दुई तिहाईको सरकारको आँट बजेटमा देखिएन : नेपाली का‌ंग्रेस

 जेठ १७, २०७६ शुक्रबार १८:२०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सैद्धान्तिक अन्तरविरोधको जगमा बजेट आएको प्रतिक्रिया दिएको छ ।

कम्युनिष्ट दर्शनको शास्त्रीय मनोविज्ञान र लोकतान्त्रिक संविधानको वस्तुगत यथार्थताबीच हिँड्दै आफ्नै भनाइलाई खण्डित गर्ने गरी सरकारले बजेट ल्याएको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले लिएको अर्थनीति गलत छ भने पनि कांग्रेसले अबलम्बन गरेकै नीतिमा केही रंग थपेर बजेट ल्याएको कांग्रेसले दाबी गरेको छ ।

कांग्रेसले शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी बजेट मथिको औपचारिक धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले लोकरिझ्याँइका पुरानै कार्यक्रम ल्याइएको र अघिल्लो वर्षकै बजेटको अन्यौलतालाई कपिपेस्ट गर्ने काम भएको बताउनुभयो ।

नवीन कार्यक्रम, दुरगामी लक्षहरु र जोखिम मोल्न सक्ने क्षमताको दुई तिहाईको सरकारको आँट बजेटमा नदेखिएको टिप्पणी कांग्रेसले गरेको छ । निर्वाचनका बेला तत्कालीन दुई कम्युनिष्ट पार्टीले नागरिकलाई बाँडेको सपना र बजेटको यथार्थता भिन्न भएको कांग्रेसकाे धारणा छ । आउँदाे ५ वर्षमा सपनाको १० प्रतिशत मात्रै पनि लक्ष्य प्राप्ती हुने संकेत र संभावना बजेटमा नदेखिएको टिप्पाणी कांग्रेसले गरेको छ ।

प्रवक्ता शर्माले भन्नुभयो, 'पहिलो पाइला टेक्दै गर्दा डगमगाएर टेक्यो भने दोस्राे पाइलाको असन्तुलन त अनुमान गर्न सकिहालिन्छ । गएको सालको आर्थिक वर्षको बजेटलाई पहिलो पाइला मान्ने हो भने, त्यही पहिलो पाइलाले छोडेको अलमल, अलपत्र योजना र पुरानै अधुरा सपनाहरुको भारी दाेस्राे वर्षको बेजेटलाई  बोकाइएको छ ।'

कांग्रेसले तलब वृद्धिलाई शीतल मिठाईको संज्ञा दिएको छ । लोकप्रियता रोज्ने कि लोकहित खोज्ने भन्ने सन्दर्भमा सरकारले भिन्न ढंगले बजेटमा शक्तिशाली सरकारको क्षमता प्रस्तुत गर्न नसकेको टिप्पणी कांग्रेसले गरेको छ ।

कार्ययोजना, दृष्टिकोण, इच्छाशक्ति र संरचनागत सुधारका विषयबीना नै आयश्रोत र क्षमताको वृद्धि नगरिकन बजेटको आकार बढाइएकाले त्यसले अपेक्षित परिणाम नदिने निष्कर्ष कांग्रेसले निकालेको छ ।

प्रशासनिक खर्चको आकार घटाउदै जाने, पूँजीगत बजेट बढाउदै जाने र खर्च गर्ने क्षमतालाई वृद्धि गर्दै लैजाने ढंगको बजेट सन्तुलनको प्रकृति अवलम्बन गर्न नसकेको तथा सार्वजनिक खर्च पुनरावलोकन आयोगले सुझाएका विषयमा सरकार गम्भीर हुन नसकेको आरोप कांग्रेसले लगाएको छ । विकास खर्चका लागि विदेशी र स्वदेशी ऋणको जोहो गर्नुपर्ने जोखिमपूर्ण अवस्थामा बजेट आएको कांग्रेसको निष्कर्ष छ ।

अघिल्लाे वर्षको बजेटमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावशून्य भएको, उच्च शिक्षा हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याज अदनुदनामा ७ लाख सम्म ऋण उपलब्ध गराइने कार्यक्रमकाे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको  कांग्रेसले दाबी गरेको छ ।

कांग्रेसले अघिल्लो वर्षका कार्यक्रम कार्यान्वयनको वस्तुगत समिक्षा गरी त्यसमा सुधार गर्ने कार्यक्रम बजेटमा नल्याइएको जनाएको छ । बजेट घोषणा गर्दै गर्दा सरकार स्वंमले मूल्यवृद्धिलाई स्वीकार गरेको, शोधानान्तर घाटा न्यून गर्दै लैजान चुकेको, व्यापार घाटा न्यून गर्नु भन्दा आलुचिप्स र केराउमा केन्द्रित भएको टिप्पणी कांग्रेले गरेको छ । कांग्रेसले विकास कार्यमा सांसदलाई समावेश गर्न नसकेको तथा संघीयतालाई सफल बनाउने मनोविज्ञानमा बजेट केन्द्रित हुन नसक्ने बताएको छ ।

पत्रकार सम्मेलनमा कांग्रेसको छाया सरकारका अर्थमन्त्री डाक्टर मिनेन्द्र रिजालले कार्यान्वयन गर्ने तयारीबिना मिठाई चटाउने शैलीमा सरकारले बजेट ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो,  'सरकार मिठाइ चटाउनेमा छ । गर्नुपर्ने काम लेख्या छ तर गुर्नपर्ने काम गर्न सक्ने क्षमता छैन ।'

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया