खाना फ्याँके दोब्बर पैसा !

 फागुन २५, २०७५ शनिबार १२:५३:३५ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै – केही दिनअघि काठमाण्डौबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरी जाँदै गर्दा सिन्धुलीको झाँगाझोलीमा रहेको स्टाफ होटलमा खाजा खान पस्यौँ । 
काठमाण्डौबाट माथिल्लो सगरमाथा अर्थात सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गा जाने धेरैजसो चालकले त्यहाँ खाजा खान जीप रोक्छन् ।

काठमाण्डौबाट बिहान ५/६ बजे छुटेका जीप बिहानको ९ बजेको आसपासमा त्यहाँ पुग्छन् । अनि नेपालथोकबाट खुर्कोटसम्म लागू हुने टाइमकार्ड छल्न पनि चालकहरुको लागि त्यो उपयुक्त स्थान रहेछ । 

खाजा खाँदै गर्दा भित्तामा टाँसिएको सूचना मलाई रोचक लाग्यो । रोचक मात्र हैन निकै गम्भीर पनि लाग्यो । सूचनामा लेखिएको थियो ‘खाना चाहिने मात्र मागौँ, धेरै थपेर फालेमा डबल पैसा लाग्छ’, सूचना पढ्ने जो कोहीलाई झट्ट हेर्दा रोचक लागे पनि केहीबेरमै गम्भीर बनाउँछ । 

वास्तवमै हामी यति सजिलै खाना फ्याक्छौँ कि फ्याँक्नु अघि अलिकति पनि सोच्दैनौँ, मैले फ्याँकेको खाना उत्पादन गर्न कति मेहनत पर्छ भनेर । अनि अलिकति पनि सोच्दैनौँ खानाबिना हाम्रो प्राण नै अडिँदैन । अनि अलिकति पनि सोच्दैनौँ कि त्यही खाना नपाएर विश्वमा मानिस मरिरहेका पनि छन् भनेर । 

केही समयअघि एउटा बफे पार्टीमा नजिकै बसेका एकजना साथीको थालमा चुलिएको खानेकुरा देखेर सोचेँ, ‘यिनले आधा पनि सिध्याउँदैनन् होलान् ।’ नभन्दै केहीबेरमा उनले झण्डै आधा खाना थालमै छाडिदिए । नजिककै साथी भएकोले भनेँ, ‘यसरी खाना फ्याँक्न त नहुने ।’ उनको जवाफ थियो ‘आ ! प्लेटको हजार÷पन्ध्र सय तिरेको होला, फ्याँके पनि होटललाई घाटा हुँदैन क्यारे ।’ 

मलाई चित्त बुझेन । उनलाई सम्झाउन मन थियो, खाना फ्याँक्दा होटललाई हैन देशलाई नै घाटा लाग्छ । यसरी खाना नफ्याँकेमा खानेकुराको आयात घट्थ्यो । अनि सोध्न मन थियो यो खाना उत्पादन गर्न कति लगानी र महेनत छ भन्ने तपाईँलाई थाहा छ ? तर मेरा प्रश्न मनमै राखें किनकी त्यहाँको रमाइलो वातावारणमा गम्भीर कुरा गर्नु ठिक लागेन ।

तर झाँगाझोलीको होटलमा टाँसिएको सूचना पढेपछि लाग्यो, जहाँ र जस्तो अवस्थामा भए पनि खाना फ्याँक्नेविरुद्ध बोल्नै पर्ने रहेछ । 

हाम्रो सामाजमा केही मानिस आफूलाई ठूलो वा इज्जतदार देखाउन भए पनि अलिकति खाना प्लेटमा छोड्नैपर्छ भन्ने सोच्छन् र चाहिनेभन्दा बढी लिएर भए पनि खाना खेर फालिहाल्छन् । 

एकातिर विवेकहीन प्रकारले खाना फालिइरहेको अवस्था छ भने बिभिन्न विकट गाउँमा खानेकुरा नपाएको समाचारहरु पनि सार्वजनिक भैरहेका छन् । होटल तथा पार्टी प्यालेसहरुबाट बढी भएका ठूलो परिमाणका खाना फ्याँकेको दृष्य नौलो हैन । होटल मात्र हैन घर÷घरबाट फोहोर उठाउने सरसफाइवालाको गाडीमा पनि प्लाष्टिकमा पोको पारिएको खानेकुरा प्रशस्त देखिन्छ । गाउँघरमा पनि पकाएको कुखुरा/बाख्रालाई खुवाइन्छ । जबकी कुखुरा तथा पशुचौपायलाई खानेकुरा प्रशोधनको बेला निकालिने ढुटो/पिठो नै पर्याप्त हुन्छ । 

बेलुकाको खानालाई बासी भनेर फाल्नेहरूको ठूलै भिड छ, हाम्रो समाजमा । झन् चाडपर्वमा त घर–घरबाट फालिएका भात, दाल, तरकारी आदिको रासै देखिन्छ, सडकमा । यो खानालाई पैसामा रुपान्तरण गरेर हेर्ने हो भने जो कोहीलाई झस्काउने तथ्यांक आउँछ । एक जना मान्छेले दिनमा १० ग्राम मात्र खाना फ्याँक्ने र नेपालको जनसंख्याको एक तिहाई अर्थात झण्डै एक करोड मान्छेले खाना फ्याक्ँने हो भने एक लाख किलो खाना फ्याँकिन्छ ।

यस हिसाबका एक वर्षमा तीन करोड ६५ लाख किलो खाना फ्याँकिन्छ । एक तथ्याङ्कमा नेपालमा वर्षमा पाँच करोड किलो खाना फ्याँकिने उल्लेख छ । त्यो खानाले १४ लाख मान्छेलाई एक वर्षलाई पुग्छ । खाना फ्याँक्ने काम बन्द गर्ने मात्र हो भने पनि नेपालले गर्ने खाद्यान्न आयात ठूलो परिमाणले घट्ने निश्चित छ ।

पाँच जना पाहुना आए भने आठ जनालाई पुग्ने गरी खाना बनाउने हाम्रो संस्कार नै बनेको छ । भाँडोमा खाना बाँकी रहेको देखाउनु, थालमा जबर्जस्ती खाना थपिदिनु र पाहुनाले खान नसकेर फ्याँकेमा खुशी हुनु, खाना खाँदा बढी लिएर फाल्नु भनेको बडप्पनको प्रतीक सम्झनु जस्ता कारण अहिले ठूलो परिमाणको खाना खेर गइरहेको छ । 

ग्रामीण भेगमा त कतिपय खाना घरपालुवा पशुपन्छीले खाँदा प्रयोग भएछ रे । तर शहरतिर फोहोरको डङ्गुरमा पुग्छ । त्यो फोहोर तह लगाउँदाका घाटा तथा त्यसले वातावारणमा पुग्ने असर त छँदैछ । मुख्य कुरा प्राण धान्न आवश्यक हुने खाना नोक्सान गरेर हामी के गर्दैछौँ ? 

हामीले आफ्ना छोराछोरीलाई जबर्जस्ती खान सिकाउँछौँ । तर खाना फ्याँक्नु हुन्न भनेर कहिल्यै चासो दिने गरेका छैनौँ । सामान्य कुरा बुझ्ने भएका बालबिालका वा किशोरकिशोरीलाई खानाको महत्व र हामीले अलिकति खाना फ्याँक्दा हुने नोक्सानको बारेमा उदाहरण तथा तथ्याङ्कसहित बुझाउने हो भने खाना फ्याँक्ने क्रम घट्थ्यो, तर हामी थालमा थुप्रो लगाइदिएर भन्छौँ, ‘नसके छाडिदे ।’

झाँगाझोलीको होटलमा भएको सूचना पढेपछि खाजा पस्किँदै गरेकी साहुनीलाई सोधेँ, ‘ग्राहकले खाना फ्याँकेर हैरान हुनुभएछ नि ?’, उत्तर दिइन् ‘कुरै नगरौँ दिनमा २/३ बोरा हुन्छ, फ्याँक्न अलि ढिला भयो भने कुहिएर दुर्गन्ध फैलिएर हैरान्’, अनि सूचनाले काम गर्‍यो त ? ‘निकै घटेको छ, खाना खान बस्नेहरु सूचना पढेपछि हाँस्छन्, अनि खाना थप्ने बेलामा सूचना हेर्दै खाइसकेपछि मागौँला भन्छन्, अहिले निकै थोरैले खाना फ्याँक्छन् ।’

गोजीबाट मोबाइल झिकेर फोटो खिच्दै भनेँ, ‘साहुनीको यो सूचना हरेक होटल र घरमा पुगोस्, एक गाँस पनि खाना नफालियोस्, हाम्रो देश समृद्धितिर लाग्छ ।’ साहुनीले भनिन् ‘खै सबैले के बुझ्लान् र ? बुझे त हुने हो । 
 

अन्तिम अपडेट: जेठ ८, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • Lila poudel

    March 13, 2019, 1:29 p.m.

    मैले पनि पढेको थिए सन्दर्भ रोचक लागो

  •  0 Reply

तपाईको प्रतिक्रिया