वरिष्ठ पत्रकार श्रेष्ठको अन्त्येष्टि

 बैशाख ४, २०७६ बुधबार २०:४८:५५ | रासस
unn.prixa.net

काठमाण्डाै - वरिष्ठ पत्रकार एवं कामना न्यूज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ ।

पशुपति आर्यघाटमा उहाँका छोरा दिरेकलाल श्रेष्ठले दागबत्ती दिनुभएको नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजालले जानकारी दिनुभयो । पशुपति आर्यघाटमा श्रद्धाञ्जलि दिन  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, कलाकार, साहित्यकार, उद्योगी व्यापारी, पत्रकारलगायत पुग्नुभएको थियो । श्रेष्ठको ६० वर्षको उमेरमा आज बिहान निधन भएको हो । पशुपति आर्यघाट लैजानुअघि श्रेष्ठको पार्थिव शरीर भूगोलपार्कमा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

सन् १९५९ अगस्तमा जन्मनुभएका श्रेष्ठ कामना न्यूज पब्लिकेसन र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति सदस्य, न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब र प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत उहाँले योगदान पुर्‍याउनुभएको थियो ।

श्रेष्ठ  नेपालको प्रथम चलचित्र प्रतियोगिताको सल्लाहकारसमेत रहनु भएको थियो । उहाँ फुटबलको राष्ट्रिय खेलाडीसमेत हुनुहुन्थ्यो । प्रबल गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्ट, वीरेन्द्र ऐश्वर्य सेवापदक, प्रेस काउन्सिल अवार्डलगायतबाट सम्मानित श्रेष्ठ पत्रकारिताका प्रशिक्षकसमेत हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया