 

तर बुधबार संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तअनुरुप नेपालको विदेश नीति यथावत रहेको भन्दै कुनै देशको समस्यामा बाहिरी देशको हस्तक्षेप हुनु उचित नहुने बताउनुले प्रधानमन्त्री ओलीको बोली फेरिएको देखिएको छ ।  

पछिल्लो समय एक अध्यक्ष प्रचण्डले सरकार मनलाग्दी रुपमा हिँडेको भन्दै अर्को माओवादी जन्मन सक्ने भनेर चेतावनी दिनु र यही बेला प्रधानमन्त्री ओलीको बोली फेरिएर  प्रचण्डले भनेकै कुरामा सहमति जनाउनुलाई उनलाई फकाउने रुपमा आएको कतिपयले विश्लेषण गरेका छन् । 

नेपालको कसैसँग दुश्मनी नरहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय सम्बन्धमा खेलेर फाइदा लिन खोज्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभयो । छिमेकीसँग होस वा अन्य देशसँग कसैले कुनै प्रकारको असमझदारी बढाउने प्रयास गर्छु भन्यो भने त्यो प्रयास सफल नहुने बताउनुभयो ।  

असमझदारी बढाएर फाइदा लिन्छु भन्ने बुद्धि अब देश विकासमा लगाउन आग्रह गर्दै उहाँले यस्ता कुरामा लाग्नु भनेको समयको बर्बादी मात्रै हो भन्नुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया