सात प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण, प्रतिव्यक्ति आय १०३४ डलर पुग्याे

 बैशाख १४, २०७६ शनिबार ६:४७:५० | रासस
unn.prixa.net

काठमाण्डाै - चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत पुग्ने अनुमान गरिएकाे छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७५/७६ को राष्ट्रिय लेखा तथ्याङ्क’अनुसार चालु आर्थिक वर्षको आर्थिक अवस्थाका बारेमा प्रक्षेपण गरेको हो ।

सरकारले भने चालु आर्थिक वर्षमा आठ प्रतिशत बढी आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । पछिल्ला तीन वर्षमा निरन्तररूपमा ६ प्रतिशत बढी आर्थिक वृद्धिदर हुँदै आएको छ । तीव्रतर आर्थिक वृद्धि हुने देशमा नेपाल परेको छ । 

आर्थिक वर्ष २०७४/७५ मा ६.३० प्रतिशत तथा आव २०७३/७४ मा ७.७४ प्रतिशतको दरमा आथिृक वृद्धि भएकोसमेत विभागले जनाएको छ । समग्रमा औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, उद्योग निर्माणलगायतलाई द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर विश्लेषण गरिएकामा विगत तीन वर्षमा कूल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रको योगदान घट्न गएको देखिन्छ भने सेवा क्षेत्रको योगदान बढ्न गएको पाइएको छ । द्वितीय क्षेत्रको योगदानमा खासै घटबढ भएको छैन । 

कृषि वन, मत्स्य र खानी उत्खनन क्षेत्रलाई प्राथमिक क्षेत्रमा राखिएको छ । चालुआर्थिक वर्षको कूल उत्पादनमा यस क्षेत्रले २७.५९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । आव २०७४/७५ को तुलनामा चालुआवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ५.१० प्रतिशत हुने अनुमान गरिएको विभागले जनाएको छ । 

चालु आवमा मौसमको अनुकूलताका कारणले कृषि क्षेत्रमा उल्लेख्य वृद्धि, पुनःनिर्माणका लागि वन पैदावारका सामग्री तथा उत्खनन क्षेत्रमा उत्पादन वृद्धिजस्ता कारणले सकारात्मक प्रभाव परेको छ । चालुआवमा द्वितीय क्षेत्रका रूपमा रहेको निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी क्षेत्रको योगदान १४.६० प्रतिशत रहेको छ । आव २०७४/७५ मा चालुआवमा यस क्षेत्रको कूल वृद्धिदर स्थिर मूल्यमा ८.१० प्रतिशत रहेको छ । 

ऊर्जा, क्षेत्रको विस्तार, पुनःनिर्माण तथा अन्य निर्माण कार्यको तीव्रता औद्योगिक क्षेत्रमा भएको वृद्धिलगायत कारण यस क्षेत्रको प्रगति भएको छ । सेवा क्षेत्रमा पनि थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्तता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्र रहेका छन् । 

चालु आवको कूल गार्हस्थ उत्पादनमा यस क्षेत्रले ५७.८१ प्रतिशत योगदान दिएका छन् । आव २०७४÷७५ को तुलनामा चालुआवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ७.२९ प्रतिशत रहेको छ । चालुआवको कूल गार्हस्थ उत्पदानमा कृषि क्षेत्रले २६.९८ प्रतिशत तथा गैर कृषि क्षेत्रले ७३.०२ प्रतिशत योगदान दिएको छ । 

प्रतिव्यक्ति आय बढ्यो 

विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि भएको पाइएको छ । आव २०७४/७५ मा एक हजार चार अमेरिकी डलर रहेकामा चालुआवमा ३० डलरले बढेर एक हजार ३४ डलर पुगेको छ । यस्तै नेपाली मुद्रामा प्रतिव्यक्ति आय रु एक लाख १७ हजार ४५५ पुगेको छ ।

यस्तै चालु मूल्यअनुसार कूल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा भने रु ३४ खर्ब ६४ अर्ब ३१ करोड बराबर हुन पुगेको छ । यस्तै चालु मूल्यअनुसार कूल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा भने रु २९ खर्ब ३२ अर्ब ७४ करोड बराबर हुन पुगेको छ । चालुमूल्यअनुसार कूल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा भने रु १७ खर्ब ३५ अर्ब २८ करोड रहेको छ । 

त्यस्तै विभागका अनुसार चालु मूल्यअनुसार कूल उत्पादन आधारभूत मूल्यमा रु ४७ खर्ब ९६ अर्ब ५१ करोड रहेको छ । यस्तै कूल गार्हस्थ उत्पादनमा प्रदेश नं ३ को योगदान सबैभन्दा बढी रहेको छ भने कर्णाली प्रदेशको योगदान असाध्यै कम रहेको पाइएको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया