कांग्रेससहित विभिन्न राजनीतिक दलद्वारा मन्त्री अधिकारीकाे निधनप्रति दु:ख व्यक्त

 फागुन १५, २०७५ बुधबार १८:१४:४४ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाली काङ्ग्रेसले ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकोमा गहिरो दुःख व्यक्त गरेको छ । 

पार्टी सभापति शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गरी विद्यार्थी जीवनदेखि सङ्घर्ष गरेर अघि बढ्नुभएका मन्त्री अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य भएकाे बताउनुभएको छ । 

सभापति देउवाले मन्त्री अधिकारीको असामयिक निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी ‍(नेकपा) र उहाँको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल पर्यटन व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको उहाँले समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ । 

दुर्घटनामा ज्यान गुमाउनुभएका सबैको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा शोक सहने शक्तिका लागि भगवानसँग प्राथना गर्दै पार्टीले दुर्घटनाको कारण पत्ता लगाउन सरकारसँग आग्रह गरेको छ । 

राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि मन्त्री अधिकारीसहित हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाउनेकाे दु:ख प्रकट गर्नु भएकाे छ ।

यसैबीच विवेकशील साझा पार्टीले हेलिकोप्टर दुर्घटनामा परी पर्यटन तथा नागरिक उड्ययनमन्त्री अधिकारीसहित सात जनाको निधन भएको खबरले पार्टी स्तब्ध भएको जनाएको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरिएको पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

यसै खबरले विवेकशील नेपाली दल पनि स्तब्ध बनेको छ । विवेकशील नेपाली दलले विज्ञप्ति जारी गर्दै यस दुखद् घडीमा हामी मृतकहरूप्रति भावपूर्ण श्रद्धान्जली एवं शोक सन्तप्त परिवार अनि आफन्तजनहरू प्रति हार्दिक समवेदना प्रकट गरेका छन् । यसरी बारम्बार भइरहने हवाइ दुर्घटनालाई न्यून गरी नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित तुल्याउन गम्भीरतापूर्वक तुरुन्तै आवश्यक कदम चाल्न समेत नेपाल सरकारलाई अनुरोध गरेकाे छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया