अर्जेन्टिनाविरुद्ध सनसनीपूर्ण जित हात पार्दै फ्रान्स क्वार्टरफाइनलमा

 असार १६, २०७५ शनिबार २२:१४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

लियोनल मेस्सीको टोली अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । केलिन एमबाप्पे चम्किएपछि पछि परेको स्थितिलाई उल्टाउँदै फ्रान्सले अर्जेन्टिनाविरुद्ध ४–३ को शानदार जित हासिल गरेको हो ।

फ्रान्सविरुद्ध मुख्य गरी अर्जेन्टिनाको रक्षापंक्ति निक्कै कमजोर देखियो । गाब्रियल मार्काडो, मार्कोस रोहो, निकोलास ओटामेण्डी फ्रान्सविरुद्धको कठिन परीक्षामा खरो उत्रन सकेनन् ।
 
बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले पनि आजको खेलमा प्रभाव जमाउन सकेनन् । सन् २००६ देखिका चारै विश्वकप खेलेका मेस्सीले नकआउट चरणमा गोल गर्न सकेका छैनन् । सम्भवतः अर्को विश्वकपसम्ममा उनी अर्जेन्टिनी टोलीमा हुने छैनन् । यद्यपि उनले आजका दुई गोलका लागि बल उपलब्ध गराएका थिए ।
 
रुसको काजान एरिनामा फ्रान्सले खेलको १३औं मिनेटमै अग्रता लिएको थियो । अर्जेन्टिनाका डिफेण्डर मार्कोस रोहोले फ्रान्सका केलिन एमबाप्पेलाई डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । जसलाई एन्टोइन ग्रिजम्यानले गोलमा परिणत गरेका थिए ।
 
तर, ४१औं मिनेटमा अर्जेन्टिनी स्ट्राइकर एन्जेल डी मारियाले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको शट आकर्षक गोलमा परिणत भएपछि अर्जेन्टिना खेलमा फर्कियो ।
 
पहिलो हाफमा एकएक गोलको बराबरी भए पनि दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले अग्रता लियो । लियोनल मेस्सीको पासमा गाब्रियल मार्काडोले गोल गरेपछि २–१ को अग्रता बनाएको अर्जेन्टिनाले त्यसलाई जोगाउन सकेन र त्यसपछि लगातार गोल खान पुग्यो ।
 
५७औं मिनेटमा लुकास हर्नाण्डेजको पासमा बेञ्जामिन पाभार्डले बराबरी गोल फर्काए ।
 
त्यसपछि ६४औं र ६८औं विश्वकै महंगा किशोर खेलाडी केलिन एमबाप्पेले गोल गरे । त्यसयता इन्ज्यूरी समयमा लियोनल मेस्सीको पासमा सर्जियो अग्युइरोले गोल गरे पनि ढिला भइसकेको थियो । 

फ्रान्सले क्वार्टरफाइनलमा आज हुने पोर्चुगल र उरुग्वेको खेलबीचको विजेतासँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया