६ हजार ट्याक्सीको मिटर भाडा समायोजन

 जेठ ८, २०७६ बुधबार १२:४३:५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ ।

विभागले २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा बढेको भाडा समायोजन गरिँदै आएको जानकारी दिनुभयो । 'मिटर र प्रिन्टर मेसिन ठिक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ', उहाँ भन्नुहुन्छ । 

विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । पहिला ट्याक्सी चलाउन थालेपछि सुरुमा १४ रुपैयाँ र एक किलोमिटर गुडिसकेपछि ५० रुपैयाँ उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि सुरुमा १५ रुपैयाँ र एक किलोमिटर गुडेपछि ५३ रुपैयाँ उठ्नेछ । 

यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ । सरकारले ट्याक्सीमा भाडा समायोजन गरेपछि केही ट्याक्सी चालक भने अझै पनि मिटरमा जान मान्दैनन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०७५ मङ्सिरदेखि हालसम्म मिटरमा जान नमान्ने तीन हजार ट्याक्सीलाई कारबाही गरेको छ ।

महाशाखाका प्रमुख वसन्तकुमार पन्त ट्राफिक प्रहरीमा ट्याक्सी चालक मिटरमा जान नमान्ने उजुरीका आधारमा कारबाही गर्दै आएको बताउनुहुन्छ । महाशाखाले दैनिक ४० ट्राफिक प्रहरीलाई सादा पोशाकमा खटाउँदै आएको छ । 

नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत पुगेको बताउनुहुन्छ । 'समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा सङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ', उहाँ भन्नुहुन्छ । 

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाण्डाै उपत्यकामा मात्र १० हजार ६०० मिटर ट्याक्सी सञ्चालनमा छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया