​व्यंग्य – बुढानिलकण्ठबाट जेटका पाइलटलाई फोन : बालुवाटारमा किन रुख रोपेको ?

 जेठ ५, २०७५ शनिबार ८:१७:३० | मिलन तिमिल्सिना
unn.prixa.net

जेठ महिनामा जेट चढ्नुअघि दुईजना पाइलटले बालुवाटारमा रुख रोपेको खबर बुढानिलकण्ठसम्म पुग्यो । मंसिरमा रुखका पात झरेर हाँगाबिँगा समेत भाँचिएपछि बालुवाटारबाट गुन्टा बोकेर बुढानिलकण्ठ फर्किएका रुख पार्टीका मुलीलाई झनक्क रिस उठ्यो । अनि उनले बालुवाटारमा फोन लगाए ।

– हेलो ओलीजी बोल्नुभयो ?

– ओलीजी हैन, पाइलट ओलीजी भन्नुहोस् । जेटको पाइलट । तपाईँ को बोलेको ? टेम्पो ड्राइभर ?– को टेम्पो ड्राइभर ? रुख पार्टीको चालक बोलेको, बुढानिलकण्ठबाट । 

– एउटा मात्र अध्यक्ष भएको पार्टीको चालक भनेपछि टेम्पो ड्राइभर नै त हो नि ! हामीले त हेर्नुहोस् टेम्पो चलाउन छोडिसक्यौँ । जेट चलाउन थालेको चाल पाउनुभयो होला नि !

– ल धेरै धाक नदेखाउनुस् । हाम्ले पनि चलाएका थियौँ जेट । ठोक्किएर चकनाचुर भयो र पो ! तपाईंका जेटको पनि ठेगान छैन । बरु ट्याम्पो नै ठिक छ । सुन्नुभएको होला नि, टेम्पो त ठोक्किएर पनि धेरै क्षति हुँदैन । जहाज ठोक्किएपछि त सबै चकनाचुर !

– हाम्रो त अब कहिल्यै नठोक्किने जेट हो ! पुष्पलाल अहिले हुनुभएको भए, तपाईँलाई समेत छक्क पार्नेगरी छमछम नाच्नुहुन्थ्यो, यस्तो जेट देखेर । 

– नभएका पुष्पलालको के कुरा, भएका पुष्पकमल त नाचेनन् ! बरु झण्डै आँसु झारेका । हामीले नदेख्या हो र !

– आँसु झार्या हैन । भावुक भएका हुन् ।

–  पार्टी विलय भयो भनेर भावुक भएका त होलान् नि ! 

– विलय भएको भए पनि त्यसरी भन्न मिल्दैन । घोलिएको हो, समुद्रमा नदी मिसिएजस्तो ! कोशी, सेती, कर्णाली नदी हिन्द महासागरमा मिसिएजस्तो ! हिन्द महासागरमा तपाईँले कोशीको पानी खोजेर पाउनुहुन्छ ?

– तपाईँ त आफूलाई राष्ट्रवादी मान्छे भन्नुहुन्थ्यो, आत्मनिर्भरको कुरा गर्नुहुन्थ्यो । उदाहरण पनि हिन्द महासागरको दिनुपर्छ र ! सप्तकोशीको पनि दिन मिल्थ्यो नि ?

– हेर्नुहोस् जेट चलाउने मान्छेले आकाशबाट समुद्र, महासागर मात्र देख्छ । महासागरमाथि उड्ने मान्छेले अब सानातिना नदीनालाको के कुरा गर्नु ! सिधै महासागरको कुरा गर्देको नि ! त्यसमाथि हेर्नुहोस् मोदीजीसँग मेरो सबै कुरा मिलिसक्यो । हिन्द महासागरको उदाहरण दिँदा मुख बिटुलो हुँदैन । बरु जेटमा चढिसकेको मान्छेले तपाईँजस्ता टेम्पो ड्राइभरसँग कुरा गर्दा पो मुख बिटुलो होला जस्तो भो त !

– तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ ! चुप लाग्नुहोस् !

– किन चुप लाग्ने ? तपाईँ आफैले फोन गर्या होइन र ? ! त्यसमाथि प्रचण्डजीले भन्या सुन्नुभयो होला नि ! हामी त हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेजस्तो बनेको नयाँ पार्टीको मान्छे ! पानीकै कुरा गर्छौँ । नदीको कुरा, सागरको कुरा, महासागरको कुरा गर्छौं ।

– ल धेरै नखोकौँ ! पानी पनि वाफ बनेर उड्छ भन्ने हामीलाई थाहा छ ।

– वाफ बनेर कहाँ पुग्छ र ! पुग्ने आकाशमै हो । आकाशमा हाम्रै बादल छन् । बादल भनेको हाम्रै हाइकमाण्डका मान्छे राम ! रामसँगै इश्वर छन् । इश्वरसँगै विष्णु छन् । नारायण छन् । माधव छन् । बामदेव छन् । सबै भगवानका नाम गरेका !

– इश्वर नमान्ने मान्छेलाई भगवानका नाम जति भए पनि के काम ?

- कहिलेकाहीँ मान्नुपर्छ । इश्वरलाई नि मान्नुपर्छ । माधवलाई नि मान्नुपर्छ । पुष्पकमललाई पनि चढाउनुपर्छ । कृष्णलाई नि बहादुर ठान्नुपर्छ । अहिले विष्णुलाई अघि सारेका छौँ । नारायणलाई ठाउँ दिएका छौं । नमानेर, नदिएर के गर्नुहुन्छ ? तपाईंले पो रामचन्द्रलाई मान्नुभएन । कृष्णलाई टेर्नुभएन । सिंहलाई गन्नुभएन ! 

– तिनीहरुका नाम नसुनाउनुस् मलाई । सम्झँदा नि टाउको दुख्छ । 

– मलाई सम्झँदा चाहिँ दुखेन र ?

– किन नदुख्नु । तपाईँको त नाम सम्झनै मन लाग्दैन । अनुहार नै हेर्न नपरे पनि हुन्थ्यो जस्तो लाग्छ । प्रचण्डसँग मिलेर, हुँदाखाँदाको पार्टीलाई बढारेर, त्यतिका वर्ष आफ्नो घरजस्तै बनाएको बालुवाटारबाट लखेटेर तपाईँले त बर्बादै बनाउनुभयो नि ! तैपनि सम्झनुपर्यो । तपाईँले जान्ने भएर बालुवाटारमा किन रुख रोपेको ? त्यही सोध्न फोन गरेको ।

– रुखलाई नचलाई, नजिस्क्याई मलाई चित्तै बुझ्दैन हेर्नुहोस् ! पहिले बालुवाटार छोड्ने बेला पिपलको रुख रोपेँ । तपाईँले वास्ता नै गर्नुभएन । अस्ति आउँदा मैले नै पानी हालेँ । बल्ल हुर्कन थालेको छ । यसपटक जेट चढ्नेबेला प्रचण्डजीले फेरि रुख रोपौँ भन्नुभयो । उहाँलाई पनि बेलाबेला रुखको छहारी मन पर्छ । मलाई जिस्क्याउन मन पर्ने, उहाँलाई बेलाबेला समाउन मन पर्ने । भोलि फेरि समाउनुपर्ने अवस्था आइहाल्ला कि भन्ने उहाँलाई लाग्यो होला । अनि रोप्यौँ ।

– मलाई धेरै रुख मन पर्दैन भन्ने तपाईँलाई थाहा छैन ! म आफूलाई मात्रै शीतल दिन पुग्ने एक दुईवटा भए पुग्छ । त्यसैले त पोहोर वैशाखदेखि मंसिरमा सबै फाँडेर सकेँ ।

– तपाईँलाई मन नपरे पनि हामीलाई बेलाबेला यही रुखसँग जिस्किनुपर्छ । हेर्नुहोस् सानोतिनो पार्टीको खोइरो खनेर धित पनि मर्दैन । अब खोइरो खन्न अलिअलि सुहाउने जस्तो एउटा तपाईँको मात्र पार्टी छ । प्रचण्डजीलाई पहिलेजसरी गाली गर्न मिल्दैन । गाली गर्न सुहाउने पार्टी एउटा तपाईँको हो । त्यो पनि मासिएला भन्ने डर छ । तपाईँको पार्टी पनि मासियो भने कोसित निहुँ खोज्ने ? कसलाई गाली गरेर धित मार्ने । कम्तिमा चुनावको बेला मुखभरीको जवाफ दिन मिल्ने हैसियतको त बनाउनुपर्यो नि तपाईँहरुलाई । रुख धेरै भयो भने मज्जाले जुहारी खेल्न पाइन्छ नि । त्यसैले रोप्यौँ हेर्नुहोस् । रुख हुर्काएर यसको चर्तिकला हेर्नुछ ।

– रुखै रोप्नुथियो भने देशभित्रै पाइने वर, पीपल पो रोप्नुपथ्र्यो । जापानी बिरुवा रोप्नुभयो रे त ?

– देशभित्रको रुखको भर लागेन हेर्नुहोस् । तपाईँले हेरचाह गर्ने जिम्मा पाएको रुख काम लाग्ने रहेनछन् । तपाईँको छायाँ पर्ने बित्तिकै सुक्ने रुख के काम ? त्यसैले अणुबमले पनि नमास्ने रुख खोजेको । आफ्नै पार्टीको नाम मिल्ने भाइहरु पनि बेलाबेला बम पड्काएर रमिता देखाउँछन् । बम नै छेक्न सक्ने रुख त रोप्नुपर्यो नि । त्यसमाथि वर्षमा तीनपटक रंग फेर्ने खालको पनि हो भन्ने थाहा पाउनुभएको होला नि !

– ठ्याक्कै आफूहरुकै स्वभावको रोज्नुभएछ त ! बेलाबेला रंग फेर्ने ।

– हो त फेर्छौँ के गर्नुहुन्छ ? रंग पनि फेर्छौँ । चालकको सिट पनि फेर्छौँ । कुरा पनि फेर्छौँ । अर्कोपटक तीनचौथाई ल्याएर तपाईंको आकार अझै फेर्छौँ । तंग्रिन मन छ भने अहिलेदेखि नै बर्नभिटा खानुहोस् । अहिलेलाई फोन राखेँ ।

– हेलो पख्नुहोस् न !

– जेटमा चढेपछि फोन गर्न मिल्दैन भन्ने थाहा छैन ? प्रचण्डजीले जेटको इञ्जिन स्टार्ट गरिसक्नुभयो, मैले ह्याण्डल समाइसकेँ । गुड बाई !

अन्तिम अपडेट: मंसिर १२, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया