वर्षाले सबै ठाउँको डढेलो निभायो, शनिवारसम्म नै पानी पर्ने सम्...
बैशाख २७, २०८१ बिहिबार
भारतीय क्रिकेट टिमलाई सन् १९८७ को विश्व कपदेखि नै हरेक पटकको विश्वकप विजेताको दाबेदारको रुपमा हेरिन थालियो र सन् २०११ मा पनि भारतले विश्वकप आफ्नो पोल्टामा पार्न सफल भयाे ।
प्रायजसो विश्व कपमा चार वटा टिमलाई नै मुख्य दाबेदार मानिन्छ । यो संस्करणको विश्व कपमा पनि यही अनुमान गरिएको छ ।
क्रिकेट विश्लेषक र सट्टेबाजको नजरमा आयोजक इंग्ल्याण्ड बाहेक अष्ट्रेलिया र भारतलाई दाबेदार मानिएको छ । यही टिम नै सेमिफाइनलमा पुग्ने अनुमान गरिएको छ भने यी टिम नै वास्तवमा सन्तुलित देखिएका छन् ।
सेमिफाइनलको चौथो टिमका लागि दक्षिण अफ्रिका र न्यूजिल्याण्डलाई दाबेदार मानिए पनि कुनै समयको क्रिकेटको बादशाह मानिने वेस्टइण्डिजको लागि पनि राम्रो मौका छ ।
यो विश्व कपमा खेल्नका लागि वेस्ट इण्डिजले छनोट खेल खेल्नुपरेको थियो । तर यो टिम प्रतिभाशाली खेलाडीले भरिएको छ र यो टिमको सहजै आँकलन गर्न पनि असम्भव देखिएको छ । उता न्यूजिल्याण्ड पनि कुनै दोस्रो टिमको तुलनामा सबैभन्दा धेरै सेमिफाइनलमा पुग्ने टिम हो ।
फेरि विश्व विजेता बन्न भारतको सम्भावना कति ?
याे विश्वकपमा सबैभन्दा ठूलो प्रश्न त के हो भने, के भारतले यो संस्करणको उपाधि जित्न सक्छ कि सक्दैन ? यसको उत्तर पनि जित्न सक्छ भन्ने नै छ । तर सेमिफाइनलमा पुग्ने चार वटा नै टिम यसको प्रबल दाबेदार हुन सक्नेछन् ।
यस पटकको विश्व कपमा अफगानिस्तान, बंगलादेश र श्रीलंकाजस्ता टिम पनि अरु टिमलाई टक्कर दिन सक्नेछन् । श्रीलंका टिमले सन् १९९६ मा विश्व कप जितेको थियो भने तीन पटक फाइनलमा पुगिसकेको छ ।
तर विश्व कपमा त्यही टिम सफल हुन्छ, जसको प्रदर्शन सधैँ सन्तुलित हुन्छ । केही टिमले उत्कृष्ट पुनरागमन गर्दै, लगातार जित हात पर्दै उपाधिसम्म जितेको पनि इतिहास छ ।
यो पनि सत्य हो कि धमाकेदार सुरुवात गरेर लगातार जित हासिल गरेका केही टिमले अन्तिममा गएर उपाधि नजितेका उदाहरणहरु पनि छन् । विश्व कप तिनैले जिते, जसले अपेक्षाकृत सन्तुलित प्रदर्शन गरे, प्रत्येक खेलमा आत्मविश्वास बटुल्दै गए, कमजोरीका कारण एक दुई खेल गुमाए र आफ्नो गल्तीलाई सुधारे ।
कैयौ पटक प्रतियोगिताको कुनै खेल टिमको लागि ‘टर्निंग प्वाइन्ट’ सावित भएको छ । सन् २०११ को विश्व कपमा भारतीय टिमले अष्ट्रेलियालाई हराएपछि एउटा छुट्टै टिमको रुपमा चिनियो । भारतले फिल्डिंगमा पनि निकै सुधार भएको थियो ।
इंग्ल्याण्डमा जारी विश्वकपमा सेमिफाइनलमा पुग्नका लागि कुनै पनि टिमले ‘राउण्ड रोबिन’ लिगमा कम्तिमा पाँच खेल जित्नुपर्छ । शीर्ष चार टिम नै सेमिफाइनलमा पुग्छन् ।
भारतीय समर्थकहरुले आफ्नो टिमले आफूभन्दा तलका तीन वटा टिमलाई सहजै हराउने अनुमान लगाएका छन् । यसको अलावा वेस्टइण्डिजविरुद्ध पनि जित हासिल गर्नेमा विश्वस्त छन् । यसपछि भारतीय टिमलाई सेमिफाइनलमा पुग्नका लागि मात्र एक खेलमा जित आवश्यक हुन्छ । तर यो त्यति सहज छैन, किनकि यो नियम अरु टिममा पनि लागू हुन्छ ।
‘चोकर्स’ टिम र भारत–पाकिस्तानको चर्चा
यो सबै कुरा गर्दैगर्दा १६ जुन पनि आउँछ, जुन दिन भारतीय टिमले वर्ल्ड कपमा पाकिस्तानको सामना गर्नेछ । यी दुई टिमबीच पछिल्लो केही वर्षमा कुनै पनि सिरिज भएको छैन । यी दुई टिम केबल बहुराष्ट्रिय प्रतियोगितामा आमने सामने भएका छन् ।
विश्व कप क्रिकेट विशेषतः दुई कुराको लागि चर्चित छः पहिलो कुरा त दक्षिण अफ्रिका यो प्रतियोगितामा सधैँ असफल रहेको छ, जसका कारण दक्षिण अफ्रिकालाई ‘चोकर्स’ पनि भनिन्छ । दोस्रो खास कुरा चाहिँ भारतले विश्व कपमा पाकिस्तानसँग एक पटक पनि हारेको छैन ।
भारत र पाकिस्तान विश्व कपमा अहिलेसम्म छ पटक खेलेका छन्, जसमा छ पटक नै भारतले बाजी मारेको छ । यही कारणले गर्दा पनि भारत–पाकिस्तानको खेललाई सबैभन्दा रोमाञ्चक मानिन्छ ।
यी दुई टिमका खेलाडी यो प्रतियोगितालाई लिएर तनावमा छन् किनकि हारपछि यी दुवै टिमका फ्यानले उनीहरुको पुतला जलाउन सक्छन्, खेलाडीहरुको घरमा ढुंगा हान्न सक्छन् ।
यो विश्व कपमा भारतको स्थिति कस्तो छ ?
भारतीय टिमका शीर्ष तीन खेलाडी र अन्तिम तीन खेलाडी विश्वस्तरीय छन् ।
शिखर धावन र रोहित शर्माको जोडी विश्वको सबैभन्दा उत्कृष्ट जोडी ब्याट्सम्यान मानिन्छन् । यसपछि तीन नम्बरमा विराट कोहली छन् । विराटलाई विश्वकै सर्वाेत्कृष्ट ब्याट्सम्यानको रुपमा हेरिन्छ । त्यसैगरी केएल राहुल पनि भारतको लागि भरपर्दा ब्याट्सम्यान हुन् ।
उता जसप्रिल बुमराहलाई विश्वका सबैभन्दा उत्कृष्ट बलर मानिएको छ । बुमराह अन्तिम ओभरमा शानदार बलिङ गर्नका लागि चर्चित छन् । यद्यपि उनको सुरुवाति ओभर पनि विपक्षी टिमका ब्याट्सम्यानका लागि निकै घातक सावित भएको छ । मोहम्मद शमी र भुवनेश्वर कुमार पनि शानदार लयमा छन् ।
यी तीन जना बलर बाहेक स्पिनर बलर यजुवेन्द्र चाहल र कुलदीप यादव पनि भारतको भराेसा बन्नेछन् । यी दुई जनाले इंग्ल्याण्डको मैदानमा आफ्नो क्षमता पनि देखाइसकेका छन् ।
भारतीय टिमको लागि सबै सन्तुलित छ भन्ने अवस्था पनि छैन । मध्य क्रमका ब्याट्सम्यान टिमको लागि सबैभन्दा चिन्ताको विषय रहेको छ । यद्यपि सातौं नम्बरका ब्याट्सम्यान महेन्द्रसिंहको उपस्थितिले भारतीय टिमलाई भने केही राहत हुनेछ । उनले अभ्यास खेलमा शतक बनाएर पनि संकेत दिइसकेका छन् । तर भारतीय टिम प्रबन्धक नै पाँचौं नम्बरमा विशुद्ध ब्याट्सम्यानलाई खेलाउने कि अलराउण्डरलाई खेलाउने भन्ने बारेमा निश्चित हुन सकेको छैन ।
टिमको पाँचौ ब्याट्सम्यानका रुपमा हार्दिक पाण्ड्या छन्, जो तल्लो क्रममा पनि ब्याट चलाउन सक्छन् । उनको अलावा बायाँ हाते स्पिन बलर रवीन्द्र जडेजा पनि सक्षम छन् । त्यस्तै केदार जाधवको ब्याटिङको स्ट्राइक रेट १०० भन्दामाथि हुँदा बलिङ पनि राम्रै गर्छन् ।
चार नम्बर खेलाडीका रुपमा सामेल गरिएका विजय शंकर मध्यम पेस बलिङ गर्न सक्छन् र ब्याटिङ पनि गर्न सक्छन् ।
विकेटपछाडि धोनीको उपस्थिति निकै महत्वपूर्ण हुनेछ । हालको खेलमा भारतीय टिम दुई कप्तानसँग खेलिरहेको छ । भारतीय टिमले ब्याटिङ गर्दा कोहलीले कप्तानी गर्दै आइरहेका छन् भने भारतीय टिमले फिल्डिङ गर्दा धोनीले कप्तानको भूमिका निभाएको देख्न सकिन्छ । विशेषगरी स्पिन बलहरुका लागि विकेटकिपरको ‘इनपुट्स’ निकै उपयाेगी हुन्छ ।
विश्व कप कप्तानले नै जित्दै आइरहेका छन्
सन् १९७० को दशकमा क्लाइव लायडले दुई पटक विश्वकप जिताएका थिए । सन् १९८० को दशकमा कपिल देव र एलन बर्डर विश्व विजेता बने । ९० को दशकमा इमरान खान, अर्जुन रणातुंगा र स्टीव वले आ–आफ्नो टिमका लागि विश्वकप जिताए ।
यो दशकमा रिकी पोन्टिंग, महेन्द्र सिंह धोनी र माइकल क्लार्क विश्व विजेता कप्तान साबित भए । यी मध्ये हर कप्तानले विश्व कपको दौरान आफ्नो नेतृत्वशैली र आफ्नो पकडको परिचय दिए ।
अहिलेको भारतीय क्रिकेट टिम पनि कोहलीकरण भैसकेको छ । वर्तमान भारतीय टिम पनि कोहली जस्तै आक्रामक, फिट र जितको भोको छ ।
-बीबीसी हिन्दीका लागि वरिष्ठ खेल पत्रकार सुरेश मेननले तयार पारेकाे सामग्रीकाे अनूदित अंश
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।