साउदी राजकुमारलाई पाकिस्तानी सांसदले दिए सुनको जलप लगाइएको मेसिनगन उपहार

 फागुन १०, २०७५ शुक्रबार ७:५१:४६ | एजेन्सी
unn.prixa.net

विदेश भ्रमणमा गएका बेला उपहार ग्रहण गर्नु प्रतिष्ठित व्यक्तिहरुका लागि कुनै नौलो कुरा होइन । विश्वमा उपहारका रुपमा क्युबाली सिगार र फ्रेन्च वाइन प्रसिद्ध छन् ।

नेपालकै कुरा गर्ने हो भने पनि नेपाल भ्रमणमा आउने उच्चपदस्थ व्यक्तिलाई बुद्धको प्रतिमा उपहार दिने चलन नै रहेको छ । 

तर पाकिस्तानी सांसदको टोलीले  साउदी राजकुमार मोहम्मद बिन सलमानलाई दिएको उपहारले भने सबैलाई अचम्ममा पारिदिन्छ । 

गएको आइतबार पाकिस्तानको दुईदिने राजकीय भ्रमणमा आएका राजकुमार सलमानलाई पाकिस्तानका सांसदको एउटा टोलीले सुनको जलप लगाइएको मेसिन गन उपहार दिएको छ । राजकुमार सलमानलाई जर्मन इञ्जिनियरले बनाएको ‘हेक्लर एण्ड कोच एमपी ५’ सबमेसिन गन उपहार दिइएको हो । 

पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न भएको आरोप लागिरहँदा हतियार उपहार दिनुले सबैलाई अचम्मा पारेको छ । 

पाकिस्तानले राजकुमार सलमानको सम्मानमा २१ तोपको सलामी दिनुका साथै आकाशमै सेनाको जहाजले समेत स्कर्टिङ गराएको थियो । त्यस्तै पाकिस्तानी राष्ट्रपति अरिफ अल्वीले राजकुमार सलमानलाई पाकिस्तानको सर्वोच्च नागरिक सम्मान ‘निशान–ए–पाकिस्तान’ बाट सम्मानित गरेका थिए । 

त्यस्तै साउदी राजकुमार सलमानकै भ्रमणका क्रममा दुई देशबीच २० अर्ब अमेरिकी डलरको सम्झौता भएको छ । पाकिस्तानको अर्थव्यवस्थालाई बलियो बनाउनका लागि त्यो सम्झौता भएको भनिए पनि कुन–कुन क्षेत्रको विकास हो भन्ने भने खुलाइएको छैन ।

साउदी राजकुमारलाई पाकिस्तानको सम्मान : आकाशमै सेनाको जहाजद्वारा स्कर्टिङदेखि निशान–ए–पाकिस्तानसम्म

दुई दिने भ्रमणमा रहेका साउदी राजकुमारलाई भव्य स्वागत र सम्मान दिएर पाकिस्तानले साउदीसँग आफ्नो विशेष सम्बन्ध छ भन्ने सन्देश भने दिएको छ ।

साउदी राजकुमार मोहम्मद बिन सलमान क्षेत्रीय भ्रमणमा निस्केका छन् । पाकिस्तानपछि भारत आएका उनलाई प्राटोकल तोडेरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थलमा लिन पुगेका थिए । 

राजकुमार सलमान अहिले चीनमा रहेका छन् । चीन साउदी अरबको प्रमुख व्यापारिक साझेदार हो । चीनले साउदी राजकुमारसँग वान बेल्ट रोडका बारेमा छलफल गर्ने सम्भावना रहेको बताइएको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया