न्याम्सका नवनियुक्त पदाधिकारीलाई प्रधानमन्त्रीकाे निर्देशन : भक्तपुरमा सुविधासम्पन्न अस्पताल बनाउने काम तत्काल सुरु गर्नुहोस्

 चैत २, २०७५ शनिबार ६:४२:१० | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा प्रा. डा. देवनारायण साहलाई नियुक्त गर्नुभएको छ । 

उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं न्याम्सका सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्रीले सुनसरीका साहलाई आज नियुक्त गर्नुभएको हो । यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले न्याम्सका अन्य पदाधिकारीको पनि शुक्रबार नै नियुक्ति गर्नुभएको छ । 

जसअनुसार पर्साका प्रा. डा. सुबोधकुमार अधिकारी शिक्षाध्यक्ष, पाँचथरकी प्रा. प्रमिला देवान रजिस्ट्रार, सुनसरीका प्रा. डा. पियुस दाहाल डिन र सप्तरीका डा. केदारप्रसाद सेन्चुरी वीर अस्पतालको निर्देशकमा नियुक्त हुनुभएको छ । उहाँहरु सबैको पदावधि चार वर्षको हुनेछ । प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साहलगायत सबैलाई आजै बालुवाटारमा पद तथा गोपनियताको सपथ गराउनुभयो । 

सपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिनुभयो । '५०० रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुहोस्, त्यो काम तपाईंहरुकै कार्यकालमा सम्पन्न हुनुपर्दछ', प्रधानमन्त्री ओलीले भन्नुभयो, 'अहिलेको वीर अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गर्नुपर्दछ ।' 

वरिष्ठ चिकित्सकले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्नसमेत निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, 'सिनियर भएपछि काम गर्न नपर्ने गलत संस्कारको विकास भएको देखिन्छ । सिनियरको अनुभवले बिरामीको उपचार गर्दा त्यसबाट बिरामीले पाउने लाभ अधिक हुन्छ ।' 

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुलाई बिरामीलाई गर्ने व्यवहार सुधार गर्नसमेत आग्रह गर्नुभएको छ । 'डाक्टर, नर्सले बिरामीप्रति मायालु व्यवहार गर्नुहोस्, तपाईंहरुको व्यवहारले बिरामीले राहत महसुस गर्नुपर्दछ', प्रधानमन्त्री ओलीको भनाइ थियो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया