सोलु करिडोरमा विप्लवकाे चन्दा आतंक, आयाेजनाकाे काम प्रभावित

 फागुन ३०, २०७५ बिहिबार १७:१३:५१ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – केन्द्रीय विद्युत प्रसारण आयोजना सोलु करिडोरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले चन्दा माग्न थालेपछि आयोजनाको काम सञ्चालन गर्न कठिन भएको छ । 

वन क्षेत्रको उपयोग र मुआब्जाको विषयमा टुंगो नलागेपछि आयोजनाको काम प्रभावित भइरहेको अवस्थामा विप्लवका कार्यकर्ताले चन्दा आतंक मच्चाएको आयोजनाले जनाएको छ । 

आयोजनाको निर्माण स्थलमा पुगेर चन्दा माग्न थालेको आयोजना प्रमुख जनार्दन प्रसाद गौतमले बताउनुभयो । उहाँले सोलुखुम्बुको काम भइरहेको क्षेत्रमा विप्लवका कार्यकर्ताले चन्दा माग्न थालेको जानकारी दिनुभयो । 

सिरहाको मिर्चैयादेखि सोलुखुम्बुसम्म निर्माण भइरहेको १३२ केभी विद्युत प्रसारण आयोजना ओखलढुंगा हुँदै सोलुखुम्बु पुग्नेछ । पहिलो चरणमा मुआब्जाको  काम सकिए पनि वन क्षेत्र प्रयोग गर्ने विषयमा टुंगो नलाग्दा काम प्रभावित भएको थियो । 

वन क्षेत्रको प्रयोगसम्बन्धी विषय मन्त्रिपरिषद्मा पुगेर अड्किएको छ । ओखलढुंगा र सोलुखुम्बुमा गरी १५ ओटा सामुदायिक वनको क्षेत्र आयोजनाले प्रयोगमा ल्याउनेछ । 

राष्ट्रिय प्रथामिकता प्राप्त यो आयोजना विप्लवका कारण थप प्रभावित हुने अवस्था आएको आयोजना प्रमुख गौतमले बताउनुभयो । उहाँले केही दिनदेखि चन्दा माग गर्ने काम भइरहेको गुनासो गर्नुभयो । 

कार्यस्थलमै चन्दा माग गर्न थालेपछि आयोजनाका काम अवरुद्ध हुने भन्दै सरोकारवालाले ध्यान दिनुपर्ने पनि गौतमको भनाइ छ । 
सरकारले सन् २०१९ भित्र उक्त आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको थियो । 

लक्ष्य अनुसार प्रसारण लाइन निर्माण सम्पन्न नभएमा सोलुखुम्बुको सोलु खोलामा निर्माण भइरहेका ६ ओटा २१७.५ मेगावाट क्षमताका जलविद्युत आयोजनालाई नेपाल विद्युत प्राधिकरणले ४५ प्रतिशतसम्म हर्जाना तिर्ने प्रतिबद्धतासहितको विद्युत खरिद सम्झौता गरेको थियो ।  
 

अन्तिम अपडेट: चैत १, २०७५

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया