गण्डकीमा १७५ उद्योग खोलिने

 जेठ १४, २०७६ मंगलबार ६:३३:६ | रासस
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सरकारले प्रदेशमा १७५ उद्योग खोल्ने तयारी गरेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबार आयोजित ‘गण्डकी प्रदेशमा निर्यात सम्भावना, आयात प्रतिस्थापन तथा अन्तर प्रादेशिक प्रोफाइल प्रतिवेदन तयारी’ विषयक गोष्ठीमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आगामी आवभित्रै हिमालमा २५, पहाडमा ५० र तराईमा एक सय उद्योग खोलिने बताउनुभयो ।

चालू आर्थिक वर्षमा नै उद्योग खोल्ने घोषणा गरिए पनि कार्यविधि निर्माणका साथै सम्भाव्यता अध्ययनमै समय बितेको उहाँले जानकारी गराउनुभयो । सम्भाव्यता अध्ययनसहित स्थानीय कच्चापदार्थ प्रयोग हुने उद्योग खोलिने उहाँको भनाइ छ । प्रदेश सरकारले राम्रो उद्योग नीति ल्याएको उल्लेख गर्दै मन्त्री लम्सालले शिक्षाबिना समृद्धि सम्भव नभएको धारणा राख्नुभयो ।

दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा नीति ल्याउनुपर्नेमा जोड दिँदै उहाँले आवश्यकतानुसारको योजना निर्माण र उद्योग खोल्ने नीति लिइएको बताउनुभयो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले चालू आव २०७५÷७६ मा व्यापार घाटा अझ बढ्ने बताउनुभयो ।

गएको वर्ष देशको कूल निर्यात ८१ अर्ब रुपैयाँ र आयात १२ खर्ब ४५ करोड रुपैयाँ रहेको उल्लेख गर्दै उहाँले चालू आवको नौ महिनाको व्यापार अवस्था हेर्दा घाटा अझ बढ्ने देखिएको जानकारी गराउनुभयो । उत्पादकत्व बढाउँदै आत्मनिर्भर अर्थतन्त्रतर्फको यात्रा तय गरेपछि मात्रै निर्यातबारे पनि सोच्न सकिने अवस्था रहेको उहाँले स्मरण गराउनुभयो ।

निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत नवराज मरहट्टाले कूल गार्हस्थ्य उत्पादनमा ७ दशमलव ६ प्रतिशत योगदानसहित सात प्रदेशमध्ये गण्डकी पाँचौँमा रहेको जानकारी गराउनुभयो । गण्डकीमा रहेको भौगोलिक विविधता, कोरला र सुस्ता नाका एवम् उत्पादकत्व भएको भूमिको समुचित लाभ लिन सके यो प्रदेशले आर्थिक उन्नति गर्न सक्ने उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य सङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले सिंहदरबारको अधिकार गाउँगाउँमा मात्रै होइन, गोठगोठमा पु¥याए मात्र आत्मनिर्भर अर्थतन्त्र बन्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले नेपालले आफ्ना उत्पादनको पहिचान गर्न नसक्दा व्यापार घाटा चुलिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सङ्घका कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, पोखरा पर्यटन परिषद्का अध्यक्ष चीरञ्जीवी पोखरेल, वाणिज्य सङ्घका कार्यसमिति सदस्य मुना बाँस्तोला, हरिराज पन्तलगायतले निकासी प्रवर्द्धन र आयात विस्थापनका लागि उत्पादनमा जोड दिनुभयो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया