जर्मनीमा 'नेपाल डे '

 वैशाख २८, २०७६ शनिबार १४:१०:३२ | रासस
unn.prixa.net

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन गरेको घोषणा सफल बनाउन जर्मनीमा हालै नेपाल दिवस (नेपाल डे) को आयोजना गरियो ।

नेपाल पर्यटन बोर्ड, नेपाल दूतावास बर्लिन र नेपाली महावाणिज्यदूतको सहकार्यमा जर्मन–नेपाल मैत्री सङ्घको आयोजनामा जर्मनीको कोलोनमा भएको विशेष कार्यक्रममा नेपालको पर्यटन विकासका बारेमा विभिन्न कार्यपत्र, सांस्कृतिक कार्यक्रम, वृत्तचित्र प्रदर्शन तथा नेपालका सातै प्रदेशको चिनारी प्रस्तुत गरिएको थियो । 

नेपालको पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशको पूर्वाधार विकास, विभिन्न जातजातिको कला, संस्कृतिको जगेर्नामा ध्यान दिनुपर्नेमा सहभागी वक्ताहरुले जोड दिनुभएको थियो । जर्मनवासीलाई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न तथा नेपालको भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सङ्घका अध्यक्ष तथा महावाणिज्यदूत रामप्रताप थापाले बताउनुभयो । उहाँका अनुसार ३० वर्षदेखि बर्सेनि विभिन्न विषयमा नेपाल दिवस मनाउँदै आउने क्रममा यस वर्ष नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा सातै प्रदेशको पर्यटन प्रवर्द्धनलाई केन्द्रित गरी दिवसको आयोजना गरिएको हो ।

गैरआवासीय नेपाली सङ्घका संरक्षक जीवा लामिछानेले नेपालको पर्यटन, लगानीको सम्भावना र नेपालको पर्यटन विकासमा डायस्पाेराको योगदानका बारेमा प्रकाश पार्नुभएको थियो । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले पनि सुखी नेपाली र समृद्ध नेपालको अभियानमा पर्यटन क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । 

विभिन्न समयमा नियुक्त हुनुभएका नेपालका लागि जर्मनीका राजदूतहरुले नेपालको परिवर्तित राजनीति, लगानीको सम्भावना र पर्यटकीय सम्पदाहरुका बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो भने नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले पठाउनुभएको शुभकामना मन्तव्य पढेर सुनाइएको थियो । 

कार्यक्रममा जर्मनका लागि नेपाली राजदूत रमेश खनाल, काउन्सिलर विशाल भट्टराई, कोलोनका मेयर हाम्स भेर्नर वार्चलगायत जर्मनीमा रहेका नेपाली तथा नेपालप्रेमी जर्मनीका नागरिकहरु गरी करिब पाँच सयको सहभागिता रहेको थियो ।

त्यस अवसरमा बोर्डका सदस्य अभदेश कुमार दासले सातै प्रदेशको पर्यटनको सम्भावना र चितवन राष्ट्रिय निकुन्जका रामकुमार अर्यालले प्रकृति र वन्यजन्तु पर्यटन विषयक कार्यपत्र, फोटो पत्रकार किशोर कायस्थले मुस्ताङको पानोरमा चित्र, पत्रकार अखण्ड भण्डारीले चेपाङसम्बन्धी वृत्तचित्र तथा सङ्गीता दासले मिथिला कलाको प्रदर्शनी गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कला संस्कृति झल्किने लोक नृत्यको प्रस्तुति तथा नेपाली खानाको परिकार राखिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया