हावाहुरीले कञ्चनपुरका ८ सय ७० घरमा क्षति

 जेठ २७, २०७६ सोमबार ९:३१:२० | रासस
unn.prixa.net

कञ्चनपुर - तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८ सय ७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ ।

रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । ‘जिल्लाभर रहेका १५ उपशाखाबाट गरिएको क्षति विवरण सङ्कलनको प्रारम्भिक रेकर्ड हो ।’ जिल्ला रेडक्रस सोसाइटीको कार्यालयका कार्यालय प्रमुख मनोज उप्रेतीले भन्नुभयो, ‘वास्तविक रेकर्ड आउन एक/दुई दिन लाग्छ ।’

उहाँले वास्तविक रेकर्ड सङ्कलनका लागि रेडक्रस, स्थानीय तह, स्थानीय प्रशासनका साथै सुरक्षा निकाय संयुक्तरुपमा खटिएको समेत जानकारी दिनुभयो । ‘स्थलगत अनुगमनका क्रममा पूर्णरुपमा क्षति भएको देखिएको परिवारलाई रेडक्रसले राहत प्याकेज पनि उपलब्ध गराउँदै हिँडेको छ ।’

त्यस्तै हावाहुरीका कारण कञ्चनपुरका ५ सय २५ बिजुलीका पोल भाँचिएका छन् । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले विद्युत्तर्फ पोल भाँचिनुका साथै धेरै ठाउँमा तारमा समेत क्षति पुगेको बताउनुभयो ।

उहाँले विद्युत्मा यहाँ रु डेढ करोड बराबरको क्षति भएको बताउनुभयो । उहाँले जिल्लाको अधिकांश ठाउँमा विद्युत् सञ्चालन भइसकेको बताउनुभयो । ‘कृष्णपुरको रैकवारबिचुवामा विद्युत् सञ्चालन हुन अझै दुई/तीन दिन लाग्न सक्छ’, उहाँले भन्नुभयो, ‘नयाँ पोल ल्याएर तार तान्ने काम हुँदैछ ।’

क्षति विवरण सङ्कलनसँगै विद्युत् सञ्चालन गर्न रातदिन टोली जिल्लाभर परिचालन भएको उहाँले जानकारी दिनुभयो । ‘कञ्चनपुरमा कृष्णपुर नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ’, उहाँले भन्नुभयो, ‘क्षतिको यकिन विवरण आएपछि केन्द्रमा बजेट माग्ने योजनामा छौँ ।’

त्यसैगरी यहाँका स्थानीय तहहरु पनि पीडितको राहत र क्षतिको विवरण सङ्कलनमा सक्रिय देखिएका छन् । स्थानीयतह आपत्कालीन राहतकोष घोषणा गर्नेदेखि घाइतेको उपचार खर्चमा समेत गम्भीररुपमा लागिपरेका छन् । जिल्ला सुरक्षा समिति पनि हावाहुरीबाट पूर्णरुपमा क्षति व्यहोरोका स्थानीयवासीको भत्केका घर पुनःनिर्माण गर्ने र त्रिपाललगायतका राहत सामग्री वितरण गर्न छलफलमा जुटेको छ । 

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया