सरकारी कार्यालयमा काम गराउन ‘रेडबुल’ र पैसा दिनुपर्छ र ?

 फागुन १३, २०७५ सोमबार १२:५१:२० | उमा पौडेल

उमा पौडेल/सिन्धुली ।

कृष्णकुमारी रमौली । उनले केही भनिनन् । तर मेरो मनमा धेरै प्रश्न जन्मिए । लामो समयदेखि काठमाण्डौ बस्दै आएकी उनी गएको आइतबार पासपोर्ट बनाउन सिन्धुली आएकी थिइन् ।

उनलाई त्यही दिन पासपोर्ट बनाएर काठमाण्डौ फर्किनुपर्ने रहेछ । हतारोमा काम छिटो होस् भन्ने चाहाना थियो होला सायद ।  त्यसैले हस्याङ्फस्याङ् गर्दे मेरो कार्यकक्षमा पसेकी उनले टेबुलको एकछेउमा रेडबुल राखेर भनिन् ‘म्याम यहाँ छाप लगाउनुपर्छ रे छिटो गर्दिनुस् न है, मेरो आजै काठमाण्डौ फर्कनुपर्ने छ ।’

मैले उनीसँग ७ मिनेटमा आफ्नो कुरा सकें । सुरुमा टेबुलमा राखेको रेडबुल उनले मेरो लागि ल्याइदिएकी हुन् भन्ने अनुमान नै गरिनँ । तर उनले त्यहाँबाट निस्कने क्रममा जबर्जस्ती रेडबुल मेरो हातमा हालिदिएपछि लाग्यो शायद छिटै काम गरिदेओस भन्ने अपेक्षाले रेडबुल बोकेर आएकी रहिछन् । 

कृष्णकुमारीलाई जति नै हतार भए पनि कृष्णकुमारीसँग यो रेडबुल किन ल्यायौ भनेर सोध्न मन थियो । तर उतिबेलै काठमाण्डौ फर्किहाल्ने उनलाई रोक्ने समय म आफैसँग थिएन । किनकी अरु सेवाग्राहीआफ्नो काम गराउन पर्खिरहेका थिए । 

घटना २ : वैदेशिक रोजगारीको सिलसिलामा श्रीमान् गुमाएकी बुधमाया आले गएको वर्ष क्षतिपूर्तिका लागि भन्दै हाम्रो कार्यालयमा आइन् । लेखपढ गर्न नजान्ने अनि पाको उमेरकी उनी तीनपाटनबाट बल्लतल्ल सिन्धुली आइपुगेकी थिइन् । 

उनलाई क्षतिपूर्ति पाउने प्रक्रियाबारे न कुनै जानकारी थियो, न त क्षतिपूर्ति लिनका लागि आवश्यक कागजी प्रमाण । हामीले सम्बन्धित निकायसँगको समन्वयमा उनको नाता प्रमाणितदेखिका सबै कागजात तयार पार्न सहयोग गर्‍यौं । 

क्षतिपूर्ति लिन सिन्धुली सदरमुकाममा आएकी उनी माढीबजारमै बास बस्नुपर्ने भयो ।  बास बस्न चिनेजानका आफन्त थिएनन् । होटलमा बस्न डर लाग्ने अनि आफन्त पनि नभएपछि बुधमाया सदरमुकाममा अलपत्र परेकी थिइन् । 

मेरो एक जना साथीले उनलाई आफ्नै घरमा लगेर राख्नुभयो । अर्को दिन बुधमाया घर फर्किइन् । हामीले सबै प्रक्रिया पूरा गरिदिएपछि केही दिनमा बुधमायाको क्षतिपूर्ति आयो । उनले फोनबाट आफू पैसा लिन सदरमुकाम आउने बताइन् । 

बुधमाया क्षतिपूर्ति बापतको रकम झिकेर हाम्रो कार्यालयमा आइन् । सबैलाई धन्यवाद दिएर निस्किएकी बुधमायाले मेरा सहकर्मी साथीलाई पछ्याइरहेको देखेर म अलमल्ल परें । मेरा सहकर्मी नाई नाई भन्दै थिए । तर बुधमाया बाबु केही हुन्न क्या भन्दै थिइन् । 

के भएको हो भनेर मैले एकछिनसम्म बुझिनँ । केही समयमा नाई नाई र बाबु केही हुन्न क्या भन्नुको कारण थाहा पाएँ । क्षतिपूर्ति रकम दिलाउन सहयोग गरेको भन्दै बुधमायाले हाम्रा सहकर्मीलाई दुई हजार रुपैयाँ दिन खाजेकी रहिछिन् । 

हामी दुवैजना मिलेर बुधमायालाई यो हाम्रो जिम्मेवारी नै हो, यही काम गर्नका  लागि हामीलाई  सरकारले तलब दिन्छ भनेर बुझाउन खोज्यौं । तर उनी नमानेपछि हामीले ‘हेर्नुस् दिदी यो पैसा तपाईंले दिएको र हामीले लिएको थाहा भयो भने त पुलिसले थुन्छ’ भन्नुपर्‍यो ।  

प्रहरीको नाम भनेपछि बुधमाया डराइन् र एकै सासमा भन्न भ्याइन् ‘अफिसमा २/४ हजार रुपैयाँ दिएपछि छिटो काम हुन्छ भन्ने सुन्याथ्यो हैन रैछ ।’ त्यति भनेर बुधमाया बाटो लागिन् । 

घटना ३ : कान्छीमाया वाइबा । मातृभाषा प्रष्ट बुझ्छिन् तर नेपाली भाषा बुझ्न र बोल्न उनलाई हम्मेहम्मे पर्छ । मैले उनका बारेमा सामान्य कुरा सोध्दा कान्छीमाया लाजले सारीको छेउ टोकेर बसेकी छिन् । उनी छेउमै बसेर बोल्दा पनि बोली बुझिँदैन । स्वर निक्कै सानो छ । 

उनी ४३ वर्षकी भइन् । कान्छीमाया विदेश जान भनी पासपोर्ट बनाउन आएकी हुन् । उनलाई कुन देश जाने, विदेशमा गएर के काम गर्ने भन्ने केही जानकारी छैन । उनका कुरा सुनेपछि मैले उनी बस्तीपुरबाट सिन्धुलीमाढी एक्लै आउने आँट राखिनन् भन्ने बुझें ।

कान्छीमायालाई सोधें, ‘पासपोर्ट बनाउन कोसँग आउनुभएको ?’‘श्रीमान् छ बाहिर ।’ कान्छीमायाले भनिन् । मैले श्रीमान्लाई भित्र बोलाउन भनें । कान्छीमायाका श्रीमान्ले आफू घरमा बसेर श्रीमतीलाई विदेश पठाउनुको कारण खुलाए ‘म मेडिकल फेल भएर यसलाई कमाउन विदेश पठाउन लागेको ।’

श्रीमानले विदेश पठाउन लागेका कान्छीमायासँग कुनै सीप छैन । उनी प्रष्ट बोल्न समेत हिच्किचाउँछिन् । यस्तो अवस्थाकी महिलालाई वैदेशिक रोजगारीमा पठाउँदा के हालत होला ? कान्छीमाया विदेश जाँदा हुने जोखिमबारे श्रीमान् श्रीमती दुवैलाई झण्डै आधा घण्टा सम्झाएँ । 

घरेलु काममा जान सरकारले रोकेको कुरा पनि सुनाएँ । अनि पासपोर्ट बनाउन कान्छीमायाको नागरिकता फोटोकपी पछाडि छाप लगाउन नमिल्ने भन्दै फर्काइदिएँ । कान्छीमायाको पासपोर्ट रोक्ने अधिकार मसँग छैन । न त अरु कसैसँग नै छ । सबै कागज पुर्याएर गएपछि जिल्ला प्रशासन कार्यालय पनि पासपोर्ट दिन बाध्य हुन्छ । 

तर कान्छीमायालाई मैले पासपोर्ट बनाउन रोक्न मिल्दैन भन्ने कुरा पनि थाहा थिएन । तर मैले यदि पासपोर्टका सिफारिस गरिदिएँ भने अवैधानिक रुपमा विदेश पुर्‍याएर अलपत्र पार्छन् भन्ने लागेर फर्काएको थिएँ । 

कान्छीमाया र उनका श्रीमानलाई फर्काइदिएको केही समयपछि कान्छीमायाका श्रीमान आएर भने ‘लौन मेडम मिल्छ भने मिलाइदिनुस बरु हजुरलाई यसो हेरौंला नि ।’ नागरिकताको फोटोकपी पछाडि छाप लगाइ दिएबापत केही रकम अथवा उपहार दिने कुरा उनको बोलीबाट प्रष्ट झल्किन्थ्यो ।

त्यसपछि मैले ‘मलाई हेर्ने भन्नुभएको होइन, जतिबेरसम्म हेर्न मन लाग्छ हेर्नुस् तर तपाईंको श्रीमतीको पासपोर्ट बनाउनै मिल्दैन’ भनें । यति भनेपछि उनले मेरो भनाईको आसय सायद बुझे होला अनि जुरुक्क उठेर हिँडे ।  

यी मैले अनुभव गर्न पाएका र प्रत्यक्ष देखेका केही प्रतिनिधि घटना हुन् । जसले समाजको बुझाइको  प्रष्ट झल्को दिन्छ । इतिहासको अध्ययन गरेका सिन्धुलीका सागरकुमार ढकालका अनुसार धीर शमशेर नेपालमा सबैभन्दा पहिलो घुस लिने व्यक्ति हुन् ।

राणाकालमा प्रधानमन्त्री जंगबहादुर राणाले आफ्ना कान्छा भाइ जर्नेल धीर शमशेरलाई तत्कालीन ढाक्रेहरुलाई फौजमा भर्ना गर्ने जिम्मेवारी दिँदा धीर शमशेरले ढाक्रेहरुबाट केही रकम लिई फौजमा भर्ना गरेको घटना नेपालको इतिहासमा दर्ता भएको पहिलो भ्रष्टाचार सम्बन्धी घटना हो । 

धीर शमशेरले १९३९ तिर ढाक्रेलाई फौजमा भर्ती गर्न भनी १ लाख ५० हजार नेपाली मोरु लिएका थिए । राणाकालपछि नेपालमा प्रजातन्त्र, पन्चायती व्यवस्था, बहुदलीय व्यवस्था, लोकतान्त्रिक व्यवस्था हुँदै गणतान्त्रिक व्यवस्था गरी धेरै शासन व्यवस्था फेरिए । तर भ्रष्टाचार गर्ने परिपाटी भने उस्तै छ । बरु भ्रष्टाचार झनै झाँगिएको छ । 

भ्रष्टाचार नियन्त्रणका लागि नेपालमा कानुनको कुनै कमी छैन । भ्रष्टाचार निवारण ऐन २०५९ ले भ्रष्टाचार सम्बन्धमा न्युनतम ३ महिनादेखि अधिकतम १० वर्षसम्म जेल सजायको व्यवस्था गरेको छ । भ्रष्टाचार नियन्त्रण अथवा सुशासनका  लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग, ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल, गोगो फाउण्डेशन लगायतका सरकारी तथा गैरसरकारी निकाय क्रियाशिल छन् । 

यी त संस्थागत संरचना भए । यहाँ त नेतादेखि नागरिकसम्मले भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नारा लगाइरहेका छन् । तर भ्रष्टाचार विरुद्ध काम गर्दैै आइरहेको ट्रान्सपरेन्सी इन्टरनेशलनले लगभग १ सय ६० देशमा अध्ययन गरी केही वर्षदेखि सार्वजनिक गर्दे आएका देशहरुको अंकलाई हेर्दा नेपालले ३० अंक मात्रै प्राप्त गरेको छ ।

ट्रान्सपरेन्सीले ५० भन्दा कम अंक प्राप्त गर्नेलाई धेरै भ्रष्टाचार हुने देशको सूचीमा राखेको छ । दक्षिण एसियाली देशहरुमध्ये नेपाल, बंगलादेश र अफगानिस्तानपछि तेस्रो सबैभन्दा भ्रष्ट देश हो । आफूले देखेका यी घटना र भ्रष्टाचार हुने देशहरुमा नेपालअघि नै रहेको तथ्याङ्क हेर्दा हाम्रो बानी पनि एउटा कारण हो भन्ने लागिरहेको छ । 

पासपोर्ट बनाउन आउने कृष्णकुमारी जस्ताले रेडबुल किन खुवाउनुपर्‍यो ? बुधमाया जस्ता आफ्नो काम गर्न आउनेहरुले किन पैसा दिन खोज्नुपर्‍यो ? अनि सरकारले रोके पनि विदेश जान जसरी पनि पासपोर्ट बनाउन खोज्ने कान्छीमायाका श्रीमान जस्ता नागरिकले किन पैसाको प्रलोभन देखाए ? 

यसमा उनीहरुको बुझाइ घुस दिएपछि जस्तो पनि काम हुन्छ भन्ने हो । यसमा उनीहरुसँग हाम्रो काम गर्ने परिपाटी पनि दोषी छैन भन्न सकिन्न । कृष्णकुमारी, बुधमाया र कान्छीमायाको श्रीमान्ले पैसा दिए काम हुन्छ भन्ने सुनेको र देखेको भएर नै त्यस्तो गरेका हुन् ।

त्यसैले भ्रष्टाचार रोक्न सबैभन्दा पहिला हामी नागरिक आफैं फेरिनु जरुरी छ । अनि सरकारी कार्यालयहरुको कार्यशैली पनि । कार्यालयहरुको कार्यशैली फेर्न पनि नागरिकको व्यवहारले ठूलो भूमिका खेल्छ । 

(उमा पौडल, सुरक्षित आप्रवासन सामी परियोजना सिन्धुलीको कार्यक्रम संयोजक हुनुहुन्छ ।)

अन्तिम अपडेट: असार ४, २०७६

2 Comments

  • मधु विलास पण्डित

    Feb. 27, 2019, 5:28 p.m.

    लेख मनपर्‍यो । हामी कर्मचारीहरुकै गल्ती छ । नागरिक जान्ने बुझ्ने भै सकेका छैनन । आफ्नो काम आफै गर्न सक्दैनन । नागरिकता लिन, राहदानी बनाउन, घरजग्गा पास गर्न विचौलिया मार्फत नगई काम हुदैन । भए पनि प्रक्रिया के हो, कसरी पुरा गर्नुपर्छ भन्ने जानकारी हुदैन । जवसम्म राज्य आँफैले नागरिकका कामको जिम्मेवारी लिंदैन तवसम्म यो चलन यथावत चलिरहन्छ । कुनै एउटा व्यक्तिले राम्रो काम गरेर मात्रै हुंदैन त्यो राम्रो काम त्यो कर्मचारी संगै जान्छ । यसलाई संस्थागत गर्नुपर्छ । कार्यालयमा विचौलिया बन्द गराउनु पर्छ र window system लागु गर्नुपर्छ । एउटा झ्यालबाट कागजात बुझाए पछि निश्चित समयमा अर्को झ्यालवाट कार्य सम्पन्न भएको पत्र पाउने व्यबस्था गर्नुपर्छ । सवै कागजात पुगेर पनि निश्चित समयमा काम नगर्ने कर्मचारीलाई सजाँय दिई सेवाग्राहीलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ । समयमै काम सम्पन्न गरि सेवाग्राहीलाई संतुष्ट पार्ने कर्मचारीलाई राज्यले सम्मान गर्नुपर्दछ । जवसम्म अतिरिक्त आम्दानी गर्ने कर्मचारीलाई समाजले सम्मान गरिरहन्छ तवसम्म रेडबुल र पैसाको चलखेल भईरहन्छ ।

  •  0 Reply
  • usha

    Feb. 25, 2019, 1:43 p.m.

    owo super story motu

  •  0 Reply

तपाईको प्रतिक्रिया