‘मागे जति दाइजो नपाएपछि हत्या’

 जेठ १०, २०७६ शुक्रबार १०:३७:४६ | रासस

बाँके - बाँकेमा मागे जति दाइजो नदिएको निहुँमा जानकी गाउँपालिका–३, इन्द्रपुरकी २१ वर्षीया नीरा कुर्मीको हत्या भएको बताइएको छ ।

अघिल्लाे वर्षको वैशाखमा डुडुवा गाउँपालिका–३, वनकट्टीका २२ वर्षीय राममनोहर कुर्मीसँग विवाह भएकी नीराको माइती पक्षले हत्या भएको दावी गरेको छ ।
 
नेपालगञ्जमा शुक्रबार माइती पक्षले पत्रकार सम्मेलन गरी विवाहपछि राममनोहरले दाइजो नदिएको भन्दै पटकपटक कुटपिट गर्ने गरेको र दाइजो नपाएकै कारण हत्या भएको दावी गरेको हाे । नीराका बुबा राधेश्याम कुर्मीका अनुसार दाइजो नल्याएको भन्दै राममनोहर र उनका परिवारले पटकपटक कुटपिट गर्दै आएको नीराले माइतीमा बताउँदै आएकी थिइन् ।
 
मरणासन्न हुनेगरी कुटपिट भएपछि नीरा गएकाे माघ १ गते भेरी अस्पतालमा भर्नासमेत भएकी थिइन् । विवाहमा सात लाख रुपैयाँ खर्च गरेका माइती पक्षले छोरीमाथिको अन्याय सहन नसकेर गएको वैशाखमा फेरि १ लाख बराबरको सोफा, दराजलगायतका सामग्री राममनोहरलाई दिएको नीराका बुवा राधेश्यामले बताउनुभयो । 

त्यसपछि पनि मोटरसाइकल नदिएको भन्दै राममनोहरले पटकपटक कुटपिट गरेका परिवारकाे भनाइ छ । बारम्बार कुटपिट हुन थालेपछि न्याय माग्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय बाँकेको महिला सेलमा उजुरी दिएपछि आगामी दिनमा गल्ती नदोहोर्‍याउने भन्दै माफी मागेर नीरालाई घर लगेका थिए । तर यही जेठ २ गते दिउँसो नीरा झुण्डिएको अवस्थामा फेला परेपछि माइती पक्षले आत्महत्या नभइ हत्या भएको दावी गरेको हाे ।

‘आत्महत्या होइन, घर परिवारले मिलेर हत्या गरेको हो’, नीराका बुबा राधेश्यामले भन्नुभयो,‘मेरो छोरीको हत्या गर्ने परिवारलाई कडा कारबाही हुनुपर्छ ।’

आत्महत्या हो वा होइन भन्ने विषयमा प्रहरीले अनुसन्धानका लागि नीराका श्रीमान् राममनोहरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया