भारतको सिक्किम र दार्जीलिङमा पोखराको पर्यटनको चर्चा

 बैशाख २६, २०७६ बिहिबार १५:२७:५६ | रासस
unn.prixa.net

कास्की - दिगो पर्यटनका लागि समान सहभागिता  भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को टोलीले भारतको सिक्किम, दार्जीलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रबर्द्धनमा  साझेदारीका लागि छलफल गरेको छ ।

सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागअन्तर्गतको सिक्किम राज्य ग्रामीण विकास संस्थानको आयोजनामा सिक्किममा आयोजित अन्तक्रियामा नेपालको भूबनोट, निकटताजस्ता कारण दुवै देशमा पर्यटकीय साझेदारीका विषयमा जोड दिइएको थियो । टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले टेवानले स्थापनाकालदेखि नै पर्यटन प्रबर्द्धनका लागि विविध गतिविधि गर्दै आएको बताउनुभयो ।

उहाँले पोखरासहित समग्र नेपालको पर्यटकीय साझेदारीलगायतका विषयमा अध्ययन अवलोकन एवं अन्तक्रियाका लागि यस क्षेत्रको भ्रमण गरिएको जानकारी दिनुभयो । पर्यटन क्षेत्रमा महिलाको समान सहभागिताबिना पर्यटन क्षेत्रको विकास सम्भव नभएको बताउँदै उहाँले यस संस्थाबाट गरिएको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण पर्यटकीय साझेदारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सिक्किम राज्य ग्रामीण विकास संस्थाका सहायक निर्देशक मनोज क्षेत्रीले महिलाबिनाको ग्रामीण पर्यटनको कल्पनासमेत गर्न नसकिने बताउनुभयो ।सिक्किमको पर्यटनको अवस्थाबारे जानकारी गराउँदै उहाँले यस क्षेत्रमा पछिल्लो समय बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढ्दै गएकाले ग्रामीण पर्यटन विकासका लागि राज्य सरकारले नागरिकलाई घरबास नमुनाका  दुईकोठे घर, तालीम साथै ‘एक्सपोजर भिजिट’को कार्यक्रम पनि सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुएको बताइएको थियो  ।

सिक्किममा होमस्टेको सिकाइ स्याङ्जाको सिरुबारीबाट सिकेको जानकारी दिँदै सहायक निर्देशक क्षेत्रीले सन् २०११ मा मात्र प्रदेश सरकारले १३६ घर बनाएर  नागरिकलाई दिएको र स्वदेशमै केही गर्न चाहने परिवार तथा युवालाई २० लाख रुपैयाँसम्म बिना धितो ऋण उपलब्ध गराउँदै आएको सो अबसरमा बताइयो ।

सप्ताहव्यापी भ्रमणका क्रममा सिक्किम दार्जिलिङ क्षेत्रमा पोखराको पर्यटन प्रबर्द्धनका साथै सरोकारवालाबीच अन्तक्र्रियाले पोखरासहित नेपालको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको टेवान नेपालका उपाध्यक्ष रेनु थापाले जानकारी दिनुभयो 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया