विश्वकप क्रिकेट: यी हुन् लर्ड्स मैदानमा बनेका रेकर्ड

 जेठ ९, २०७६ बिहिबार १७:५५:१५ | एजेन्सी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट २०१९ सुरु हुन अब सात दिन मात्र बाँकी छ । विश्वकपकाे मिति नजिकिएसँगै क्रिकेटप्रेमी आ-आफ्नाे देशकाे समर्थनमा उत्रिएका छन् ।

लण्डनको लर्ड्स मैदानमा आईसीसी विश्वकप क्रिकेटका पाँच वटा खेल आयोजना हुनेछन् । जसमा पाकिस्तान र दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अस्ट्रेलिया, न्युजिल्याण्ड र अस्ट्रेलिया, बंगलादेश र पाकिस्तानका बीचमा समूह चरणको खेल हुने छ भने फाइनल खेल पनि यही मैदानमा हुनेछ ।

अहिलेसम्म पाँच पटक इंग्ल्याण्डले विश्वकप आयोजना गर्ने भएकाले लर्ड्स मैदान विश्वकपको सर्वाधिक फाइनल खेल गराउने विश्वको एकमात्र मैदानको रुपमा दर्ता पनि हुनेछ ।

यस मैदानमा अहिलेसम्म ६२ वटा एकदिवसीय क्रिकेट आयोजना भएका छन् । जसमा ११ वटा विश्वकपका खेल पनि समावेश छन् । सन् १९७५ को विश्वकपमा एउटा लिग खेल र सेमिफाइनल तथा फाइनल खेल यसै मैदानमा भएका थिए ।

सन् १९७९ मा एक लिग र फाइनल खेल भएको थियो भने सन् १९८३ मा दुई लिग र फाइनल खेल पनि यही आयोजना भयो । सन् १९९९ मा एउटा सुपर सिक्सको खेल र फाइनल खेल पनि सञ्चालन गरेको थियो । यस मैदानमा दर्शकको क्षमता ३१ हजार पुर्‍याइएको छ । यसअघि यसको क्षमता २५ हजार मात्रै थियो ।

ब्याटिङ रेकर्ड

३ सय ३४ रन यहाँको ब्याटिङ रेकर्ड हो । जुन सन् १९७५ को विश्वकपमा इंग्ल्याण्डले भारतविरुद्ध ६० ओभरमा ४ विकेट गुमाएर बनाएको थियो । यौ मैदानमा १ सय ७ रन सर्वाधिक कम स्कोर हो । सन् २००३ मा दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्याण्ड १ सय ७ रनमा अल आउट भएको थियो ।

५ सय ९५ रन बनाएका इंग्ल्याण्डका मार्क्स ट्रेसकोथिक यस मैदानमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । त्यसैगरी १ सय ३८ रन सर्वाधिक व्यक्तिगत स्कोर हो । सन् १९७९ मा वेस्ट इण्डिजका भिभियन रिचर्डसले इंग्ल्याण्डविरुद्ध बनाएका थिए ।

याे मैदानमा अहिलेसम्म ३० वटा शतक देख्न पाइएको छ । तीन शतकका साथ इंग्ल्याण्डका मार्क्स ट्रेसकोथिकले यो मैदानमा सर्वाधिक शतक बनाउने कीर्तिमान राखेका छन् । यस मैदानमा ६ वटा अर्धशतक बनाउने इंग्ल्याण्डका एलेक स्टिवर्टको रेकर्ड रहेको छ ।

बलिङ रेकर्ड

२७ विकेट लिएर इंग्ल्याण्डका डेरेन गफ शीर्ष स्थानमा छन् । सन् २००४ मा न्युजिल्याण्डका डेनियल भिटोरीले वेस्ट इण्डिजविरुद्ध ३० रन खर्चिएर एकै पारिमा ५ विकेट लिएका थिए । यो नै भिटोरीको सर्वाधिक सफल बलिङ रेकर्ड पनि हो ।

लर्ड्स मैदानमा ९ पटक बलरले पाँच भन्दा बढी विकेट लिएका छन् । २ पटक पाँच विकेट लिने रेकर्ड अस्ट्रेलियाका ब्रेट लीको नाम आउँछ ।

विकेट किपिङ रेकर्ड

यस मैदानमा इंग्ल्याण्डका एलेक स्टीवर्टले १९ जना ब्याट्सम्यानलाई विकेट पछाडिबाट आउट गरेका छन् ।

फिल्डिङ रेकर्ड

यस मैदानमा इंग्ल्याण्डका जेम्स एन्डरसनले ८ खेलाडीलाई आउट गरेका छन् । एउटै खेलमा तीन वटा क्याच लिने फिल्डरको पनि यहाँ रेकर्ड बनेको छ ।

सन् १९९९ मा इंग्ल्याण्डका ग्राहम थाेर्पले श्रीलंकाविरुद्ध, वेस्टइण्डिजका क्रिस गेलले इंग्ल्याण्डविरुद्ध, सन् २०१० मा इंग्ल्याण्डका जेम्स एन्डरसनले अस्ट्रेलियाविरुद्ध, सन् २०१७ मा इंग्ल्याण्डका जेक बलले आयरल्याण्डविरुद्ध र सन् २०१८ मा इंग्ल्याण्डकै बेन स्टोक्सले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै तीनवटा क्याच लिएका थिए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया