जनताको जलविद्युत् : माथिल्लो त्रिशूली थ्री बीमा ६६ करोड रुपैयाँको आवेदन

 चैत १२, २०७५ मंगलबार ७:२४:१५ | रासस
unn.prixa.net

काठमाण्डाै – जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको पहिलो आयोजनामा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । यही चैत ७ गतेदेखि बिक्री सुरु भएको त्रिशूली गङ्गा जलविद्युत् कम्पनीको शेयरमा ६६ करोड ३३ लाख ६३ हजार २०० रुपैयाँ बराबरको आवेदन गरिएको छ । 

कम्पनी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । शेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार यो तथ्याङ्क साेमबार साँझ ५ बजेसम्मको हो । बैंक तथा वित्तीय संस्थाले केही शेयर आवेदन प्रविष्ट गर्न बाँकी रहेका कारण केही विवरण थप हुन सक्नेछ । कूल एक लाख ५५ हजार ४७४ आवेदकले छ करोड ६३ लाख ३६ हजार ३२० कित्ता आवेदन गरेका छन् । 

कूल रकमका आधारमा करीब दुई गुणा बढी र आवेदन भएको शेयर सङ्ख्याका आधारमा भने करिब १८ गुणा आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोड को १५ प्रतिशत अर्थात् ३७ करोड पाँच लाख रुपैयाँ बराबरको रु १०० अङ्कित दरका ३७ लाख पाँच हजार साधारण शेयरमध्ये तीन प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री सुरु भएको हो । 

आवेदकले न्यूनतम १०० कित्तादेखि बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । १०० रुपैयाँ अङ्कित मूल्यमा अहिले त्यसको १० प्रतिशत हुन आउने १० रुपैयाँ मात्रै आवेदनका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था थियो । बाँकी रकम भने आयोजनाको भौतिक निर्माण ७५ प्रतिशत सम्पन्न भएपछि मात्रै तिर्दा हुनेछ । अग्रिमरूपमा लगानी गरिएको रकमको समेत सरकारले ब्याज उपलब्ध गराउने प्रावधान राखिएको छ ।

कार्यक्रमको पहिलो सहभागीका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको थियो । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले एक हजार कित्ता शेयरका लागि आवेदन दिनुभएको थियो । सो कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण रहेको छ । 

मन्त्रालयले १९ आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । ती आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमको पहिलो आयोजनाका रूपमा त्रिशूली गङ्गा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री बी आयोजना छनोट गरिएको हो । सरकारले गएको फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । कूल ३७ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माणसमेत सुरु भइसकेको छ ।     

कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमका अनुसार सो आयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण गरिएको छ । 
 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया