शाेकमा डुब्याे दार्चुला : जीप दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै सनाखत भयाे

 फागुन १८, २०७५ शनिबार १०:४१:८ | रासस
unn.prixa.net

दार्चुला-तिंंकर सडक अन्तरगत दुहुँ ३ राताकाठा भिरमा शुक्रबार राति भएको जीप दुर्घटना । तस्बिर- नरेन्द्रसिह कार्की / /रासस ।

दार्चुला - दार्चुला-तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३, राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जीप दुर्घटनामा ज्यान गुमाउने  सबैको सनाखत भएको छ । 

सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नम्बरको जीप दुर्घटनामा परि ११ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । दुर्घटनामा ११ को घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा दार्चुलाका नौ जना र बैतडीका दुई जना यात्रु छन् । 

सशस्त्र प्रहरी नायव उपरीक्षक भीमबहादुर चन्दका अनुसार मृत्यु हुनेमा दुहुँ गाउँपालिका–१ का ५३ वर्षीया मानमती भट्ट, ४५ वर्षीया गौमती बम, ७१ वर्षीया धानाम बम, २४ वर्षीय धनबहादुर बम, वडा नम्बर २ का ४१ वर्षीय कल्यानसिंह बडाल र उनकी १७ वर्षीया छोरी निर्मला (निरु) बडाल, त्यसै ठाउँका ३५ वर्षीया परुली धामी रहेका छन् । 

यस्तै दुहुँ गाउँपालिका–४ का ५५ वर्षीया अमरा बम, सात वर्षीया आयुषा बम तथा बुहारी माइती घर पुर्‍याउन आएका बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ का ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम चन्द रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो । 

जीप चालक दीपकसिंह धामी गम्भीर घाइते भएपछि गए राति नै उपचारको लागि भारतको पिथौरागढ सिफारिस गरिएको छ । उहाँको टाउको र खुट्टामा चोट लागेको स्वास्थ्य सहायक डम्मरदत्त भट्टले बताउनुभयो ।

चार दिनअघि त्यस क्षेत्रमा पहिरोमा परि एकको मृत्यु भएको थियो । पहिरो गएको क्षेत्रमै जीप दुर्घटना भएको हो । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर पर्छ । 

क्षमताभन्दा बढी यात्रु र सामान भएका कारण दुर्घटना भएको हुनसक्ने स्थानीय हिक्मतबहादुर बमले बताउनुभयो । त्याे सडकखण्ड उकालो छ । 'पहिरो आएको कारण सडक सुधार भएको थिएन', बमले भन्नुभयो, 'रातिको समयमा जीप चलाउँदा दुर्घटना भएको हुनसक्छ ।' दार्चुला–तिङ्कर सडकमा गएकाे वर्षदेखि जिल्ला यातायात व्यवस्थापन समितिले राति जीप सञ्चालनमा रोकसमेत लगाएको थियो । विगतमा राताकाठा क्षेत्रमा जीप सञ्चालनमा रोकसमेत लगाइएको हो । साँघुरो बाटो र ट्याक्टरका कारण सडक खाल्डाखुल्डी छन् । 

जीप दुर्घटनाका सबै मृतकहरुको शव जिल्ला अस्पतालमा राखिएको छ । अहिले शव परीक्षणकाे काम भैरहेकाे  छ । अहिले अस्पतालमा आफन्तहरुको भिड लागेको छ ।

यो वर्षकै ठूलो जीप दुर्घटनाका कारण जिल्ला शोकमा डुबेको छ । आफन्तहरुको अस्पतालमा रुवावासी चलेको छ । पाँच सिट पास भएको जीपमा ११ जना यात्रु बोक्नु र उकालोमा ब्रेकले काम गर्न नसक्दा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया