प्रथम राष्ट्रिय परिचयपत्र वाहकको निधन

 बैशाख २, २०७६ सोमबार ११:३६:५९ | रासस
unn.prixa.net

पाँचथर - नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गर्नुभएकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ ।

दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उहाँका आफन्त सूर्य अधिकारीले जानकारी दिनुभयो । उहाँको शुक्रबार नै फिदिम स्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ ।

नेपालमै पहिलो पटक गत मङ्सिर ३ गते गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गर्नुभएको थियो । गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गर्नुभएको थियो ।

भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको सुरुवात समेत गरिएको थियो । गत वर्षको असार ५ गते भण्डारीको जैविक तथा वैयक्तिक विवरण सङ्कलन गरेर विवरण सङ्कलन कार्यको सुरुआत भएको थियो ।

दिवङ्गत भण्डारीका दुई छोरा र एक छोरी हुनुहुन्छ । पाँचथरमा जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको फिल्ड कार्यालय तथा इलाका प्रशासन कार्यालय रवीबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन तथा राष्ट्रिय परिचयपत्र वितरण कार्य भइरहेको छ ।

जिल्लाका ६० वटै वडामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शिविर तथा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन भइसकेको फिल्ड कार्यालयले जनाएको छ ।

नेपाल सरकारले पाँचथरका एक लाख १० हजार नागरिक तथा सिंहदरबारका सात हजार कर्मचारीलाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्यअनुसार कार्य गरिरहेकाे छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया