समृद्ध नेपाल सुखी नेपालीका लागि बौद्ध दर्शन महत्वपूर्ण: गृहमन्त्री

 जेठ ४, २०७६ शनिबार १६:५९:४५ | रासस
unn.prixa.net

काठमाण्डाै - गृहमन्त्री रामबहादुर थापाले शान्ति र सुशासनका माध्यमबाट समृद्ध नेपाल एवं सुखी नेपालीका लागि बौद्ध दर्शनको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभएको छ ।

श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले २५६३औँ बुद्धजयन्तीका अवसरमा शनिबार बौद्ध स्तुपमा आयोजना गरेको कार्यक्रममा उहाँले दुःख र अशान्तिकै कारण बौद्ध दर्शनको जन्म भएको बताउनुभयो । 
 
‘मानिसले आफूलाई केन्द्रविन्दुमा राखेर सोच्दा दुःख र अशान्ति हुने गरेको छ, सबैले हामी भन्ने भावनाबाट अघि बढ्न सके शान्ति स्थापना हुन्छ, अहिंसा, सदाचार, समानता र शान्तिबाट दुःख अन्त्य गर्न सकिन्छ,’ मन्त्री थापाले भन्नुभयो ।
 
विश्वमा वार्षिक खर्बौ डलर हतियार उत्पादनका लागि खर्च हुने गरेकाले पनि शान्तिको आवश्यकता विश्वव्यापी भएको उहाँको भनाइ थियो । यसैकारण पनि पश्चिमा देशमा बौद्ध दर्शनका अनुयायी बढ्दै गएको मन्त्री थापाले सुनाउनुभयो । 

 धार्मिक पर्यटन प्रवर्द्धनका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको उहाँले जानकारी गराउनुभयो । लुम्बिनी, पशुपतिनाथ र जनकपुर क्षेत्रमा बढी पर्यटक आउने गरेकाले यी क्षेत्रको पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री थापाको भनाइ थियो । 

कार्यक्रममा गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले पाँचौँ शताब्दीमा निर्मित बौद्ध स्तुपको धार्मिक महत्व विश्वका बौद्ध धर्मावलम्बीकै लागि भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका रुपमा विकास गरिनुपर्ने बताउनुभयो । 
 
ओशो तपोवनका संस्थापक अध्यक्ष स्वामी आनन्द अरुणले लुम्बिनीमा भौतिक पूर्वाधारको निर्माण गरे वार्षिक ३० लाख पर्यटक भित्र्याउन सकिनेतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । लुम्बिनीमा दुई घण्टाका लागि मात्र आउने पर्यटकलाई एक रात मात्र राख्न सके समृद्ध नेपालको आधार तयार हुने उहाँको भनाइ थियो । वैशाख शुक्ल पूर्णिमालाई विश्व ध्यान दिवसका रुपमा मनाउने पहल नेपाल सरकारका तर्फबाट हुनुपर्ने माग उहाँको थियो । 
 
विश्व हिन्दू महासङ्घकी महासचिव अस्मिता भण्डारीले देशका दूरदराजमा रहेका गुम्बा चर्चमा परिणत हुन थालेकोतर्फ सरोकार भएका निकायको ध्यान बेलैमा जानुपर्ने बताउनुभयो ।
 
सो अवसरमा पूर्व सांसद योगेन्द्र घिसिङ, गुठी संस्थानका पूर्व अध्यक्ष लक्ष्मण ज्ञवाली, ताइवानी बौद्ध अनुयायी उइसो, गुरुआमा खाङ्डोमा, गुठीका प्रबन्धक नवीनबज्र लामालगायतले शाक्यमुनि बुद्धले विश्व शान्तिका लागि पुर्‍याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
 
त्यस अवसरमा चिनियाँ लामा भूपतिबज्र लामाले डा सुनितासिंह लामाले लेख्नुभएको पुस्तक ‘अनाथको बेदना’ विमोचन गर्नुभयो । कार्यक्रमपछि बौद्ध परिसरबाट पीपलबोट–बौद्ध–चावहिल हुँदै फेरि बौद्धसम्म शान्ति र्‍याली प्रदर्शन गरिएको थियो ।
 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया