विदेशले स्वदेशमा गरिखान सक्ने बनायो

 फागुन ८, २०७५ बुधबार १४:८:३७ | मेरो कथा मेरो भोगाई

लक्ष्मण घिमिरे/लुम्दे इलाम । 

म दुई पटक मलेसिया गएँ । मलेसियामा पैसा त कमाउन सकिनँ तर स्वदेशमै गरिखान सक्ने सीप कमाएँ । त्यही सीपको प्रयोग गरेर अहिले आफ्नै ठाउँमा गरिखान सक्ने भएको छु ।

२०६६ सालमा म पहिलो पटक मलेसिया गएको थिएँ । त्यो बेला म १७ वर्षको मात्रै थिएँ । सानो उमेरमै परदेश पुग्दा निकै अप्ठ्याराहरु सहन पर्‍यो । कम्प्यूटरको हार्डडिक्स बन्ने कम्पनीमा थियो काम । भाषा र काम नजान्दा जस्तो सास्ती अर्काको देशमा दोस्रो केही हुँदैन जस्तो लाग्छ मलाई । करार अवधि सकिएपछि घर फर्किएँ । 

घरमा पनि के गरेर बस्ने । फेरि विदेश नै जाने सोच आयो । विदेश जाने चाँजोपाँजो मिलाउँदा मलेसिया नै जाने मेसो मिल्यो । २०७० सालमा मलेसियानै गएँ । दोस्रो पटक मलेसिया जाँदा मलै विमानस्थलदेखिनै खास्ती खेप्नुपर्‍यो ।

मसँगै गएको साथीले ‘बोर्डिङपास’ हराएछ । मलेसियन प्रहरीले माग्दा देखाउन सकिएन । त्यसपछि त विमानस्थलमै समातिहाल्यो । कति साथीले त कुटाइ पनि खाएइरहेका थिए ।

धन्न हामी कुटाइबाट भने जोगियौं । दुई तीन रिंगिटको खाना थियो होला तर प्रहरीले दश रिंगिट मागे । नदिनेलाई खाना पनि दिएनन् । झण्डै १८ घण्टापछि कम्पनीमा गइयो । 

पहिलेनै गइसकेकाले मलेसियाको वातावरण नयाँ नभएपनि मेरा लागि काम नयाँ थियो । फर्निचरको काम मैले त्यसअघि जानेको थिइनँ । काम त राम्रो नै हो तर कम्पनीमा धेरै कागपत्र नभएकाहरु पनि काम गर्ने रहेछन् । त्यसको मारमा म पनि परेँ। 

प्रहरीले दुई पटक पक्राउ गर्‍यो । हामीसँग जलान कार्ड (परिचयपत्र) र पासपोर्टको फोटोकपी हुन्थ्यो तर त्यहाँको प्रहरीले त्यसले नमान्ने रहेछ । जेलमा त साह्रै दुःख दिने रहेछ । 

सात जनालाई एउटै साङ्लोले बाध्ने, ट्वाइलेट जाँदा पनि फुकाल्न नदिने । ती दिन सम्झिँदा त अहिले पनि आङ् जिरिङ हुन्छ । तीन वर्ष करार अवधि छउञ्जेल काम गरियो । कति कमाइयो भन्ने हिसाब राखिएन । फर्किंदा साथमा एक डेढ लाख रुपैयाँ थियो । तर मैले दोस्रो पटक मलेसिया जाँदा पैसाभन्दा पनि सीप कमाएँ ।

२०७४ फागुनमा घर फर्किएपछि इलाम बजारमा साथीसँग मिलेर फर्निचर उद्योग चलाइहेको छु । २०७५ वैशाखमा हो फर्निचर उद्योग खोलेको । विदेशमा त्यही सीप सिकेर फर्किएकाले यहाँ काम गर्न सजिलो भएको छ ।

मलाई विदेशमा छँदा नै यतिको दुःख त आफ्नै ठाउँमा गरियो भने धेरै हुन्छ भन्ने लाग्थ्यो । अहिले राम्रो भइरहेको छ । कमाइ पनि विदेशको बराबर नै छ । त्यहाँ पनि धेरै कमाएको भनेको महिनामा २० देखि ३० हजार रुपैयाँ हो । यहाँ पनि त्यती त सजिलै कमाइन्छ । 

तर यहाँ काम गर्दा धेरै फाइदा छ । जस्तो कि विदेशमा म सिकिस्त बिरामी परेँ भने पनि सँगैको साथीले मलाई छाडेर काममा जानुपथ्र्यो । उसले साथीभन्दा काम ठूलो मान्नुपर्ने हुन्छ । तर यहाँ सबैको साथ र सहयोग हुन्छ । 

यहाँ काम गर्ने तरिका फरक छ । मेसिनहरु फरक छन् । तर दुःख कम छ । कमाइ चाहिँ विदेशको जतिनै छ । विदेशको भन्दा थोरै होस् तर आफ्नो देशमा काम गर्दा चित्त बुझ्छ ।

७५ हजारमा किनेको फर्निचर उद्योगमा अहिले मेसिनहरु थप्दै बढाउँदै लगेका छौं । अब जस्तो परिस्थिती आएपनि विदेश जान्न । यही कामलाई निरन्तरता दिने योजना छ । 

अन्तिम अपडेट: बैशाख ११, २०७६

तपाईको प्रतिक्रिया