राष्ट्रपति भण्डारी र  तिब्बती स्वशासित क्षेत्र समितिका सचिव वुबीच भेट

 वैशाख १८, २०७६ बुधबार ७:२७:३६ | रासस
unn.prixa.net

चीन – राष्ट्रपति विद्यादेवी भण्डारीले भूगोलको हिसाबले नेपाललाई उत्तरतिर चीनको तिब्बतले नै जोड्ने भएकाले यस क्षेत्रको भ्रमण गर्नु अति आवश्यक भएको बताउँदै चीन र तिब्बतले गरेको अभूतपूर्व विकास प्रयासका लागि प्रशंसा गर्दै धन्यवाद दिनुभएको छ  । उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा अन्तरसीमा हिमाली क्षेत्रको विकास परियोजनाका लागि पूर्ण सहयोगको आश्वासन पाएको र त्यसमा चिनियाँ चासो पनि रहेको बताउनुभएको जानकारी दिनुभयो ।

चिनियाँ समकक्षी सी जिनपिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा बेइजिङबाट ल्हासा आइपुग्नुएका राष्ट्रपति भण्डारीलाई चिनियाँ कम्युनिष्ट पार्टी, तिब्बती स्वशासित क्षेत्र समितिका सचिव वु इङजीले यहाँको परराष्ट्र मन्त्रालयमा स्वागत गर्नुभयो । 

मंगलबार नै दुई पक्षबीच भएको बैठकमा राष्ट्रपति भण्डारीले आफू कुनै पनि पार्टीको सदस्य नभएको र सबैको राष्ट्रपति भएको बताउँदै नेपालका सबै पार्टीप्रति चीन सरकारले राम्रो सम्बन्ध राखेको धारणा व्यक्त गर्नुभयो । उहाँले चीन तथा तिब्बतको विकास प्रयासबाट नेपालका सबै राजनीतिक दलका नेताहरूले सिक्न सक्ने पनि उल्लेख गर्नुभयो । 

बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल चीनबीच सीमा क्षेत्रको विकासमा तिब्बतले ठूलो भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले नेपालले चीनसँग क्षेत्र तथा मार्ग प्रयास (बेल्ट एण्ड रोड इनिसियटिभ)मा काम गर्दा तिब्बतको ठूलो भूमिका हुने पनि बताउनुभयो ।  उहाँले बहुआयामिक यातायात सञ्जालमा रेलमार्गको कुरा भएको र यसले यस क्षेत्रकै सामाजिक विकासमा ठूलो परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गर्नुभयो । 

उहाँले मे महिनादेखि तातोपानी नाका खोल्न सहमति भए पनि अन्य नाकाका विषयलाई पनि अगाडि बढाउनुपर्ने र हिमाली क्षेत्रका १५ जिल्लासँग मिली अन्तरसीमा आर्थिक विकास गर्न सके ठूलो फाइदा पुग्ने बताउनुभयो ।  मन्त्री ज्ञवालीले नेपालले सन् २०२० लाई भ्रमण वर्षको रूपमा लिएको बताउँदै तिब्बती क्षेत्रबाट थप पर्यटक पठाइदिन आग्रहका साथ सचिव वुलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो । 

सचिव वुले दुई राष्ट्रपतिले व्यक्त गर्नुभएको मतैक्यतालाई तिब्बतले दृढताका साथ अगाडि बढाउने जानकारी दिँदै तिब्बत र नेपालबीच रेल सम्पर्क तथा पहाडी क्षेत्रका परियोजनाका विषयमा कार्य हुनेमा आश्वस्त हुन आग्रह गर्नुभयो । उहाँले दुई मुलुकका सीमा क्षेत्रका जिल्लामा विकास परियोजनाका विषयमा चिनियाँ राष्ट्रपति सीको निर्देशनअनुसार काम गरिर्ने पनि उल्लेख गर्नुभयो ।   उहाँले आफूले सन् २०११ मा  नेपालको भ्रमण गरेको बताउँदै मन्त्री ज्ञवालीको निमन्त्रणा स्वीकार गरी  समय मिलाएर पुनः नेपालको भ्रमण गरिने जानकारी दिनुभयो । 

बैठकपछि दुई पक्षबीच उपहार आदानप्रदान भयो भने सचिव वुले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोज आयोजना गर्नुभयो । यो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी, तिब्बत स्वशासित क्षेत्र समितिका उपसचिव तथा तिब्बत स्वशासित क्षेत्रका सरकारका अध्यक्ष छी ठालाले हार्दिक र मैत्रीपूर्ण सम्बन्ध रहेका चीन तथा नेपालले विकास प्रयासलाई अझै अगाडि बढाउनेछन् भन्नुभयो । 

राष्ट्रपति भण्डारीका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले उक्त भोज र भ्रमण दललाई दिइएको आतिथ्य र मायाका लागि धन्यवाद व्यक्त गर्दै बिआरआईको सञ्जाल निर्माणले विकास प्रक्रिया तथा यस क्षेत्रको जनताको सामाजिक विकासमा दूरगामी प्रभाव पर्ने बताउनुभयो । 

उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गर्नुभएको थियो ।  चीन भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनलको अपरेशन (अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च) मा सहभागी भई सम्बोधन गर्नुभएको थियो ।  राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री  ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणी पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङछी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहनुभएको छ ।  

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया