नयाँ वर्षको सुरुवातसँगै नगरवासीलाई स्मार्ट पार्किङ

 चैत २८, २०७५ बिहिबार १२:२२:२७ | रासस
unn.prixa.net

काठमाण्डौ – नयाँ वर्षको सुरुवातसँगै नगरवासीले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति पाउने भएका छन् । काठमाण्डाै महानगरपालिकाले न्यूरोड आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन सुरु गरेसँगै सर्वसाधारण नागरिक पार्किङ समस्याबाट मुक्त हुने भएका हुन् ।

सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । 

पहिलो चरणमा दरबारमार्ग, विशालबजार, इन्द्रचोक, प्युखा र खिचापोखरीमा नयाँ वर्षको सुरुवातसँगै स्मार्ट पार्किङ सञ्चालनमा आउने छ । प्रभावकारिता र आवश्यकता हेरी अन्य स्थानमा पनि सवारी साधन राख्नका लागि व्यवस्थापनको काम गर्ने कामपाको योजना रहेको छ । काठमाण्डाै शहरको चरित्र, सरल उपयुक्त र दिगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापनमा महानगरको प्राथमिकता रहेको प्रवक्ता डङ्गोलले बताउनुभयो । “पार्किङलाई सहज बनाउन सकियो भने मात्र पनि शहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ”, उहाँले भन्नुभयो ।

स्मार्ट पार्किङ सञ्चालनमा ल्याइने स्थानमा एक पटकमा करिब ८०० दुईपाङ्ग्रे सवारीसाधन र ४० चारपाङ्ग्रे गाडी पार्किङ गर्न सकिनेछ । यो क्षेत्रमा पार्किङ गर्दा दुईपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० लाग्नेछ । त्यस्तै चारपाङग्रेका लागि प्रतिघण्टा रु ५० शुल्क निर्धारण गरिएको छ । पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको स्मार्ट पार्किङ अन्य पार्किङको तुलनामा निकै फरक हुन्छन् । ती क्षेत्रमा जानुअघि सवारी चालकले मोबाइलबाटै समय र स्थानको सुनिश्चित गर्न सक्नेछन् ।

सेन्सरमा आधारित यस प्रणालीमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान, समय र पार्किङ शुल्कजस्ता विवरण आवश्यकताअनुरुप हेर्न सकिनेछ । त्यसैगरी कामपाले सफा शहर निर्माणका लागि विगत दुई हप्तादेखि अत्याधुनिक बु्रमरको माध्यमबाट सडक सफा गरिरहेको छ । पाँच रुट निर्धारण गरेर हरेक दिन बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म काठमाण्डौका सडक सफा गर्दै आएको छ । यससँगै कामपाले स्मार्ट प्रतिक्षालय, हरियाली काडमाण्डौ, सार्वजनिक शौचालय निर्माणजस्ता कामको सुरुवात गर्न बाँकी नै छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया