सेना दिवसमा शस्त्राभ्यास हुँदै

 फागुन २०, २०७५ सोमबार ७:४३:५३ | रासस
unn.prixa.net

काठमाण्डौ – सोमबार महाशिवरात्री तथा सेना दिवस देशरभर मनाइँदै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने कार्यक्रम तय गरेको छ ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्री तथा सेना दिवसकै अवसरमा सोमबार आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । 

सैनिक मञ्चको समारोहमा परेड (शस्त्राभ्यास) र तोप बढाइँ, विपद् व्यवस्थापन अभ्यास तथा इज्जत अर्पण कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।  सेनाको प्रयोगमा रहेका हात हतियार र उपकरणको प्रदर्शनी तथा  सातै प्रदेशको सांस्कृतिक भेषभूषा र रहनसहन झल्कने झाँकी प्रस्तुत गरिने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिनुभयो । 

त्यस अवसरमा प्रधान सेनापति पूर्णचन्द्र थापाले उत्कृष्ट कार्यसम्पादन गर्ने गण र गुल्मलाई पुरस्कार तथा नयाँ गण र गुल्मलाई निशान प्रदान गर्नुहुनेछ । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । सेना दिवसकै उपलक्ष्यमा जङ्गीअड्डामा मङ्गलबार साँझ विशेष समारोहको आयोजना हुनेछ ।

सेनाबाट हुँदै आएको योगदान

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । नेपाली सेनाकै वीरताका कारण अङ्ग्रेजको दबदबा रहेको अवस्थामा दक्षिण एशियामा नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको थियो । 

वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि शुरुआत भएको हो । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि शुरु भएकामा हालसम्म एक लाख २५ हजार ३७२ सैनिकबाट योगदान भइसकेको छ ।

विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६३ जना सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६६ जना सैनिक घाइते भएका छन् । संयुक्त राष्ट्र सङ्घमार्फत विश्वमा हाल खडा भएका १२ शान्ति स्थापना मिसनमा अहिले नेपाली सेनाका पाँच हजार १११ सकल दर्जा खटिएका छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटिमा नेपाल पाँचाैँ स्थानमा छ । 

सैनिक र हातहतियार उत्पादन र प्रयोगको दृष्टिले विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागिसमेत अहिले नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशालाको केन्द्र बन्दै गएको छ । वीरेन्द्र शान्ति कार्य तालीम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा अहिले छिमेकीसहित विश्वका कयौ मुलुकका सैनिकमा सहभागी हँुदै आएका छन् ।

विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रुपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । राष्ट्रिय सुरक्षाका अतिरिक्त नेपाली सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दाे छवि स्थापित गर्न सफल भएको छ । 

दरबार, सङ्ग्राहालयलगायत ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा तथा विकास निर्माणको जिम्मेवारीसँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गर्ने कार्यलाई नेपाली सेनाले अहिले प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया