ग्रामिण सडकमा सिन्डिकेट : जीप चलाउँदै बढी भाडा असुल्दै व्यवसायी

 असार १४, २०७५ बिहिबार १८:२३:२ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– ओखलढुंगाका ग्रामीण सडकमा व्यवसायीले बस चलाउन छाडेका छन् ।

यात्रु अभाव भएको बहानामा बस चलाउन छोडेपछि गाउँबाट सदरमुकाम र सदरमुकामबाट गाउँ आवत जावत गर्ने यात्रु समस्यामा छन् । विगतमा सडकको दूरावस्था देखाएर बस नचलाउने व्यवसायीले यस पटक यात्रु अभावको कारण देखाए पनि जीप तथा बोलेरोले मनपरि भाडा असुल्ने गरेका छन् । गाउँमा वर्षा सुरु भएपछि समिति खारेज भए पनि अघोषित रुपमा चालु रहेका काउन्टरले बस थन्क्याएर यात्रुलाई दुःख दिइरहेका छन् । 

ओखलढुंगाबाट, पोखरे, कुइभीर र खानीभञ्ज्यांङ चल्ने बस अहिले थन्क्याएर राखिएका छन् । यसअघि माथिल्लो सगरमाथा, मध्य पहाडी र हिमाल तराई यातायात समितिका बस चल्दै आएका थिए । यात्रु अभाव भएर बस थन्किएको सगरमाथा बस व्यवसायी संघले सञ्चालन गरेको काउण्टरका ईञ्चार्ज रमेश श्रेष्ठले बताउनुभयो । ‘यात्रु नभएर नचलाएको हो अरु कारण छैन’, श्रेष्ठले भन्नुभयो ।

व्यवसायीले यात्रु नपाएका भने पनि त्यो सडकमा दैनिक १५ देखि २० ओटा जीप तथा बोलेरो चलिरहेका छन् । जीप तथा बोलेरोमा व्यवसायीले पाँच सयदेखि एक हजारसम्म भाडा लिने गरेका छन् । त्यही बाटोमा बसमा दुई सयदेखि तीन सयसम्म भाडा कायम गरिएको थियो ।

बस नचलेपछि आवत–जावत र सामान्य सामान ढुवानी गर्ने काममा समस्या भएको स्थानीय पुष्पलाल ढुंगानाले गुनासो गर्नुभयो । ‘बस र जीप मिलेर मनपरि गर्न खोजेका छन्, बाटो केही नहुँदा अहिले चलाउँदैनन्, हिउँदमा रित्तै गाडी कुदाउँछन्’, उहाँले भन्नुभयो । 

बर्षात्मा गाउँतिर बस नजाने गरी अघोषित रुपमा सिन्डिकेट लगाइएको उपभोक्ताको आरोप छ । स्थानीय प्रशासनले मनपरि भाडा लिने गुनासो गरे पनि अनुगमन गरेको छैन । प्रहरीले भने ओखलढुंगामा सिन्डिकेट नभएको दाबी गर्दै आएको छ ।

सडक मिचेर खोलिएका बस समितिका काउन्टरका बोर्ड हटाइए पनि काउन्टर भने चलिरहेका छन् । काउण्टरबाटै आलोपालोमा सवारी चल्ने वातावरण मिलाएपछि यात्रु मर्काका पर्ने गरेका हुन् ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया